फ्रान्स सरकारले सरकारी विद्यालयमा हिजाब लगाउन रोक लगाएको छ ।
फ्रान्सका शिक्षा मन्त्री गैब्रिएल अत्तालले अबदेखि सरकारी विद्यालयमा छात्राहरूले हिजाब लगाउन नपर्ने बताएका छन् ।
बीबीसीले लेखे अनुसार फ्रान्स सरकारको यो नियम आगामी सेप्टेम्बर ४ तारिखबाट शुरू हुने नयाँ शैक्षिक सत्रबाट विद्यालयहरूमा लागू हुनेछ ।
विशेषगरी मुस्लिम महिलाहरूले अनुहार देखिने गरी प्रयोग गर्ने पोषाकलाई हिजाब भनिन्छ । यो बुर्खाभन्दा फरक हुन्छ । बुर्खामा महिलाहरूको आँखा मात्रै देखिने र शरीर पुरै ढाकिएको हुन्छ ।
शिक्षा मन्त्री गैब्रिएलले फ्रान्सको स्थानीय टेलिभिजनमा अन्तरवार्ता दिँदै विद्यालयमा प्रवेश गर्नासाथ कसैको पनि धर्मसँग जोडेर हेर्नु र उसको मूल्याङ्कन नहोस् भनेर लामो समयदेखि जारी बहसलाई अन्तिम रुप दिँदै सरकारले यो निर्णय गरेको बताए ।
फ्रान्समा पछिल्लो समय हिजाब लगाउनेहरूको सङ्ख्या बढ्दै गएपछि राजनीतिक दलहरूले आफ्ना अलग अलग धारणा बनाउन थालेका छन् । केहीले हिजाब लगाउने विषयलाई बढावा दिनुपर्छ भनिरहेका छन् भने केहीले हिजाबका कारण मुस्लिम महिला तथा बालिकाको अधिकार हनन् भइरहेको बताउँदै आएका छन् ।
फ्रान्समा सन् २०१० देखि सार्वजनिक स्थानमा बुर्खा लगाउन प्रतिबन्ध गरिएको छ ।
प्रकाशित: ११ भाद्र २०८० ०७:५० सोमबार