२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

खानपान, रहनसहन र जीवनशैलीको व्यवस्थापन गरी मुटु जोगाउन आग्रह

खानपान, रहनसहन र जीवनशैलीको व्यवस्थापनमा ध्यान दिएर मुटु जोगाउन सन्देश छर्दै शनिबार ताप्लेजुङमा विश्व मुटु दिवस मनाइएको छ।

नेपाल हृदय रोग निवारण संस्था ताप्लेजुङ शाखाले फुङलिङमा आयोजना गरेको कार्यक्रममा कोशी प्रदेशसभा सदस्य तथा कोशी सरकारका पूर्वमन्त्री तिलकुमार मेन्याङ्वोले मुटुबिना सजीव प्राणीको अस्तित्व स्थापित नहुने भएकाले यसको जोगावटमा मानिसले विशेष ध्यानदिनुपर्ने बताए।

उनले मुटु जोगाउने अभियानका लागि जागरण र पैरवीको जरुरी रहेको र हृदय रोग निवारण संस्थासहितका निकायले मुटु जोगाउन मानिसलाई अपिल गर्ने र संवेदनशील बनाउने काम गरिरहेको समेत बताए।

कार्यक्रममा बोल्दै ताप्लेजुङ जिल्ला अस्पतालका मेडिकल अधिकृत डाक्टर युनिल कार्कीले जीवनशैलीमा अपनाउने सहजताले मुटु जोगाउन मद्यत पुग्ने बताए। उनका अनुसार सन्तुलित आहार, नियमित व्यायाम, धुमपान र मद्यपान सेवनको अन्त्य, रक्तचाप, मधुमेह र कोलेस्ट्रोल नियन्त्रण, तनावमा कमी, पर्याप्त निद्रा, तौलमा सन्तुलन र नियमित स्वास्थ्य जाँचका कारण मुटुलाई स्वस्थ्य राख्न सकिन्छ।

तडकभडकयुक्त जीवनशैली र असन्तुलित खानपिन नियन्त्रण गरेमा मुटुलाई जोगाउन खास मेहनेत गर्नु नपर्ने डाक्टर कार्कीको भनाइ छ। उनले शरीरमा चिटचिट पसिना आउने गरी नियमित हिँड्ने हो भने पनि मुटुमा देखिएको समस्या न्यूनीकरण हुने बताए।

कार्यक्रममा पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्य, पूर्वअध्यक्ष खगेन्द्र अधिकारीसहितले आफ्नो धारणा राखेका थिए। नेपाल हृदय रोग निवारण संस्था ताप्लेजुङका सभापति इन्द्रबहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो।

प्रकाशित: ११ आश्विन २०८२ १९:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App