१२ असार २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

टर्की-सिरिया भूकम्पः झन्डै एक सातापछि सात महिने शिशुको जिवितै उद्धार

टर्की र सिरियाका दशौँ लाख भूकम्पपीडित सहयोगको प्रतीक्षा गरिरहेका छन् भने प्रतिकूल मौसमको पर्वाह नगरी दशौँ हजार उद्धारकर्मी खोज तथा उद्धारमा जुटेका छन्।

निराशा र महाविनाशका बीच उद्धारकर्मीहरूले आज बिहान सात महिनाको एक शिशु र अर्की एक किशोरीलाई भग्नावशेषबाट जीवितै उद्धार गरेका छन्। शनिबार पनि एक ७० वर्षीयालाई जीवितै उद्धार गरिएको थियो। भूकम्पको करिब एक सातापछि पीडितहरूलाई जीवित उद्धार गर्न सफल भएकामा उनीहरूले त्यसलाई चमत्कार भन्दै हर्ष प्रकट गरेका छन्।

दक्षिणी टर्कीएमा केही परिवार हराइरहेका आफ्ना परिवारको खोजीमा उद्धारकर्मीसँगै जुटेका छन्। शोकाकुल अर्को परिवार चिहानमा परिणत खेतमा बिलौना गरिरहेको छ। उक्त खेतमा हजारौँ शव व्यवस्थापन गरिएको छ।

सुरक्षाको कारण देखाउँदै केही सहायता निकायले राहत सामग्री वितरण रोकेपछि दर्जनौँलाई लुटपाट मच्चाएको अभियोगमा पक्राउ गरिएको सरकारी समाचार समितिले जनाएको छ।जर्मनी र अष्ट्रेलियाले शनिबार केही स्थानमा राहत सामग्री वितरण स्थगन गरेका थिए। केही ठाउँमा झडप पनि भएको थियो।  

भूकम्पबाट दुई करोड छब्बीस लाख प्रभावित

कहरामनमारसलाई केन्द्रविन्दु बनाएर भएको सात दशमलव आठ म्याग्निच्युडको पहिलो भूकम्प र त्यसको केही क्षणपछि त्यति नै शक्तिशाली अर्को कम्पबाट तहसनहस भएको टर्कीए र सिरियाका दुई करोड छब्बीस लाख मानिस प्रभावित भएका छन्।

संयुक्त राष्ट्रसङ्घले टर्कीए र सिरियाका आठ लाख ७० हजार भूकम्पपीडितलाई तत्काल तातो खाना आवश्यक परेको बताएको छ। उक्त विश्व संस्थाले सिरियामा ५३ लाख मानिस घरवारविहीन भएका अनुमान गरेको छ। भूकम्पले दर्जनौँ अस्पताल ध्वस्त भएका छन्। 

टर्कीएको विपद् व्यवस्थापन निकायले देशका विभिन्न सामाजिक संस्थाका  ३२ हजारभन्दा बढी स्वयम्सेवकका साथै आठ हजार दुई सय ९४ जना अन्तर्राष्ट्रिय उद्धारकर्मी खोज तथा उद्धारमा जुटेका जनाएको छ।  

टर्कीएको गाजिन्टेपका चमेनागृहमा हजारौँ स्वयम्सेवक भूकम्पपीडितलाई खुवाउन हरसंभव सहयोग गरिरहेका छन्। आफ्नो गाडीलाई नै शयन कक्षमा परिणत गरेर केही स्वयम्सेवक सेवामा तल्लीन छन्।

संयुक्त राष्ट्रसङ्घले कुर्दिश लडाकु र सिरियाली विद्रोही सक्रिय रहेका क्षेत्रमा मानवीय सहायता परिचालनमा अवरोध नगर्न आह्वान गरेको छ। साथै उक्त संस्थाले मानवीय सहयोग परिचलानमा सघाउन आग्रह पनि गरेको छ। राहत सामग्री ढुवानीका लागि पैतीस वर्षपछि आर्मेनिया र टर्कीएबीचको बाटो पनि खोलिएको छ। शनिबारदेखि उक्त बाटो सञ्चालनमा आएको हो।

एलेप्पोमा चिकित्सा सहयोग

सहयोग वर्षौँको आन्तरिक द्वन्द्वका कारण कमजोर रहेको सिरियाको स्वास्थ्य सेवा प्रणाली नाजुक छ। त्यहाँ स्वास्थ्यलगायत राहत सामग्री परिचालनमा पनि विलम्ब भएको छ। विश्व स्वास्थ्य सङ्गठनका प्रमुख आपत्कालीन स्वास्थ्य सामग्री र उपकरण लिएर भूकम्प प्रभावित एलेप्पो पुगेका छन्। उनले भूकम्पबाट मातापिता तथा अभिभावक गुमाएका बालबालिकालाई भेटेका छन्।

