२२ चैत्र २०८२ आइतबार
image/svg+xml
स्वास्थ्य

आँखा शिविरबाट ११ सय बढी लाभान्वित

खोटाङ सदरमुकाम दिक्तेलमा आयोजित आँखा शिविरमा ११ सय बढी सर्वसाधारण लाभान्वित भएका छन् । नेपाल नेत्रज्योति संघ खोटाङको आयोजनामा दिक्तेल बजारमा सम्पन्न ३ दिने निःशूल्क शल्यक्रियासहितको आँखा उपचार शिविरमा १ हजार १ सय ३९  जनाले सेवा लिएका हुन् । 

दिक्तेल बजारस्थित आँखा उपचार केन्द्र भवनमा आयोजित ‘निःशूल्क आँखा उपचार शिविर’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको समन्वयमा चैत–१९ देखि २१ गतेसम्म ३ दिन सञ्चालन गरिएको हो । सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा सञ्चालित निःशूल्क शिविरमा १ सय ४९ जनाको आँखाको शल्यक्रिया, गरिएको छ भने ४ सय ८५ जना ज्येष्ठ नागरिकलाई निःशुल्क चस्मा वितरण गरिएको छ ।

त्यसैगरि ७ सय ७० जना सर्वसाधारणलाई औषधि वितरण गर्नुका साथै १ सय १५ जना आँखा अप्रेसन गरिएका बिरामीलाई कालो चश्मा वितरण गरिएको छ । मोतियाविन्दु भएका आँखाका विरामीलाई निःशूल्क शल्यक्रियासहितको उपचार सेवाको व्यवस्था रहेको शिविरमा सगरमाथा चौधरी आँखा अस्पताल लहानबाट विशेषज्ञसहित १३ जना चिकित्सक टोली परिचालन गरिएको नेत्रज्योति संघ खोटाङले जनाएको छ ।

संघका खोटाङ सभापति इन्द्र कसजुका अनुसार प्रदेश सरकारले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई उपलब्ध गराएको ४ लाख बजेटबाट शल्यक्रियासहितको शिविर आयोजना गरिएको हो । आँखाका विरामी नगरबासीलाई लक्षित गरि निःशूल्क शल्यक्रियासहितको शिविर उपलब्धिमूलक भएको कसजुले बताए । संभव भएसम्म शिविरमै शल्यक्रिया गरिएको र बाँकी रहेका बिरामीलाई सगरमाथा चौधरी आँखा अस्पताल लहानमै लगेर निःशूल्क अप्रेसन गर्ने व्यवस्था मिलाइने पनि सभापति कसजुले बताए । 

नगरप्रमुख तीर्थराज भट्टराईले गाउँघर बस्ने नगरबासीलाई पनि शहरकै सुविधासम्पन्न अस्पतालले दिने स्वास्थ्य सेवा निःशूल्क उपलब्ध गराउने उदेश्यले शिविर आयोजना गरेको बताए । नगरपालिका स्थानीय सरकार भएकाले नागरिकको सुख दुःखमा अभिभावको भूमिका निर्वाह गर्दै आएको र आगामी दिनमा पनि त्यो कार्यलाई निरन्तरता दिदै जाने भट्टराईले बताए ।

शुक्रबार जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले औपचारिक उद्घाटन गरेको शिविरको समापन आईतबार साँझ प्रदेश सरकारका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू तथा निवर्तमान सामाजिक विकासमन्त्री पाँचकर्ण राईले गरे । समापन कार्यक्रममा मन्त्रीद्वयले शिविरमा योगदान गर्ने स्वास्थ्यकर्मी तथा साझेदार सँस्थाका प्रतिनिधिहरुलाई प्रशंसापत्रसहित मायाको चिनो प्रदान गरेका थिए ।

शिविरमा दिक्तेल रुपाकोट मझुवागढी नगरसँगै छिमेकी स्थनीयतहहरु रावाबेँसी, साकेला, दिप्रुङ चुईचुम्मा र केपिलासगढी गाउँपालिकाबासीहरुसमेत लाभान्वित भएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

प्रकाशित: २२ चैत्र २०८२ १९:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App