कर्णालीको विकट बस्तीमा हाडजोर्नी विशेषज्ञ सेवा सर्वसाधारणले पाएका छन्। कर्णाली प्रदेश प्रहरी अस्पतालको आयोजनामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जुम्लाको कनकासुन्दरी गाउँपालिका–८ स्थित पाण्डव गुफा स्वास्थ्य चौकीमा हाडजोर्नी तथा नसारोग सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।
अस्पताल प्रमुख श्यामकृष्ण लौडारी सहित सात जना स्वास्थ्यकर्मीको टोलीले सञ्चालन गरेको शिविरबाट २ सय ९ जना सर्वसाधारण लाभान्वित भएको जनाईएको छ। शिविरमा ११ जनालाई हाडजोर्नी सम्बन्धी माइनर प्रोसिजर सेवा समेत प्रदान गरिएको थियो।
विकट क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा पुगेपछि स्थानीयवासी खुसी भए। पछिल्लो समय कर्णाली प्रदेश प्रहरी अस्पतालले डोल्पा, सल्यान हुँदै हिमाली जिल्ला जुम्लासम्म प्रहरी कर्मचारी र सर्वसाधारणलाई स्वास्थ्य शिविरमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ।
प्रहरी अस्पतालले पनि सर्वसाधारणहरूलाई स्वास्थ्य सेवा दिँदै आएको कुरा यस्ता शिविरहरूबाट सबैमाझ पुग्ने अस्पताल प्रमुख डाक्टर लौडारीले बताए।
प्रकाशित: १४ जेष्ठ २०८३ १३:०३ बिहीबार