सिरिया सरकारले पनि भूकम्प प्रभावित विद्रोही नियन्त्रित क्षेत्रमा मानवीय सहायता सामग्री ढुवानीको अनुमति दिएको छ। राजधानी दमास्कसमा विभिन्न देशबाट राहत सामग्री लिएर ५७ वटा विमान अवतरण गरेका त्यहाँका यातायातमन्त्रीले बताएका छन्।

टर्कीएले पनि सिरियासँगका दुई वटा नयाँ सीमा नाका खोल्ने बताएको छ। यसअघि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले सुरक्षा परिषद्लाई टर्कीए र सिरियाबीचका सीमा नाका खोल्ने अनुमतिका निम्ति आग्रह गर्नुभएको थियो।

जनमानसमा आक्रोश

भूकम्पमा घर, परिवारसँगै सर्वस्व गुमाएका पीडित गुणस्तरहीन भवन निर्माता तथा सरकारीस्तरका उद्धार तथा राहतमा विलम्ब भएकामा जनसाधारण आक्रोशित भएका छन्। अधिकारीहरूका अनुसार १२ हजार एक सय ४१ भवन भत्केका वा गम्भीर रूपमा क्षतिग्रस्त भएका छन्।  

टर्कीए सरकारले गुणस्तरहीन भवन बनाएको अभियोगमा कयौँ निर्माण व्यवसायीलाई पक्राउ गरेको छ। अदाना शहरका अभियोजकले भत्केका भवनका सम्बन्धमा अनुसन्धान गर्न ६२ जनालाई हिरासतमा राख्न आदेश दिएका छन्।

सिरियाका भूकम्प प्रभावित क्षेत्रमा खाना, पानी, बस्नेस्थान, उपकरण केही नभएकाले सेवा प्रवाह हुन नसकेको चिकित्सकहरूले बताएका छन्। सिरियाका स्वास्थ्यमन्त्री हसन अल गब्बासले संयुक्त राष्ट्र सङ्घ, रेडक्रसको अन्तर्राष्ट्रिय समिति र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूलाई सहयोगका निम्ति आह्वान गरेका छन्।  

रेडक्रसको अन्तर्राष्ट्रिय समितिले सिरियन रेड क्रिसेन्टलाई आपतकालीन मानवीय सहायतास्वरुप दुई लाख अमेरिकी डलर नगद उपलब्ध गराएको छ। साथै समितले भूकम्प प्रभावित क्षेत्रमा थप सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।

सिरियाका लागि युरोपेली सङ्घका राजदूतले भूकम्पपीडितलाई सङ्घले पर्याप्त सहयोग नगरेको आरोपको खण्डन गरेका छन्। भूकम्प प्रभावित दुवै देशका लागि पर्याप्त सहयोग उपलव्ध गराउन सङ्घ असफल भएको आरोप लगाउनु उचित नभएको उनले बताएका छन्। एक दशकभन्दा लामो समयदेखि सङ्घले सिरियालाई निरन्तर सहयोग गर्दै आएको तथा भूकम्पले सृजना गरेको सङ्कटको यो घडीमा अझ बढी सहायता सिरियाका निम्ति परिचालन गरिएको दाबी उनले गरेका छन्।

विश्व ब्याङ्कले एक अर्ब ७८ करोड अमेरिकी डलर राहत सहायता उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले अन्तर्राष्ट्रिय समुदायलाई टर्कीएका भूकम्पपीडितका लागि थप आर्थिक सहायता उपलव्ध गराउन आह्वान गरेका छन्। साथै उनले आगामी साता टर्कीए र सिरियाका निम्ति आर्थिक सहायता जुटाउन दातृ निकायको सम्मेलन आयोजना गर्ने घोषणा गरेका छन्।  

उद्धारकर्मीहरूले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार सिरिया र टर्कीएमा २९ हजार एक सय १७ जनाको मृत्यु भएको छ। टर्कीएमा २४ हजार छ सय १७ जना तथा सिरियामा चार हजार पाँच सय जनाले ज्यान गुमाएका छन्। संयुक्त राष्ट्रसङ्घले महाभूकम्पबाट ५० हजारले ज्यान गुमाएका अनुमान गरेको छ। गत सोमबारदेखि आजसम्म टर्कीएमा दुई हजार तीन सय ५६ परकम्प महसुस गरिएको छ। 

प्रकाशित: २९ माघ २०७९ ०९:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App