४० हजार वर्षअघि नियान्डरथल प्रजातिले तीन टनभन्दा बढी भारीभरकम शरीरका सिंहहरू शिकार गर्ने गरेको अध्ययनले देखाएको छ। त्यो बेलाको सबैभन्दा खतरनाक जनावरलाई समेत नियान्डरथलहरूले शिकार गरेर तिनलाई खाने गरेको प्रमाण पाइएको छ।
जर्मनीको बभारिया क्षेत्रमा रहेको सिग्डर्फमा पुरातत्त्वविद्हरूले फेला पारेको सिंहको करङ, त्यहाँ लागेका चोट र काठको हतियारको प्रकृति अध्ययन गर्दा सो निष्कर्षमा पुगिएको हो।
आफ्नो ज्यान जोगाउन यस्ता ठूला जनावरहरू मारिन्थे कि भन्ने आशंकाका बीच यो अध्ययनले थप पुष्टि के गरेको छ भने, नियान्डरथलहरूले यत्रा ठूला जनावरको वध गरेपछि तिनको छाला निकालेर मासु खाने गर्थे।
अध्ययन निष्कर्षले नियान्डरथल र हामी होमो सेपियन्सबीच उति धेरै फरक थिएन कि भन्ने प्रमाण देखापरेको विज्ञहरूले बताएका छन्। नियान्डरथलहरू यो पृथ्वीबाट ४० हजार वर्ष पहिले लुप्त भएको अनुमान गरिन्छ।
यसअघि नियान्डरथलहरू उति धेरै बुद्धिमानी नरहेको अनुमान गरिएको थियो तर यी हतियार, ती हतियारको प्रयोगबाट ठूला जनावरको शिकारजस्ता गतिविधिले उनीहरूको बुद्धिमता हामीले सोचेभन्दा निकै धेरै रहेको प्रमाण देखिएको अध्येताहरूले जनाएका छन्।
अध्ययनले जुन सिंहको शिकार गरेको देखिएको छ, युरेसिया क्षेत्रका गुफामा बस्ने ती सिंह अफ्रिकी सिंहहरूभन्दा ठूलो आकारको रहेको प्रमाणित भएको छ। यस्ता ठूला सिंह ११ हजार वर्षअघि नै यो संसारबाट लुप्त भइसकेको देखिन्छ। टुबिन्जेन विश्वविद्यालयका प्राध्यापक गाब्रिएल रूसोले अगुवाई गरेको यस अध्ययनलाई साइन्टिफिक रिपोर्ट्समा प्रकाशित गरिएको छ।
यसअघि होमो सेपियन्सहरूले मात्र सिंहजस्ता खतरनाक जनावरहरूको शिकार गर्न सक्थे भन्ने अनुमान गरिएको थियो। जर्मनकी स्वाबियन पर्वतमालामा ४० हजार वर्षअघि यस्तो मानिसको मूर्ति बनाइएको थियो, जो हेर्दा दुई खुट्टामा उभिएको सिंहजस्तो देखिन्थ्यो। यसलाई पछि लायन म्यान नामकरण गरिएको थियो।
प्रकाशित: २८ आश्विन २०८० ००:३४ आइतबार