नेपाल औषधि लिमिटेडले छिटै तीनवटा औषधि उत्पादन गर्ने तयारीमा रहेको छ। उच्चरक्तचाप, मधुमेह र कोलेस्ट्रोलमा प्रयोग हुने औषधि उत्पादन अन्तिम चरणमा पुगेको हो। यी औषधीसहित ३७ वटा औषधि उत्पादन तयारीमा रहेको लिमिटेडले जनाएको छ; जसमा कोलेस्ट्रोलमा प्रयोग हुने एटोरभास्टिनको औषधि व्यवस्था विभागबाट अनुमति लिने प्रक्रियामा छ।
त्यसैगरी मधुमेहका लागि प्रयोग हुने मेटफरमिन पाँच सय मिलिग्राम र आठ सय मिलिग्राम, उच्च रक्तचापमा प्रयोग हुने एम्लोडोपिन २.५ मिलिग्राम र ५ मिलिग्राम अनुसन्धान तथा विकास प्रक्रियामा छन्। ‘तीनवटा औषधि अर्को आर्थिक वर्षभित्र प्रयोगमा ल्याउने गरी प्रक्रिया अघि बढेको छ’, नेपाल औषधि लिमिटेडका सूचना अधिकारी दिनेशप्रसाद भट्टराईले जानकारी दिए।
लिमिटेडका अनुसार हाल आठथरी अनुसन्धान र विकासकै क्रममा रहेका छन् भने प्रक्रिया पूरा हुन औषधि विकास विभागबाट दुई/तीनवटा अनुमति पत्र मिलेपछि मात्र एक वर्षपछि औषधि बजारमा अउने क्रममा छन्। छिटै उत्पादन हुने अन्य औषधिमा एस्प्रिन ७५ मिलिग्राम, अल्वेन्डाजोल ट्याब्लेट चार सय मिलिग्राम, अल्मुनियम हाइड्रोअक्साइड जेल पाँच सय एमजी, अमिट्रीपिटीलाइन १० र २५ एमजी, अल्मोडिपिन पाँच एमजी, एजिथ्रोमाइसिन अढाई सय एमजी र पाँच सय एमजी हुन्।
उत्पादनका क्रममा रहेका थप औषधिमा कार्वामेजापिन, सेट्रिजिन १० एमजी, चारकोल एक्टिभाइटेड १० ग्राम, कोलोरोक्विन १५० एमजी, सिप्रोफोलाक्सिन ५०० एमजी, कोट्रिनमोक्साजोल ४०० सय ८९ एमजी, डायजपाम ५ एमजी, डिक्लोफेनाक सोडियम ५० एमजी, ६० एमजी, फेरोस सल्फेट र फोलिक एसिड ४०० एमजी, फोलिक एसिड ५ एमजी, फुरोसेमिड गिलिमपिराइड, हाइसोइन बुटिलब्रोमाइ, बु्ररोफिन, लोसाटन, मेट्रोमिन, मिथिलडोपा, नाइफेडिनपिन, नाइट्रोफुरानसन, ओरल रेडासन साल्ट, रानिटिडाइन, रिसपेरिडोन, सोडियम भाल्पोरेड, भिटामिन बी कम्पलेक्स र जिंक सल्फेट छन्।
महानिर्देशक भट्टराईका अनुसार प्रधानमन्त्री बालेन्द्र शाह तथा सरकारको उद्योग तथा स्वास्थ्यविज्ञले लिमिटेडको औषधि उत्पादनलाई प्रवर्द्धन गर्ने र खपत पनि नेपाल सरकारकै स्वास्थ्य संस्थामार्फत गर्ने गरी छलफल गरेपछि लिमिटेडमार्फत पर्याप्त उत्पादनमा जोड दिएका छन्।
प्रधानमन्त्री शाहका पिता रामनारायण शाह नेपाल औषधि लिमिटेडमा महानिर्देशकको भूमिकामा रहेकाले पनि शाहको चासो लिमिटेड र सिंहदरबार वैद्यखानामा देखिएको लिमिटेडका कर्मचारी बताउँछन्।
