काबुल– अमेरिकाले बिहीबार अफ्गानिस्तानमा खसालेको शक्तिशाली ‘मदर अफ अल’ बमबाट मृत्यु हुने इस्लामिक स्टेट (आईएस) विद्रोहीको संख्या कम्तिमा ९४ पुगेको अधिकारीहरुले बताएका छन्।
नाङ्गारहार प्रान्तको पहाडी भूभागमा आइएसले प्रयोग गर्ने गुफाहरुको संजाललाई निशाना बनाइ अमेरिकाले हालसम्मकै सबैभन्दा शक्तिशाली गैरपरमाणु बम प्रहार गरेको थियो। तर सो आक्रमणबाट आफ्नो तर्फ कुनै हताहती नभएको आइएस विद्रोहीले दावी गर्दै आएको छ।
अमेरिकी बम हमलाबाट नजिकका गाउँ प्रभावित भए वा नभएकोबारे अहिलेसम्म केही खुलाइएको छैन।
अमेरिकी र अफगान सेनाले बम विस्फोट भएको क्षेत्रमा जान पत्रकार र सर्वसाधारणलाई रोकिरहेको बिबिसीले जनाएको छ। नाङ्गारहार प्रान्त अन्तर्गतको आचिन सहरका गभर्नर इस्माइल शिन्वारीले मृतकको संख्याबारे पुष्टि गरेका छन्।
अमेरिकी र अफगान सेनाले बम विस्फोट भएको क्षेत्रमा जान पत्रकार र सर्वसाधारणलाई रोकिरहेको बिबिसीले जनाएको छ। नाङ्गारहार प्रान्त अन्तर्गतको आचिन सहरका गभर्नर इस्माइल शिन्वारीले मृतकको संख्याबारे पुष्टि गरेका छन्।
विस्फोटबाट सर्वसाधारणको मृत्यु नभएको शिन्वारीको भनाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। अफ्गानिस्तानका प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले आफ्नो सरकारको समन्वयमा आक्रमण गरिएको र ‘आमनागरिकतर्फ हताहती हुन नदिनका निम्ति ठूलो सावधानी अपनाइएको’ बताएका छन्।
अब्दुल्लाहले सावधानी बताएपनि विस्फोट गराइएको ठाउँ नजिकैका एकजना बासिन्दाले केही घरहरु ध्वस्त भएको बताएका छन्। उनका अनुसार विस्फोटका कारण आकाश रातिमा पूरै उज्यालो देखिएको थियो। ‘बमहरुकी माता’ अर्थात एमओबी भनिने सो बमलाई अमेरिकाले सामान ओसारपसार गर्ने एमसी–१३० विमानबाट बिहीबार खसालेको थियो।
उक्त बमको परीक्षण सन् २००३ मा गरिएपनि हालसम्म त्यसको प्रयोग भने गरिएको थिएन। अफगान सरकारको समर्थनमा उक्त बम प्रहार गरिएपनि पूर्व राष्ट्रपति हामिद कारजाइले ‘अमानवीय एंव नयाँ र खतरनाक अस्त्रको क्रुर परीक्षणका लागि हाम्रो भूमिलाई प्रयोग गरिएको’ भन्दै निन्दा गरेका थिए ।
गभर्नर शिन्वारीले अफ्गानिस्तानको विशेष सुरक्षा फौजले अमेरिकी हवाई सेनाको सहयोगमा सो क्षेत्रमा दुई साता पहिल्यैदेखि आइएस विद्रोहीविरुद्ध कारबाही थालिसकेको पुष्टि गरेका थिए । समाचारमा जनाइए अनुसार पछिल्ला दिनहरुमा अमेरिका समर्थित सरकारी सेना र विद्रोहीबीच संघर्ष चर्किएको छ । विद्रोहीसँगको भिडन्तमा गत शनिबार एक अमेरिकी सेना मारिएपछि अमेरिकाले उक्त बम हमला गरेको आशंका गरिएको छ।
प्रकाशित: ३ वैशाख २०७४ ०५:०८ आइतबार