१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमृतपाल खोज्न भारतीय प्रहरी नेपालमा, उनका सहयोगी पापलप्रीत पञ्जाबमै पक्राउ

सोमबार पक्राउ परेका पापलप्रीत (दाँया) आफ्ना नेता अमृतपाल सिंह (बायाँ) का साथमा । तस्वीरः दी इन्डियन एक्सप्रेस

भारतमा छुट्टै राज्य माग गर्दै ‘खालिस्तान’को अभियान चलाइरहेका अमृतपाल सिंह खोज्न भारतीय प्रहरी नेपाल आइरहेका बेला उता भारतको पञ्जाबमा अमृतपालका सहयोगी पापलप्रीत सिंह पक्राउ परेका छन्। 

दी इन्डियन एक्सप्रेसका अनुसार उनी पन्जाबको होशियारपुरबाट पक्राउ परेका हुन। सहयोगी सिंहलाई पञ्जाब प्रहरी र पञ्जाब काउन्टर इन्टेलिजेन्सको संयुक्त टोलीले पक्राउ गरेको हो । सिंहलाई अहिले अमृतसर ग्रामीण प्रहरीको हिरासतमा राखिएको जनाइएको छ।

पापलप्रीत गत फागुन १३ गते अजनाला प्रहरी चौकीमा दर्ता भएको अजनाला हिंसाको मुद्दामा पनि वान्टेड थिए। 

यता भने भारतीय सरकारले अमृतपाल सिंह पसेको हुन सक्ने भन्दै नेपाल सरकारलाई सर्तक रहन आग्रह गरेको थियो। यतिखेर भने अमृतपालको खोजीमा भारतीय सुरक्षा अधिकारीहरू नेपालमै रहेको सुरक्षा स्रोतले जनाएको छ। उनीहरू चैत २० गतेअघि नै नेपाल–भारत सीमा क्षेत्र पर्साको वीरगन्ज र बाँकेको जमुनाह नाका हुँदै नेपाल आएको उच्च सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन्।

‘उनीहरू स्थलमार्ग हुँदै नेपाल आएका हुन्, उनीहरूले नेपालका सुरक्षा अधिकारीहरूसँग अनौपचारिक सम्पर्क गरे पनि भेटघाट भने गरेका छैनन्,’ उच्च सुरक्षा अधिकारीले भने। 

अमृतपाल नेपालमै रहेको भन्दै उनको खोजीका लागि नागेश चौधरीको नेतृत्वमा भारतीय इन्टेलिजेन्स ब्युरोबाट ६ सदस्यीय टोली नेपाल आएको सुरक्षा स्रोतले जनाएको छ। भारतीय दूतावासले परराष्ट्र मन्त्रालयमार्फत नेपालका सुरक्षा अधिकारी र अध्यागमन विभागलाई अमृतपाल नेपालमा लुकेको आशंका गर्दै निगरानी गर्न आग्रह गरेको थियो। त्यसयता नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले अमृतपालको निगरानीसमेत गर्दै आएको छ। अध्यागमन विभागले पनि निगरानी गरिरहेको जनाइएको छ।

भारतमा छुट्टै राज्य माग गर्दै ‘खालिस्तान’को अभियान चलाइरहेका अमृतपालको निगरानी सुरक्षा निकायले गरिरहेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी पोषराज पोखरेलले बताए।

प्रकाशित: २७ चैत्र २०७९ ०९:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App