२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युद्धग्रस्त गाजामा भयावह बन्दै स्वास्थ्य अवस्था, न बेड छ न औषधि

युद्धग्रस्त क्षेत्र गाजापट्टी र रफाह क्रसिङ्ग बोर्डरमा औषधि अभाव हुन थालेको छ। रफाह स्थित शहीद मोहम्मद यूसुफ अल–नजर अस्पतालमा बिरामीलाई चाहिने आवश्यक औषधि अभाव भएपछि समस्या उत्पन्न भएको हो।

बीबीसीका अनुसार अस्पतालका निर्देशक डा. मारवान अल–हमले अस्पतालमा जम्मा ६३ शय्या रहेपनि हाल १४५ जना बिरामीको उपचार भइरहेको बताए। उनले बिरामीको यो सङ्ख्या अस्पतालको क्षमताभन्दा दोब्बर रहेको भन्दै उपचारमा समस्या हुन थालेको बताए।

डा. अल–हमले विद्यालय, राहत शिवर र बाँकी रहेका घरहरूमा फैलिँदै गएको रोगका कारण औषधि अभावको समस्या निकै गम्भीर स्तरमा पुगेको भन्दै अस्पतालमा थप बिरामीलाई भर्ना गर्ने अवस्था नरहेको बताए।

उनका अनुसार गाजा पट्टीका अस्पतालहरूमा गम्भीर झाडापखाला, थकाइ र उच्च तापक्रमका कारण पीडित बिरामीहरू आउन थालेका छन्। दूषित पानी, असुरक्षित खाद्य पदार्थ र सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका कारण यी समस्या फैलिरहेको उनको भनाइ छ।

डा.अल–हमलेका अनुसार मानिसहरूमा छाला सम्बन्धी रोग पनि फैलिन थालेको छ। अस्पताल र स्वास्थ्य केन्द्र पुग्ने अधिकांशमा दादुरा देखिन थालेको छ। जसका कारण हालसम्म ४ हजार ५ सय ९३ जना प्रभावित भइसकेका छन्। त्यस्तै रुबेलाका कारण हालसम्म ५ जना सङ्क्रमित भइसकेका छन् भने मेनिन्जाइटिसका कारण ११५ जना प्रभावित भएका छन्।

डा. अल–हमले छाला चिलाउने र विविरा आउने जस्ता समस्याका कारण हालसम्म ३५ हजारभन्दा बढी प्रभावित भएको र उनीहरूलाई औषधि दिन नसकेको सुनाए।

त्यसबाहेक लुतोका कारण १९ हजारभन्दा बढी मानिस प्रभावित भएका छन् भने गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार रगतमासिका ३५० केस दर्ता भएको छ। साथै गाजाका मानिसमा जन्डिस पनि देखिन थालेको छ। हालसम्म ४ हजारभन्दा बढी जन्डिसका कारण मानिसहरू सङ्क्रमित भएका छन्। यो सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको मन्त्रालयले जनाएको छ।

विश्व स्वास्थ्य सङ्गठनले पनि गाजामा स्वास्थ्य अवस्थालाई लिएर चिन्ता व्यक्त गरेको छ। गाजामा रहेका अस्पतालहरू आक्रमणका कारण ध्वस्त भएका छन् भने बाँकी रहेका केही अस्पतालमा पनि आवश्यक औषधि र जनशक्ति अभावका कारण बिरामीको उपचारमा समस्या भइरहेको भन्दै सङ्गठनले चिन्ता व्यक्त गरेको छ।

गाजाको उत्तरमा एक र दक्षिणमा १० अस्पतालमा बिरामीको उपचार भइरहे पनि समस्या चिन्ताजनक रहेको सङ्गठनले बताएको छ। साथै दुई महिनादेखि जारी युद्धपछि प्रति ७ सय जनाका लागि औसतमा १ नुहाउने स्थान र १५० जनाका लागि १ मात्रै चर्पी उपलब्ध रहेको सङ्गठनले बताएको छ।

आवश्यक खाद्यान्न र खानेपानी अभावका साथै सरसफाइका लागि चाहिने आवश्यक ह्यान्डवास, डिर्जेन्ट, साबुन लगायतको पनि अभाव रहेको हुँदा सङ्क्रमण थप फैलिरहेको सङ्गठनको भनाइ छ।  

प्रकाशित: २९ मंसिर २०८० ०१:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App