२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
स्वास्थ्य

सापुः आँखाको ज्योति नै गुम्ने खतरा, टाढै रहन चिकित्सकको सुझाव

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ६ लेलेपका बसन्त लिम्बूको आँखा अचानक रातो हुने र चिप्रा लाग्ने हुन थाल्यो । आँखामा सामान्य दुखाई सुरु हुने तथा क्रमशःआँखा हेर्न समस्या हुन थालेपछि उनले धामीझाँक्री समेत लगाए । तरपनि आँखा ठीक भएन त्यसपछि उनी आँखा देखाउन डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र आए ।  

दशैं बिदामा पनि डिचेन डोङ्गलाका बरिष्ठ नेत्र अधिकृत काजीमान गुरुङले लिम्बूलाई आकस्मिक सेवा दिँदै आँखाको परीक्षण गरे । परीक्षणका क्रममा सेतो पुतलीको झुसबाट लाग्ने सापु रोगको संक्रमण पुष्टी भयो । आँखामा देखिएको उक्त समस्या समाधानका लागि आँखाको थप उपचार आवश्यक रहेको देखेपछि बरिष्ठ नेत्र अधिकृत गुरुङले लिम्बूलाई मेची आँखा अस्पताल रेफर गरे ।  

‘उपचारमा ढिलो गरी आउँदा यसले ठूलो समस्या निम्त्याउँछ,’ लिम्बूको आँखामा आफुले अझै जोखिम देखेको बताउँदै गुरुङ भन्छन् । गुरुङका अनुसार सेतो पुतलीको झुसका कारण आँखाको समस्या लिएर उपचारमा आउने लिम्बू एक्ला होईनन् । औसतमा दैनिक ६०–७० जनासम्म आँखाको परीक्षणका लागि आउने डिचेन डोङ्गलामा अहिले औसतमा ४ देखि ५ जना सेतो पुतलीको संक्रमणबाट समस्या भएको लिएर आउने सेवाग्राही रहने गरेको गुरुङले जानकारी दिए ।

सेतो पुतलीको सङ्क्रमणबाट आँखामा लाग्ने रोग सापु हो । सापुको पूरारुप सिजनल हाइपरएक्युट प्यानुभाइटिस हो । यो आँखामा हुने एक प्रकारको संक्रमण हो,जसले दृष्टि गुम्ने जोखिम हुन्छ । सबै सेतो पुतली हानिकारक नभएको र कालो धर्सा तथा पुच्छरमा पहेँलो भएका सेतो पुतलीको काउसो वा झुस हानिकारक हुने डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका फिल्ड आईवर्कर काजीमान थेबे बताउँछन् । उनका अनुसार सापुबाट आँखाको भित्री भागलाई असर गर्नुको साथै आँखाको सबै पत्र द्रुतगतिमा सुनिन्छ र भित्रि भागमा पिप जम्दै जान्छ । सापुको लक्षण देखिएको ४८ देखि ७२ घण्टा भित्रमा आँखाको उपचार नभए रोगीको आँखाको दृष्टि गुम्ने सम्भावना अधिक रहने बरिष्ठ नेत्र अधिकृतले जानकारी दिए ।  

धेरै उज्यालो सेतो बत्ति सेतो पुतलीले मन पराउने भएकोले यस्तो ठाउँमा जोखिम बढी हुने गुरुङले बताए । नेपालका मध्य पहाडी तथा हिमाली जिल्लाका अलवा तराईका केहि जिल्लाहरुमा समेत सेतो पुतलीको संक्रमणबाट हुने सापु रोग देखिने गरेको उनको भनाइ छ । उनले सेतो पुतलीको ससंर्गबाट टाढै रहन, धेरै उज्लालो सेतो बत्ति नबाल्न,साँझ र राति झ्याल ढोका बन्द गर्न,सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्न,सुत्ने कोठामा बत्ति निभाएर वा मधुरो बत्ति बालेर वा सुतेको ठाउँमा सेतो पुतली नछिर्ने झुलको प्रयोग गर्न र उसको संसर्गबाट टाढै रहन समेत सल्लाह दिएका छन् ।  

पुतली समात्ने र आँखा तथा निधारमा दल्ने कामले सापुको संक्रमण जोखिमपूर्ण बनाउने भएकोले गुरुङले यो काम गर्न नहुने बताए ।  

प्रकाशित: १९ आश्विन २०८२ १८:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App