३ असार २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘पेट्रो–ऊर्जा अन्त्य नजिक’

संसारभर पेट्रोलियम तेल, ग्यास तथा कोइलाको माग यही दशकबाट क्रमशः घट्दै जाने विश्वभर ऊर्जा अध्ययन गर्ने संस्था द इन्टरनेसनल इनर्जी एजेन्सी (आइए)ले जनाएको छ ।  

आइइएका अनुसार २०३० भन्दाअघि नै पेट्रोलियमको उच्च खपत हुने र त्यसपछि क्रमशः घट्दै जाने देखिएको हो । खासगरी जलवायु परिवर्तनमाथि लिइने कडा नीतिका कारण यसको खपत घट्दै जाने आँकलन आइइएले गरेको हो ।  

त्यसो त जलवायु नीति लागु गरिए पनि औद्योगिक युगभन्दा पहिलेको अवस्थामा पृथ्वीको तापक्रम पु¥याउने लक्ष्यमा भने खासै उपलब्धि हात नपर्नेसमेत सो संस्थाले जनाएको छ । यदि पृथ्वीको तापक्रम १.५ डिग्रीले नघटाइए जलवायु संकट तथा दुर्घटना निम्तिने वैज्ञानिकहरूले चेतावनी दिएका छन् तर तापक्रम घट्ने संकेत भने कतैबाट पनि नदेखिएको आइइएले जनाएको छ ।  

आइइएको ‘प्रभावशाली ऊर्जा दृष्टिकोण’ शीर्षकको रिपोर्ट आउँदो महिना जारी हुँदै छ । यसले संसारभरको तेल, ग्यास तथा कोइलाको अवस्थिति अध्ययन गरेर रिपोर्ट प्रकाशन गर्ने गर्छ । कच्चा तेल उत्पादन तथा उपभोगमा आउने न्यूनताले ऐतिहासिक मोड ल्याउनेसमेत संस्थाले जनाएको छ ।  

‘जैविक तेल उपभोग घट्दै जाने कुरा स्वागतयोग्य कुरा हो,’ आइइएका कार्यकारी निर्देशक फतिय बाइरोल भन्छन्, ‘त्यो घटेर संसारलाई फाइदै हुन्छ किनभने हामी स्वच्छ ऊर्जातर्फ लम्किने छौं । हामीले अहिलेसम्म पेट्रोलियम उपभोगले जुन ध्वंश संसारमा निम्त्याइरहेका थियौं, त्यसबाट उब्जने खतराको छेउमा पुगिसकेका छौं र स्वच्छ ऊर्जाको उपभोग बढाउनु नै यसलाई रोक्नु एक मात्र कदम हो ।’ स्वच्छ ऊर्जाप्रतिको संसारको चासो निकै सुखद रहेको उनको धारणा छ । खासगरी सौर्य–ऊर्जा र विद्युतीय सवारीको लोभलाग्दो प्रयोग स्वागतयोग्य रहेको उनी बताउँछन् ।

प्रकाशित: २९ भाद्र २०८० ०३:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App