कंगो र युगाण्डाका विभिन्न भागमा इबोला फैलिएपछि नेपाल सरकारका स्वास्थ्य नियन्त्रण इकाईहरूलाई निगरानी गर्न सुझाइएको छ।
एक सातादेखि यता कङ्गो र युगान्डामा फैलिएको इबोला संक्रमणको कारण ९० जना भन्दा बढीको मृत्यु भइसकेको छ भने ३ सय ३६ भन्दा बढीमा संक्रमणको आशंका गरिएको छ। दुवै देशमा गरी १५ जनामा इबोला पुष्टि भएको छ।
यी दुई देशमा भएको घटना लगत्तै विश्व स्वास्थ्य सङ्गठनले जन स्वास्थ्य आपत्काल अन्तर्राष्ट्रिय चासो घोषणा गरेसँगै नेपालले पनि जोखिम न्यूनीकरण तयारी सुरु गरेको हो। यसको लागि सोमबार जोखिम समितिको बैठक बसेको इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. अनुज भट्टचनले बताए। ‘आज जोखिम तयारी समितिसँग बसेर सम्बन्धित निकायलाई सजक बस्न निर्देशन दिइसकेका छौ,’ उनले भने।
स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयका सह–प्रवक्ता डा. समिर कुमार अधिकारीले अन्तर्राष्ट्रिय हवाई नाकाबाट आउनेलाई विशेष निगरानी गर्न विमानस्थलका स्वास्थ्य कर्मचारीलाई निर्देशन दिएको बताए। ‘प्रभावित देशहरूमा पुगेपछि अरू देशमा गएर आएको इतिहास सोध्न भनेका छौ,’उनले भने। त्यस्तो व्यक्ति फेला पारेमा क्वारेनटाइनमा राख्ने र परीक्षण गर्ने गरी तयारी भइसकेको अधिकारीले बताए।
विगतका वर्षहरूमा पनि नेपालदेखि टाढाका यी देशहरूमा इबोला संक्रमण भइसकेको अनुभव हेर्दा नेपाल तत्कालै उच्च जोखिममा नदेखिए पनि सजकता भने कायम राख्नुपर्ने बताए। ‘मानिसहरूको आवात–जावात विश्वभरी भइरहेको हुन्छ, जोखिम शून्य हुँदैन,’ उनले भने।
विश्व स्वास्थ्य सङ्गठनले सीमाका राष्ट्रहरूलाई बाहेक अन्य सदस्य राष्ट्रहरूलाई दिएको सुझाव अनुसार अन्य तयारी गरिरहेको डा. भट्टचनले बताए। सङ्गठनले अन्य देशेको लागि पाँच वटा सुझाव दिएको थियो। जसमा संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको खोजी गरी निगरानी गर्ने, अस्पतालमा पुर्वतयारी गर्ने, समुदायसँग मिलेर जनचेतना फैलाउने, छिटो पहिचानको लागि परीक्षण सामाग्री र प्रयोगशाला तयारी अवस्थामा राख्ने र सीमा नाकामा कडाइ गर्न निर्देशन छ। सो अनुसार नेपाल सरकार स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयका प्रकोप नियन्त्रण शाखाहरु सक्रिय हुन थालेको पाइएको छ।
निर्देशक भट्टचनले विगतको अनुभव र महामारी व्यवस्थापनको नियमित स्वास्थ्य संरचना अनुसार पूर्व तयारी भइरहेको बताए। ‘हालको लागि हवाई तथा भू–नाकामा रहेका हेल्थ डेस्क नियमित सञ्चालनमा छ,’उनले भने। आवश्यकता अनुसार र विश्व स्वास्थ्य सङ्गठनले निर्देशन दिने र सो अनुसार परीक्षण सुरु गर्ने जानकारी दिए। अति नजिकका छिमेकी देशमा नेपाल नपर्ने भएकोले उच्च तत्कालै उच्च जोखिम नदेखिए पनि सजक भने हुनुपर्ने देखिएको भट्टचनको भनाइ छ।
‘बण्डिबिगियो’ नामक भाइरसको संक्रमण भएको तीन सातापछि लक्षण देखिन्छ। कडा कडा ज्वरो तथा टाउको दुख्ने, भोक नलाग्ने, वान्ता आउने, पखाला लाग्ने, आन्तरिक तथा बाह्य रक्तस्राव हुने, मांसपेशी दुख्ने जस्ता लक्षण देखिन्छ। संक्रमित व्यक्तिको थुक, रगत, पसिना, वीर्य, वा अन्य तरल पदार्थ छोएमा अर्को मानिसमा सर्छ। इबोला भएको व्यक्तिको शव छोएमा पनि सर्छ। संक्रमित वन्यजन्तु चमेरा वा जनावरसँग सम्पर्क भएमा पनि सर्छ।
समयमै उपचार भएमा भने इबोला संक्रमणबाट बच्न सकिन्छ। यो रोगको संक्रमण भइसकेपछि मृत्युदर २५ देखि ४५० प्रतिशत हुने भएकोले यो रोगको संक्रमण जनस्वास्थ्यको हिसाबले उच्च जोखिमयुक्त मानिन्छ।
प्रकाशित: ४ जेष्ठ २०८३ १६:४२ सोमबार





