उपचारका लागि महँगा अस्पताल धाउँदा पनि राहत नपाएपछि धेरै बिरामी अहिले जुम्लाको तातोपानीतर्फ आकर्षित हुन थालेका छन्। सिंजा गाउँपालिका–६ की ६२ वर्षीया प्याउरी रावत ढाड, टाउको र जोर्नी दुखाइबाट पीडित थिइन्। तर, तातोपानी धारामा नियमित स्नान गर्न थालेपछि आफूलाई सन्चो भएको उनले बताइन्।
यस्तै अनुभव सुनाउनेहरू जुम्लाको तातोपानी गाउँपालिका–२ जर्मीस्थित तातोपानी धारामा दिनहुँ भेटिन्छन्। कर्णालीकै प्रमुख पर्यटकीय गन्तव्य मानिन थालेको यो स्थान पछिल्लो समय ‘प्राकृतिक उपचार केन्द्र’का रूपमा चिनिन थालेको छ। यहाँ आन्तरिक मात्र होइन, विदेशी पर्यटकसमेत बाक्लिँदै गएका छन्।
बाथरोग, ढाड दुख्ने, घुँडा दुख्ने, चर्मरोग, ग्यास्ट्रिकदेखि प्यारालाइसिससम्मका बिरामी तातोपानीमा स्नान गर्न आउने गरेका छन्। स्थानीयका अनुसार मूलबाट निस्कने तातोपानीमा नुहाएपछि चिसोबाट हुने रोग तथा शरीरका विभिन्न पीडा कम हुने विश्वास छ।
कालिकोटकी ६६ वर्षीया राजकला सार्की विगत ८ वर्षदेखि नियमित यहाँ आउँदै आएको बताउँछिन्। “ढाड र घुँडाको पीडा धेरै घट्यो,” उनले भनिन्। मुगुकी ६३ वर्षीया लालकली रावल पनि पाँच वर्षदेखि यहाँ स्नान गर्न आइरहेकी छन्।
तातोपानी धारामा महिला र पुरुषका लागि छुट्टाछुट्टै व्यवस्था गरिएको छ। सञ्चालन तथा व्यवस्थापनका लागि गाउँपालिकाले कार्यविधि बनाउँदै शुल्कसमेत निर्धारण गरेको छ। स्थानीय वडावासीलाई १० रुपैयाँदेखि विदेशी पर्यटकका लागि १०० रुपैयाँसम्म शुल्क लाग्छ। यसबाट मासिक एक लाख रुपैयाँभन्दा बढी राजस्व संकलन हुने गरेको छ।
प्रतिदिन ५० देखि २०० जनासम्म यहाँ स्नान गर्न आउने गर्छन्। तातोपानी पर्यटक व्यवस्थापन समिति गठन गरी सरसफाइ, सुरक्षा र व्यवस्थापनमा ध्यान दिइएको छ। गाउँपालिका–२ का वडाध्यक्ष चन्द्रमान बुढाका अनुसार कुण्ड संरक्षण र आगन्तुक व्यवस्थापन प्राथमिकतामा राखिएको छ।
कर्णाली राजमार्ग हुँदै रारा ताल जाने पर्यटकहरू पनि तातोपानीमा अनिवार्यजसो रोकिने गरेका छन्। समुद्र सतहबाट करिब २,६०० मिटर उचाइमा रहेको यो धारा सदरमुकाम खलंगाबाट करिब ८ कोस पश्चिममा पर्छ।
स्थानीय अगुवा टेकबहादुर बुढाका अनुसार “तातोपानी नुहाएपछि शरीर हलुका हुने, भोक बढ्ने अनुभव धेरैले सुनाउँछन्।” केहीले यसलाई ‘प्राकृतिक औषधि’कै रूपमा लिने गरेका छन्।
यद्यपि, चिकित्सकहरूले यस्ता प्राकृतिक स्रोतले केही राहत दिन सक्ने भए पनि सबै रोग निको पार्ने वैज्ञानिक प्रमाण पर्याप्त नभएको बताउँदै सावधानी अपनाउन सुझाव दिने गरेका छन्।
प्रकाशित: २३ वैशाख २०८३ ०८:३९ बुधबार





