१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

नेपाल चिकित्सक संघको अध्यक्षमा रावलको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. मंगल रावलले नेपाल चिकित्सक संघ (एनएमए) को अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।  

भिडियो सन्देश जारी गर्दै माघमा हुने निर्वाचनका लागि रावलले उम्मेदवारी घोषणा गरेका हुन् । देशभरिका चिकित्सकहरूको छाता संगठनको नेतृत्व गर्न आफू तत्पर रहेको डा. रावलले बताएका छन् ।  

रावलले पेशागत अनुभव, शैक्षिक पृष्ठभूमि र विगतका नेतृत्व भूमिकाबाट सीप–दक्षता साबित गरिसकेको दाबी गर्दै संघलाई संरचनागत, नीतिगत र दीर्घकालीन सुधारतर्फ उन्मुख गराउने उद्देश्यसहित आफू मैदानमा उत्रिएको बताए।  

चिकित्सक समुदायले हाल सामना गरिरहेका चुनौती पेशागत सुरक्षा, सेवा सुविधामा असमानता, स्वास्थ्य नीतिमा चिकित्सकको प्रभावकारी सहभागिता, मेडिकल क्षेत्रमा बढ्दो राजनीतिक प्रभाव र ग्रामीण भेगमा विशेषज्ञ सेवाको पहुँच जस्ता मुद्दामा संघले थप दृढता र पेशेवर दृष्टिकोणबाट काम गर्नुपर्ने आवश्यकता महसुस गर्दै नेतृत्व लिन आफू अग्रसर भएको उनले बताए ।  

एनएमए सदस्यता नलिएका चिकित्सकहरूलाई मंसिर १३ भित्र अनिवार्य रूपमा दर्ता गराउन आग्रह गर्दै उनले समयमै सदस्यता अद्यावधिक नगरेमा मतदान अधिकार नै गुम्न सक्ने चेतावनी समेत दिएका छन्।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबिबिएस, चिकित्सक विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट एमएस अर्थोपेडिक्स, बंगलादेशमा एओए फेलोशिप, त्रिभुवन विश्वविद्यालयबाट एमपीए, हार्वर्ड मेडिकल स्कुलको LIMSEA कार्यक्रम र एलएलबी अध्ययनरत डा. रावल कर्णाली क्षेत्रमै बसेर सेवा, अनुसन्धान र व्यवस्थापन तीनै क्षेत्रमा सक्रिय छन्।

प्रकाशित: १२ मंसिर २०८२ २१:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App