चालु आर्थिक वर्षमा गत वर्षको भन्दा धेरै व्यक्तिमा स्क्रबटाइफस फैलिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकमा उल्लेख छ।
असोजको पहिलो सातासम्ममा ११ हजार ६ सय ४३ जना संक्रमित भएका छन् भने सातजनाको स्क्रबटाइफसबाट मृत्यु भएको पुष्टि भएको छ।
तथ्यांकअनुसार पछिल्लो तीन वर्षमा क्रमशः संक्रमित संख्या बढ्दै गएको छ। सन् २०२४ मा संक्रमितको संख्या ९ हजार ७ सय ११ थियो भने सन् २०२५ मा १० हजार ६ सय ४९ र सन् २०२६ को अक्टोबरसम्म ११ हजार ६ सय ४३ जना संक्रमित भएका छन्।
ग्रामीण भेगमा खेतबारी, झाडी तथा जङ्गलमा काम गर्ने मानिसमा स्क्रबटाइफस संक्रमण हुने मान्यता भए पनि नेपालमा गाउँदेखि सहरसम्म स्क्रबटाइफस संक्रमण भएको महाशाखाका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिए।
गत वर्ष काठमाडौं उपत्यकामा पनि उल्लेखनीय संख्यामा स्क्रबटाइफस फैलिएको थियो भने यो वर्ष चितवन, दाङलगायतका सहरी जिल्लामा पनि स्क्रबटाइफस उल्लेखनीय संख्यामा फैलिएको छ। महाशाखाका अनुसार हालसम्म ७४ वटा जिल्लामा स्क्रबटाइफसको संक्रमण देखिए पनि १० वटा जिल्लामा प्रकोपको रूप लिएको छ।
प्रकोपका रूपमा देखा परेका जिल्लामा दाङ, सल्यान, बझाङ, संखुवासभा, पाल्पा, धादिङ, स्याङ्जा, बर्दिया, दार्चुला, गोर्खा जिल्ला रहेका छन्। तथ्यांकमा उल्लिखित जिल्लाका सहरी भेगमा समेत संक्रमण बढी देखिएकाले गाउँमा काम गर्ने किसानमा मात्र स्क्रबटाइफस हुन्छ भन्ने मान्यता बदलिएको डा. दाहाल बताउँछन्। उनी भन्छन्, ‘यो वर्ष सहरमा पनि उल्लेखनीय संख्यामा देखिएको छ।’
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान शाखाका संयोजक डा. शेरबहादुर पुनको अनुभवमा गत वर्ष काठमाडौं उपत्यकामा यो वर्षभन्दा बढी संख्यामा स्क्रबटाइफस संक्रमण भएको थियो। उनका अनुसार गत वर्ष उपत्यकामा दैनिक २०/२२ जना संक्रमित उपचारमा पुग्ने गर्थे। यो वर्ष टेकु अस्पतालमा स्क्रबटाइफसका बिरामी फाट्टफुट्ट भर्ना भइरहेका छन्।
के हो स्क्रबटाइफस?
चिकित्सकका अनुसार जंगली वा घरमा पाइने मुसामा हुने ‘टिगर माइटस’ नामक किर्ना परजीवीले मानिसलाई टोकेमा संक्रमण हुन्छ। झाडीमा मुसा हुने र यस्ता ठाउँमा बसेमा किर्ना शरीरमा प्रवेश गर्छ। मुसाका साथै अन्य जनावरमा पनि किर्ना हुन्छ।
उक्त किर्ना बढी तापक्रम बढेको र पानी परेर ओसिलो बनेको मौसममा बढी वृद्धि हुन्छ। वृद्धि भएका किर्ना मुसा या अन्य जनावरको शरीरमा रहेको बखत यही मौसममा भुईंमा खस्छ। भुईंमा खसेको किर्ना मानिसलाई टोकेमा शरीरभित्र ‘ओरन्सिया सुसोगामा’ नामक किटाणु प्रवेश गराउँछ।
उक्त किटाणु रगत हुँदै शरीरका विभिन्न भागमा पुगेर संक्रमण गर्छ। उक्त किर्नाले टोकेको एक सातादेखि बीस दिनभित्र संक्रमणको लक्षण देखिन्छ।
ज्वरो आउने, टाउको दुख्ने, पसिना आउने, आँखा रातो हुनु र किर्नाले टोकेको छालामा डाबर देखिनु र पछिपछि कालो दाग जस्ता लक्षण देखिन्छ। संक्रमितको समयमै उपचार नभएमा निमोनियाँ हुने र कलेजो, मिर्गौला, मुटु, स्नायु जस्ता बहुअंगमा असर पुर्याई बिरामीको मृत्युसमेत हुन्छ।
