भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका पूर्वप्रधानमन्त्री इमरान खानलाई पाकिस्तानको एक अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।
इस्लामाबाद उच्च अदालतले पाकिस्तान तहरीक–ए–इन्साफका अध्यक्षलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
प्रधानमन्त्री हुँदा नेता खानले राष्ट्रलाई प्राप्त उपहार बेचेकोलगायत मुद्दामा दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाएको थियो। उक्त निर्णयले उनलाई पाँच वर्षका लागि आम निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था गरेको थियो।
मुख्यन्यायाधीश आमिर फारुक र न्यायाधीश तारिक महमूद जहाँ–गिरीको इजलासले इस्लामावादको ट्रायल कोर्टको निर्णय उल्ट्याएको हो।
सत्तरी वर्षीय खानलाई अर्को मुद्दामा पुनः जेल पठाउने प्रपञ्च हुनसक्ने आशङ्का उनका वकिलहरूले गरेका छन्। विपक्षी दलका धेरैले नेता खानको पक्षमा फैसला नआउने विश्वास गरेका थिए।
प्रकाशित: १२ भाद्र २०८० १४:२६ मंगलबार