लिमिटेडको उत्पादन प्रवर्द्धनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ र उद्योग तथा आपूर्ति मन्त्रालयका विज्ञले पनि लिमिटेडसँग छलफल गरी आवश्यक प्रस्ताव माग गरिसकेका छन्। ‘प्रधानमन्त्रीले पनि छलफल गर्नुभएको छ। अन्य विज्ञ टोलीले पनि हामीसँग बैठक गरिसकेको छ’, महानिर्देशक पनेरूले भने।
बैठकपछि विज्ञहरूले औषधि उत्पादनका लागि सरकारी स्वास्थ्य संस्थामार्फत निःशुल्क वितरण हुँदै आएको ९८ वटा अति आवश्यक औषधिमध्येकै उत्पादन गर्न निर्देशन दिएका छन्। निर्देशनपछि लिमिटेडले आवश्यक बजेट पठाएको छ। प्रस्तावित बजेट र जनशक्तिको विषय उद्योग मन्त्रालयपछि अर्थ मन्त्रालयमा पुगेको महानिर्देशक पनेरूले बताए।
बजारमा निजी कम्पनीबाट उल्लिखित औषधि उत्पादन भई विक्रीवितरण भइरहे पनि औषधिको आयात घटाउन, सुलभ मूल्य कायम गर्न र गुणस्तर कायम राख्न लिमिटेडले आधारभूत औषधि उत्पादन हुनुपर्ने लिमिटेडकी गुणस्तर आश्वासन इन्चार्ज हीना श्रेष्ठले बताइन्। ‘बजारको माग पनि पूरा हुन्छ, अर्कातिर हाम्रो उत्पादनमा गुणस्तरमा कुनै कमी हुँदैन’, उनले भनिन्।
सरकारको पछिल्लो निर्णयअनुसार लिमिटेडबाट उत्पादित औषधि खुला बजार र सरकारी स्वास्थ्य संस्थामा उपलब्ध हुनेछन् । लिमिटेडबाट उत्पादित औषधि सरकारले आफैं सिधै खरिद गर्ने गरी व्यवस्था हुनेछ। ‘सरकारले नै वितरण गर्ने औषधिमध्येकै उत्पादन गर्न भनेपछि हामी अघि बढेका हौ’, औषधि लिमिटेडका सूचना अधिकारी दिनेशकुमार भट्टराईले भने।
२०२९ सालमा स्थापना भई एक सयभन्दा बढी औषधि उत्पादन गरी नेपाली बजारमा विक्रीवितरण गर्दै आएको लिमिटेड २०६४ सालपछि बन्द भएको थियो भने २०७४ सालपछि पुनः सञ्चालनमा आएको हो।
स्थापनापछि पनि हरेक औषधि उत्पादनमा जिएमपी (उत्पादनको अन्तर्राष्ट्रिय मापदण्ड) पूरा गर्दा प्रक्रियामै बढी समय लाग्ने गरेकाले अपेक्षित रूपमा उत्पादन हुन नसकेको महानिर्देशक पनेरूले बताए। अहिलेकै पूर्वाधार र जनशक्ति थप नभए अपेक्षित औषधि उत्पादन नहुने लिमिटेडले बतायो।
छरितो प्रक्रिया र प्रस्तावित बजेट पूरा भएमा सरकारको मागअनुसार उत्पादनमा वृद्धि गर्न सम्भावना रहेको महानिर्देशक पनेरूले बताए। ‘अहिलेको स्थितिमा आवश्यक बजेट र जनशक्ति थपिएन भने सबै उत्पादन हुन सम्भव छैन’, उनले भने। लिमिटेडबाट हेमोडाइलासिस औषधि, सिटामोल, फोलिक एसिड, जीवनजल, गिलसिरिन लगायतका औषधि उत्पादन भइरहेको छ।
प्रकाशित: २५ वैशाख २०८३ ११:४८ शुक्रबार





