पाकिस्तानको पञ्जाब प्रान्तस्थित पाकपट्टननजिकै यात्रुवाहक बस र ट्रक ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अन्य ३३ जना घाइते भएका छन्। उद्धार सेवा ११२२ का अनुसार दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको हो।
घाइतेमध्ये आठ जनालाई सामान्य चोट लागेको छ भने २५ जनालाई उपचारका लागि अस्पताल लगिएको छ। मुल्तानबाट कसुरतर्फ जाँदै गरेको बस देपालपुर सडकखण्डमा विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएको जिल्ला प्रशासनले जनाएको छ।
उद्धारकर्मीहरूले क्रेन तथा भारी उपकरण प्रयोग गरी तीन घण्टासम्म उद्धार कार्य गरेका थिए । यसैबीच, पञ्जाबमा अक्टोबर महिनामा मात्रै ४४ हजार ७९७ सडक दुर्घटना हुँदा ४६४ जनाको मृत्यु र २३ हजार ५४३ जना गम्भीर घाइते भएको उद्धार विभागले जनाएको छ।
तीमध्ये करिब तीन चौथाइ दुर्घटनामा मोटरसाइकल संलग्न थिए । उक्त महिनामा उद्धार सेवा ११२२ ले दुई लाख ३१ हजार ५६ आपत्कालीन घटनामा सेवा दिएको थियो। यस अवधिमा एक हजार ७२६ आगलागी र ९४ डुब्ने घटना पनि अभिलेख गरिएको थियो । प्रान्तीय राजधानी लाहोरमा सबैभन्दा बढी सात हजार ८७४ सडक दुर्घटना भएका थिए।
प्रकाशित: २० कार्तिक २०८३ १३:५० शुक्रबार