नेपालमा धेरैजसो बारी या जङ्गलमा काम गर्ने मानिसहरुमा स्क्रवटाइफस हुने गरेको पाइन्छ तर गत वर्ष काठमाडौ उपत्यका सहित अन्य सहरी भेगमा समेत स्क्रवटाइफस संक्रमित पाइएपछि स्क्रवटाइफस बनजङ्गल र झाडीमा जानेमा सीमित नभएको चिकित्सकहरु बताउँछन । सहरमा पार्कको भुइँमा बस्ने, घरवरपरको फूलवारीमा काम गर्नेमा पनि स्क्रवटाइफस देखिएको डा. दाहाल बताउँछन।
काठमाडौको घरभित्र बस्ने मानिसमा समेत संक्रमण देखिएकोले मुसा पुग्ने ठाउँ गाउँ, सहर, घरबाहिर र घरभित्र सवै ठाउँमा संक्रमण फैलिएको शुक्रराज ट्रपिकल अस्पतालका अनुसन्धान संयोजक डा. पुनको तर्क छ।
‘काठमाडौमा घरैभित्र बस्ने व्यक्तिमा पनि संक्रमण भएको देखियो, उनीहरु बनजङ्गल गएका थिएनन उनले भने। यसको अर्थ जङ्गली र गैरजङ्गली दुवै मुसा जहाँ पुग्छन, त्यहाँ स्क्रवटाइफपस फैलिएको डा. पुनको आंकलन छ।
यसको साथै पछिल्लो हरेक वर्षहरुमा संक्रमित संख्या बढेको देखिएको हुनाले मनसुनमा तथा जलवायुमा आएको परिवर्तनको असरले पनि कीर्नाको जीवनचक्रमा परिवर्तन भएको हुन सक्ने डा. दाहाल बताउँछन्। ‘तापक्रम र मनसुनको चक्र लम्बिंदा कीर्नाको उत्पादन चक्र बढेको हुनाले पनि संक्रमण बढेको हुन सक्छ’उनले भने।
पछिल्लो समय यो रोग पहिचानको लागि आवश्यक कीटहरु हरेक स्वास्थ्य केन्द्रहरुमा पहुँच भएकोले पहिचान बढी भएको हुन सक्ने दाहालको अनुमान छ।
पछिल्लो महिना संक्रमणको दर घट्दै गएपनि जोखिम कायम रहेको इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखा कीटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहाल बताउँछन्। ‘अहिले संक्रमण घट्दै गएको छ तर पुन मनसुन हुने घोषणा भएकोले जोखिम कायमै छ’ उनले भने।
लक्षण देखिनेबित्तिकै उपचारले पूरै निको हुन्छ
स्क्रवटाइफसको लक्षण देखिने बित्तिकै नजिकको अस्पतालमा गएमा यो रोगको लागि एन्टिवायोटिक दिएपछि निको हुने डा. पुन बताउँछन। स्क्रवाटाइफसको लागि ‘डक्सिसाइक्लििन’ नामक एन्टिवायोटिक प्रयोग हुने गरेको छ। यो एन्टिवायोकि स्थानीयदेखि केन्द्रीय अस्पतालमा समेत उपलब्ध छ उपचारमा प्रयोग भइरहेको छ तर विरामी लक्षण देखिने बित्तिकै उपचारमा गएमा स्क्रवटाइफसले हुने जटिल समस्या या मृत्युवाट बच्न सकिने चिकित्सक सुझाउँछन्।
डा. पुन भन्छन्, ‘लक्षण देखिने बित्तिकै उपचारमा पुगेमा थोरै खर्चले ठूलो उपचार हुन्छ’उनले भने। संक्रमण फैलिएको जिल्लामा हुनुहुन्छ र लक्षण मिल्दा–जुल्दा छन भने समयमै उपचारमा पुगेमा जटिल समस्या नआउने डा.पुन बताउँछन।
बच्ने उपायहरू
स्क्रवटाइफस भैसकेपछि उपचारमा पुग्नुभन्दा यसको संक्रमणबाट बच्नु उचित हुने चिकित्सक बताउँछन्। झाडीमा सकेसम्म नजाने, घरमा मुसा आउन नदिन सफा राख्ने, घाँस काट्न या खेतीको लागि बारी, जङ्गल जाँदा पुरा बाहुला भएको लुगा या पन्जा लगाउने,बुटको प्रयोग गर्ने र कामवाट फर्केको लुगा फेर्ने र नुहाउने गरेमा पनि संक्रमणबाट बच्न सकिने सुझाएका छन।
प्रकाशित: ११ कार्तिक २०८३ ०९:३८ बुधबार





