२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

टर्कीमा भूकम्पबाट मृत्यु हुनेको संख्या ५ हजार नाघ्यो,अझै आठ गुणा बढ्न सक्ने अनुमान

टर्कीमा सोमबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या निरन्तर बढिरहेको छ। सोमबार टर्कीको गाजियान्टेप प्रान्तमा ७.८ म्याग्निट्यूडको भूकम्प गएको थियो।

मंगलबार अपरान्हसम्म टर्की र छिमेकी सिरियामा गएको भूकम्पमा परी कम्तीमा पाँच हजार मानिसले ज्यान गुमाएका छन्। मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

भूकम्पबाट ज्यान गुमाउनेहरूको सङ्ख्या हालको दाँजोमा आठ गुणासम्म बढ्न सक्ने विश्व स्वास्थ्य संघ, डब्लूएचओले चेतावनी दिएको छ।

युरोपका लागि डब्लूएचओकी वरिष्ठ आपत्कालीन अधिकारी क्याथरिन स्मलवुडले मृतक र घाइते भएकाहरूको सङ्ख्या प्रारम्भिक विवरणमा केही सातापछि उल्लेख्य रूपमा वृद्धि हुने बताएकी छिन्।

धेरै पीडितहरू युद्धग्रस्त उत्तरी सिरियामा छन् जहाँ लाखौँ शरणार्थीहरू टर्कीसँगको सीमा क्षेत्रमा दुवै देशका भूभागमा रहेका शिविरहरूमा आश्रित छन्। विद्रोही समूहको नियन्त्रणमा रहेको क्षेत्रमा दर्जनौँ मानिसको मृत्यु भएको बताइएको छ।

दुवै देशका हजारौँ भवनहरू ध्वस्त भएका छन्। थुप्रै भिडिओहरूमा ती भवन भत्किँदै गरेको क्षण देखिन्छ। सडकहरू भत्किएका छन् र वरपर भग्नावशेषका थुप्राहरू देखिन्छन्। ध्वस्त भएका भवनहरू मध्ये 'गाजीयान्टेप कासल' ऐतिहासिक महत्त्वको थियो जुन दुई हजार वर्षभन्दा पुरानो हो।

टर्कीको ऊर्जा पूर्वाधारमा क्षति पुगेको छ र दक्षिणी टर्कीमा ठूलो आगलागी भएको भिडिओहरू सार्वजनिक भएका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ग्यास पाइपलाइनमा क्षति पुगेका कारण आगो लागेको दाबी गरेका छन्।

टर्कीका ऊर्जा मन्त्री फातिह डोएनमेजले पूर्वाधारमा गम्भीर क्षति पुगेको पुष्टि गरे तर विस्फोटबारे कुनै जानकारी दिएनन्। टर्की विश्वको सबैभन्दा सक्रिय भूकम्पीय क्षेत्रहरूमध्येको एकमा पर्दछ।

सन् १९९९ मा देशको उत्तर-पश्चिममा शक्तिशाली भूकम्प गएपछि १७,००० भन्दा बढी मानिसले ज्यान गुमाएका थिए।

प्रकाशित: २४ माघ २०७९ १०:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App