१ कार्तिक २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाक संसद् भंग निर्वाचन अनिश्चित

पाकिस्तानमा संसद् विघटन गरिएको छ। संसद् भंग भएको ९० दिनभित्र चुनाव गर्नुपर्ने व्यवस्था भए पनि चुनाव सन् २०२४ सम्म धकेलिने देखिएको छ। विशेषगरी जनगणनाको पछिल्लो तथ्यांकका आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने भएकाले निर्वाचन आयोगले यसको छिनोफानो हुन केही महिना लाग्ने जनाएको छ।

गत साता पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई अदालतले दोषी ठहर गरेपछि पक्राउ गरी जेल चलान गरिएको थियो। उनलाई पाँच वर्ष राजनीति गर्न नपाउने प्रतिबन्धसमेत लगाइएको छ।

पूर्वक्रिकेटर खानले पाकिस्तानको शक्तिशाली सैन्य संस्थालाई चुनौती दिँदै ऊ निर्वाचनबाट तर्सेको दाबी गरेका थिए। राष्ट्रपति आरिफ अल्भीले बुधबार संसद् विघटन गरेका हुन्। उनले कामचलाउ प्रधानमन्त्री शहबाज शरिफको सरकारलाई तीन दिनभित्र अन्तरिम प्रधानमन्त्री चयन गर्न समय दिएका छन्।

प्रधानमन्त्री शरिफले हालै राष्ट्रिय एकता नभएसम्म देशले प्रगति गर्न नसक्ने बताउँदै पत्रकारसँग यो वर्षभित्र निर्वाचन हुन नसक्ने बताएका थिए। सत्तारूढ दल पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) नेतृत्वको गठबन्धनले आसन्न चुनावको नतिजा आफ्नो पक्षमा नआउने देखेपछि पर सार्न लागिएको कतिपयको आशंका छ।

वरिष्ठ राजनीतिक विश्लेषक रसुल बख्स रइसका अनुसार जेल परेपछि पूर्वप्रधानमन्त्री खानको लोकप्रियता थप बढ्न सक्ने देखिएको छ। गत मेमा भ्रष्टाचारको आरोपमा खानलाई पक्राउ गरिएपछि समर्थनमा देशभर प्रदर्शन भएको थियो। प्रदर्शनका क्रममा आठटजनाको मृत्यु भएको थियो, एक हजार चार सयजना पक्राउ परेका थिए। जेल परेपछि खानले पाँच वर्ष सार्वजनिक पद धारण गर्न नपाउने निर्णय पाकिस्तानको निर्वाचन आयोगले गरेको छ।(बिबिसी)

प्रकाशित: २६ श्रावण २०८० ०५:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App