आँखा स्वास्थ्य क्षेत्रका विश्व बिख्यात चिकित्सक डाक्टर सन्दुक रुईतको उपस्थितिमा आउँदो यही कात्तिक मसान्तदेखि तीन दिन ताप्लेजुङका वृहत्त आँखा स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।
नेपाल नेत्रज्योति संघ ताप्लेजुङ शाखाको आयोजना,फुङलिङ नगरपालिका र सानिमा मध्य तमोर जलविद्युत आयोजनाको सहआयोजना तथा तथा तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन हुने तयारी थालिएको छ। नेपाल नेत्रज्योति संघद्धारा फुङलिङमा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र ताप्लेजुङका वरिष्ठ नेत्र अधिकृत काजीमान गुरुङका अनुसार शिविर कात्तिक ३०, मंसिर १ र २ गते फुङलिङमा शिविर आयोजनाको तयारी गरिएको छ।
यसका लागि नेत्रज्योति संघले तिलगंगा आँखा अस्पताललाई अनुरोधपत्र पठाईसकेको नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सभापति राजकुमार गुरुङले जानकारी दिए। नेपाल नेत्रज्योति संघ ताप्लेजुङका उपसभापति तथा केन्द्रीय सूचना तथा सञ्चार उपसमिति सदस्य खगेन्द्र अधिकारीका अनुसार २०८० साल फागुन दोस्रोसाता समेत रुइतको उपस्थितिमा फुङलिङमा आँखा स्वास्थ्य शिविर आयोजना भएको थियो। सो बेला फुङलिङ नगरपालिका र नेपाल नेत्रज्योति संघ ताप्लेजुङले रुइतलाई नागरिक अभिनन्दन गरेका थिए। रुइत ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ७ ओलाङचुङगोलामा जन्मिएका हुन्।
प्रकाशित: ६ कार्तिक २०८२ १३:२८ बिहीबार





