नेपालका लागि चीनका नवनियुक्त राजदूत चेन सङ आइतबार आफ्नो जिम्मेवारी समाल्न काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संवाददाताहरूसँग कुरा गर्दै राजदूत चेनले सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापित भएपछि दुबै देशले सधैं एकअर्काको सम्मान, विश्वास र सहयोग गर्दै आएको बताए।
नेपालमा भर्खरै संघीय र प्रदेश निर्वाच सम्पन्न भई नयाँ सरकार गठन भइसकेको उल्लेख गर्दै राजदूत सङले भने, ‘अहिले विश्वमा भइरहेका परिवर्तन यसअघि कहिल्यै नभएका किसिमका छन्। नयाँ परिस्थिति, नयाँ अवसर र चुनौतीको स्थितिमा चीनले सधैंझैं नेपाललाई राष्ट्रिय अखण्डता र राष्ट्रिय सम्मानको रक्षाका लागि, राष्ट्रिय आवश्यकता अनुसारको विकास ठम्याउन र स्वतन्त्र घरेलु तथा विदेश नीति अपनाउन सहयोग गर्छ।’
राजदूत सङले नेपालका लागि २२औं चिनियाँ राजदूतका रूपमा सेवामा आउन पाउनुलाई अवसर र ठुलो सम्मानका रूपमा लिएको बताएका छन्। ‘म नेपालको अनुपम सौन्दर्य, अद्वितीय संस्कृति र यहाँका जनताको दयालुपन र हार्दिकताबाट छक्क परेको छु,’ उनले आइतबार दिउँसो ट्विट गर्दै भनेका छन्, ‘म मेरो दूतावासका सहकर्मीहरूसहित सबै क्षेत्रका नेपाली साथीहरूसँग काम गर्न र चीन-नेपाल सहयोगको पूर्ण सम्भाव्यता हासिल हुने गरी काम गर्छु र द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनेछु।’
उनले नेपालीमै एक पंक्ति ट्विट गर्दै भनेका छन्, ‘हिमालय वारपार चीन-नेपाल मित्रता अमर रहोस्।’
प्रकाशित: २५ पुस २०७९ ०१:४४ सोमबार