थाइल्याण्डको मुक्दहानमा बिहीबार ११ वर्षीय बालकले चलाएको पिकअप ट्रकको ठक्करबाट ज्यान गुमाउने बौद्ध भिक्षुको संख्या १० पुगेको छ। घटनामा अन्य पाँच जना गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार बालकले आफ्ना आमाबाबुको पिकअप ट्रक अनुमति बिना चलाएका थिए। बिरामी भएकाले त्यो दिन स्कुल नगएका उनी घरमा एक्लै थिए। करिब १० किलोमिटर गाडी चलाइसकेपछि नियन्त्रण गुमाएका उनले सडकको छेउमा लाइन लागेर हिँडिरहेका भिक्षुहरूको जुलुसमा ट्रक कुदाएका थिए।
स्थानीय समय अनुसार बिहान ११ बजेतिर भएको यो दुर्घटनाको सिसिटिभी फुटेजमा पिकअप ट्रक तीव्र गतिमा भीडमा प्रवेश गरेको देखिन्छ। गभर्नर भोरायन बन्नारतका अनुसार सो समयमा कुल ३५ भिक्षु र पाँच जना भक्तहरू मन्दिरतर्फ पैदल यात्रा गरिरहेका थिए। दुर्घटनामा पाँच भिक्षुको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका क्रममा थप पाँच जनाको मृत्यु भएको हो। घाइतेहरूको उपचार भइरहेको अस्पतालले रक्तदानका लागि अपिल गरेको छ।
परिवारले घरमा पिकअप नभेटेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले गाडी जफत गरी फोरेन्सिक जाँचका लागि पठाएको जानकारी दिएको छ। प्रान्तीय प्रहरी प्रमुख मेजर जनरल पारोज थैफुत्साले बालक नाबालिग भएकाले र घटनापछि स्तब्ध अवस्थामा रहेकाले अहिलेसम्म कुनै मुद्दा दर्ता नगरिएको र सोधपुछ नगरिएको बताए। उनले भने, ‘केटा नाबालिग छ, ऊ अहिले बयान दिन असमर्थ छ।’
थाइल्याण्डमा सार्वजनिक धार्मिक तीर्थयात्रा सामान्य मानिन्छ। विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार थाइल्याण्ड सडक दुर्घटनाको उच्च जोखिममा रहेको देश हो, जहाँ बर्सेनि करिब १८ हजार मानिसले ज्यान गुमाउने गर्छन्। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको बताएको छ। एजेन्सी
प्रकाशित: १९ असार २०८३ १९:१७ शुक्रबार





