१९ असार २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कर्मचारीको सुरक्षामा खटेका १ सय नेपाली गार्डलाई बेलायतले देश निकाला गरेको खुलासा

तस्बिर: न्युजपीक्स् इन्टरनेशनल

अफगानिस्तानस्थित बेलायती दूतावासका कर्मचारीहरूको सुरक्षामा खटेका १ सय भन्दा बढी सुरक्षा गार्डलाई बेलायत सरकारले गोप्य तरिकाले नेपाल फर्काएको खुलासा भएको छ। 

ती गार्डको इच्छा विपरीत बेलायत सरकारले नेपाल फर्काएको बेलायती सञ्चार माध्यम दि गार्डियनले उल्लेख गरेको छ। गार्डियनका अनुसार ती नेपालीलाई गोप्य रूपमा नेपाल फर्काइएको हो। 

सन् २०२१ अगस्तमा तालिबान सत्तामा आएपछि अफगानिस्तानको राजधानी काबुलबाट हजारौँ सङ्ख्यामा सर्वसाधारणहलाई उद्धार गरिएको थियो। उद्धार कार्यको नेतृत्व बेलायतसहित अन्य पश्चिमा देशहरुले गरेका थिए। 

बेलायतको रोयल एयर फोर्स (आरएएफ)ले आफ्नो दूतावासमा काम गरिरहेका भारतीय, नेपालीसहित करिब २५ हजार ५ सयको उद्धार गरेको थियो। यसरी उद्धार गरिएका व्यक्तिहरूमा काबुलस्थित दूतावासमा कार्यरत नेपाली गार्डहरू थिए। तीनै गार्डलाई बेलायतले गोप्य रूपमा डिपोर्ट गरेको समाचार गार्डियनमा प्रकाशित भएको हो। 

बेलायती पत्रिका गार्डियनका अनुसार उद्धार गरिएका ती गार्डहरूको ‘अन अराइभल भिसा’को म्याद ६ महिना हुँदाहुँदै उनीहरूलाई उद्धार गरे लगत्तै बेलायतबाट देश निकाला गरिएको हो। उनीहरूलाई जबरजस्ती आफ्नो देशमा पठाइएको गार्डियनले जनाएको छ। 

गार्डियनका अनुसार बेलायतको नर्थ ह्याम्प्टन, रेडिङ, अक्सफोर्ड र स्वपन्डनका होटलमा क्वारेन्टाइनमा बसिरहेका ती गार्डलाई क्वारेन्टाइनको पुरा अवधि १० दिन समेत नपुग्दै डिपोर्ट गरिएको हो। 

डिपोर्टका समयमा विश्वभर नै कोभिडको महामारी थियो। र, बेलायतले पनि बाहिरबाट आउने यात्रुहरूलाई १० दिन होटलमा बस्नुपर्ने बाध्यात्मक नियम लागू गरेको थियो। बेलायतले त्यतिबेला नेपाललाई कोभिड प्रभावित मुलुकको ‘रातो’ सुचीमा राखेको थियो। आफ्ना नागरिकलाई नेपालमा यात्रा नगर्न आग्रह गरिरहेको थियो। 

नेपाल डिपोर्ट गरिएकामध्ये कतिपयले आफुलाई शरणार्थी दाबी गरेका छन्। उनीहरूले सन् २०२१ देखि नै बेलायत फर्किने बाटो खोजिरहेका छन्। 

गार्डियनका अनुसार गृह मन्त्रालयका प्रवक्ताले अफगान सिटिजन्स रिसेटलमेन्ट स्किम (एसीआरएस)मा योग्य नभएका नेपालीलाई सद्भाव स्वरूप उद्धार गरिएको जनाएका छन्। ती नेपालीलाई आफ्नो देश फर्किन सहयोग गरेको उनको दाबी छ। गार्डियनसँग ती प्रवत्ताले भनेका छन्, ‘जोखिममा रहेका मानिसको उद्धार गर्न सरकार प्रतिवद्ध रहेको र त्यही मान्यता अनुसार करिब २५ हजारलाई काबुलबाट बेलायत ल्याइएको हो।’

बेलायतको गृह मन्त्रालय गत मार्चमा वेस्ट लन्डन होटलमा छापा मारेर कम्तीमा दस नेपाली गार्डलाई पक्राउ गरेको थियो। त्यसको व्यापक विरोध भएपछि मन्त्रालयले तत्कालका लागि देशबाट हटाउने निर्णय स्थगित गरेको थियो।

प्रकाशित: १३ वैशाख २०८० ०८:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App