नाइ पेइ तावा – म्यानमार, चीन र बङ्गलादेशबीचमा शुक्रबार विद्युत् व्यापार सम्झौता भएको छ। म्यानमारको राजधानी नई पीइ टावामा भएको तीन देशका मन्त्रीहरूको त्रिपक्षी बैठकले सीमा वारपार विद्युत व्यापार विस्तार गर्ने सम्झौता गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।
साथै सम्झौतालाई कार्यान्वयन गर्नका लागि छु्ट्टै संयन्त्र बनाउने बारेमा पनि बैठकमा छलफल भएको उच्च अधिकारीहरूले बताएका छन्। तीन देशबीच भएको सम्झौताले यी देशमा विद्युत सुरक्षा, विद्युत श्रोतहरूको आदानप्रदान, विकासका पुर्वाधार, रोजगारीको सृजना लगायतका क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने विश्वास गरिएको छ।
बैठकमा म्यानमारका विद्युत तथा उर्जा मन्त्री यु विन खाङ, चीनका राष्ट्रिय उर्जा प्रशासनका उप–प्रशासक लि फान्रोङ र बङलादेशको प्रधानमन्त्रीका उर्जा, विद्युत र खनिज श्रोत मामिला सल्लाहकार डा तावफिक इ इलाही चौधरी सहभागी भएका थिए।
प्रकाशित: २५ फाल्गुन २०७४ १५:२० शुक्रबार





