वासिङटन—डेमोक्रयाटिकतर्फबाट राष्ट्रपतिको उम्मेद्वार हिलारी क्लिन्टनलाई निमोनिया भएपछि उनले चुनावी अभियान रद्द गरेको उनकी चिकित्सकले बताएकी छन्।
हिलारीकी निजी चिकित्सक डा. लिजा बार्डकले हिलारी गत शुक्रबार सम्पन्न ९÷११ सम्मेलनमा अस्वस्थ भएपछि उनलाई अस्पताल लगिएको र उनलाई निमोनिया भएको पाइएको बताएकी छन्।
उनले एक विज्ञप्ति निकाल्दै भनेकी छन्, ‘हिलारीलाई निमोनिया भएको छ र उनी अहिले उनको स्वास्थ्य अवस्था सुधार हुँदैछ।’ उनले अस्वस्थताका कारण नै सोमबार क्यालिफोर्नियामा हुने भनिएको चुनावी अभियान रद्द गरिएको जनाएकी छन् ।
केही समय पहिले उनका प्रतिद्वन्द्वीका रुपमा रहेका रिपब्लिकनका उम्मेद्वार डोनाल्ड ट्रम्पले हिलारी मानसिक र शारीरिक रुपमा असक्षम भएको भन्दै उनले राष्ट्रपति भएपछि राम्रो काम गर्न नसक्ने बताएका थिए। चुनावी अभियानलाई नै असर पर्ने गरी हिलारी अस्वस्थ भएपछि ट्रम्पको भनाइलाई बल पुगेको विश्लेषकले बताएका छन् ।
प्रकाशित: २७ भाद्र २०७३ ०७:१५ सोमबार