१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पक्राउ पुर्जी जारे गरेपछि पुटिन पहिलो पटक किर्गिजस्तान भ्रमणमा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन किर्गिजस्तान आइपुगेका छन्। गत मार्चमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी) ले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछिको उनको यो पहिलो विदेश भ्रमण हो।  

युक्रेनी बालबालिकालाई देश निकाला गरेको अभियोगमा अदालतले पुटिनको खोजी गरिरहेको छ। आइसीसीका सदस्य राष्ट्रहरूमा राष्ट्रपति पुटिनले पाइला राख्नुभएको अवस्थामा ती देश उनलाई गिराफ्तार गर्न बाध्य हुनेछन्। यद्यपि किर्गिजस्तानले आइसीसीको सदस्यता लिएको छैन।  

रुसी समाचार समितिहरू तास, इन्टरफ्याक्स र रिया नोभोस्तीले बिहीबार बिहान पुटिन किर्गिजस्तान आइपुगेको बताएका छन्।

स्वतन्त्र राष्ट्रहरूको राष्ट्रमण्डलको एक शिखर सम्मेलनमा भाग लिने सिलसिलामा राष्ट्रपति पुटिनले आफ्ना बेलारुसी सहयोगी अलेक्जेन्डर लुकासेन्को र अन्य क्षेत्रीय नेताहरूसँगै आफ्ना किर्गिज समकक्षी सादिर जापारोभसँग भेट गर्नुहुने कार्यक्रम छ।  

सन् २०२२ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेपछि उनले सायदै रुस छाडेका छन्। गत डिसेम्बरमा बेलारुस र किर्गिजस्तानको आफ्नो अन्तिम विदेश भ्रमणसँगै यसै वर्ष राष्ट्रपति पुटिनले रुसले युक्रेनको कब्जा गरेको भागमा भ्रमण गरेका थिए।  

अब उनले उत्तर कोरियाका साथै चीनको भ्रमण गर्ने योजना बनाइरहेका छन्। मस्कोले पुटिनलाई विदेशमा पक्राउ गर्ने सम्भावनालाई युद्धसँग तुलना गर्दै पक्राउ पुर्जीलाई ‘गैरकानूनी’ को संज्ञा दिएको छ।  

यद्यपि व्यवहारतः रुसले यसमा सावधानी अपनाएको छ। अगस्ट महिनामा आइसीसी सदस्य मुलुक दक्षिण अफ्रिकामा भएको ब्रिक्स शिखर सम्मेलनमा भाग लिन रुसले पुटिनको सट्टा विदेशमन्त्री सर्गेई लाभरोभलाई पठाएको थियो।  

युक्रेनमाथि पूर्णस्तरको आक्रमणपछि पुटिनलाई पश्चिमी दुनियाँमा अवान्छित व्यक्ति बनाइदिएको छ। आइसीसीको उक्त निर्णयले पुटिनलाई संसारको ढोकाको ठूलो हिस्सा बन्द गरिदिएको छ।  

रोम विधानलाई एक सय २३ मुलुकले अनुमोदन गरेका छन्। उक्त विधानलाई आइसीसीका सदस्यहरूले पालना गर्न आवश्यक छ।

ब्रिक्स सम्मेलनको आयोजक राष्ट्र दक्षिण अफ्रिकाले सम्मेलनमा भाग लिन पुटिनलाई निम्तो दिएपछि आइसीसीको सदस्यका हिसाबले उसलाई कानूनी टाउको दुखाइको विषय बनेको थियो। यद्यपि अन्तिम क्षणमा मस्कोले पुटिनको बदलामा विदेशमन्त्रीलाई पठाएको थियो। रासस

प्रकाशित: २५ आश्विन २०८० ०६:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App