पर्साको वीरगन्ज महानगरपालिकामा रहेको नारायणी उपक्षेत्रीय अस्पतालमा अहिले बिरामीको संख्या दुई सय ५० ले बढेको छ।
निजी अस्पतालहरूमा लागु रहेको स्वास्थ्य बिमा कार्यक्रमको समयमा नारायणी उपक्षेत्रीय अस्पतालमा दैनिक तीन सयदेखि साढे तीन सयको हाराहारीमा बिरामी आउने गरेको अस्पताल प्रशासनले जनाएको छ।
अहिले बालेन सरकारले निजी अस्पतालबाट स्वास्थ्य बिमा कार्यक्रम हटाएपछि नायारणी अस्पतालमा दैनिक पाँच सयदेखि ६ सयको हाराहारीमा बिरामी पुग्ने गरेका छन्। दैनिक अस्पतालमा दुई सयदेखि अढाई सयको संख्यामा बढेको स्वास्थ्य बिमाअन्तर्गत बिमित बिरामी रहेको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जका स्वास्थ्य बिमा इन्चार्ज सोएब अन्सारीले बताए। एकैपटक अस्पतालमा दुई सय ५० जना दैनिन बिरामी बढेर आउन थालेपछि अस्पताल प्रशासनले उनीहरूको उपचारका लागि जनशक्तिसमेत बढाउनुपरेको अन्सारीले बताए।
स्वास्थ्य बिमित बिरामीलाई सरकारी अस्पतालहरूमा उपचार गराउँदा १० प्रतिशत मात्रै सम्पूर्ण खर्चको दिनुपर्ने व्यवस्थाले निजीबाट स्वास्थ्य बिमा कार्यक्रम हटाइएपछि उनीहरू सरकारी अस्पतालतर्फ अकर्षित बनेको अन्सारीले बताए। नारायणी अस्पतालमा रहेको ल्याब, एक्सरे, एमआरआई, सिटी स्क्यान, भिडियो एक्सरेलगायतका सेवासुविधा लिँदा सेवाग्राहीलाई खर्चको १० प्रतिशत मात्रै भुक्तानी गर्नुपर्ने उनले बताए। त्यसमा पनि ज्येष्ठ, विपन्न, पूर्ण अपांग, स्वयंसेविकालगायतका बिमित नागरिकको निःशुल्क औषधोपचारको व्यवस्था सरकारले गरेको उनले बताए।
साधारणतः बिरामीले उपचारका लागि टिकट काट्दा प्रत्येकसँग ५० रुपैयाँ शुल्क उठाउने गरिए पनि बिमित रोगीलाई टिकटमा त्यसको १० प्रतिशतको दरले पाँच रुपैयाँ मात्रै लिने गरिएको अस्पताल प्रशासनले जनाएको छ। बिमित बिरामीको चाप नारायणी अस्पतालमा बढेपछि उपचार गराउने कार्यमा समेत घन्टौं कुर्नुपर्ने बाध्यता रहेको बिरामीले गुनासो गरेका छन्।
शुक्रबार बिहानै ११ बजे थाइराइडको उपचार गराउन अस्पताल पुगेकी पर्सा विश्रामपुरनिवासी फुलादेवीले अन्तिम समयमा औषधी किन्न नपाएको गुनासो गरेकी छन्। अस्पतालमा बिहान आउँदा पनि डाक्टरसँग जाँच गराउने क्रममा पालो कुर्दाकुर्दा धेरै समय लाग्ने गरेको उनले बताइन्। पालोमै समय लागेकाले डाक्टरबाट औषधी लेखाएर फार्मेसी पुग्दा बन्द रहेको उनले बताइन्।
बिमित रोगीका लागि सञ्चालन गरिएको नारायणी अस्पतालपरिसरको औषधी पसल दिउँसो पाँच बजेसम्म मात्रै खुल्ने गरेकाले कतिपय बिरामी औषधी नै लिन नसकेर घर फर्कन बाध्य हुँदै आएका छन्। औषधी पसलमा डाक्टरहरूले बिरामीका लागि लेखिने प्रायः औषधी नपाइने गरेको गुखोसो गरेका छन्। निःशुल्क पाउनुपर्ने औषधी अस्पतालको फार्मेसीमा पाउन छाडेपछि बिरामीले महँगोमै निजी औषधी पसलबाट किनेर खाने गरेका छन्।
नारायणी अस्पतालमा बिमित रोगीको संख्या बढे पनि फार्मेसीमा आवश्यकताअनुसार औषधी नपाउनु, एक्सरे, एमआरआई, सिटी स्क्यान, भिडियो एक्सरे सधैं सञ्चालनमा नरहनुले बिरामीलाई सस्तो हुँदै आएको छ। वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा पर्सा, बारा, रौतहट, मकवानपुरलगायत जिल्लाका बिरामी बढी संख्यामा उपचारका लागि आउने गरेका छन्।
प्रकाशित: २० असार २०८३ ११:५२ शनिबार





