बिदाको दिन पनि स्वास्थ्य संस्थाहरूले सम्भव भएसम्म ओपिडी सेवा सञ्चालन गरेकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धन्यवाद व्यक्त गरेको छ।
मन्त्रालयले (आज) आइतबार विज्ञप्ति जारी गरेर चिकित्सक, स्वास्थ्यकर्मी तथा सेवा प्रदायक संस्थालाई धन्यवाद दिँदै उनीहरुबाट व्यक्त भएका चासोप्रति जानकार रहेको बताएको हो ।
नागरिकको स्वास्थ्य सेवालाई संवेदनशील तथा अत्यावश्यक क्षेत्रका रूपमा लिँदै सेवा निरन्तरता कायम गर्नु सबैको प्रमुख दायित्व भएको मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। यसका लागि सम्बन्धित सबै सरोकारवालाबीच सहकार्य र समन्वय आवश्यक रहेको पनि विज्ञप्तिमा जनाइएको छ।
स्वास्थ्य सेवा प्रवाहलाई व्यवस्थित, सन्तुलित र दिगो बनाउन आवश्यक कार्यविधि तयार पारेर कार्यान्वयनमा ल्याउने तयारी भइरहेको मन्त्रालयले स्पष्ट पारेको छ। कार्यविधि तयार नहुन्जेल बिरामीको हितलाई प्राथमिकतामा राख्दै उपलब्ध जनशक्ति र स्रोतका आधारमा सेवा सञ्चालन गर्न अस्पतालहरूलाई अनुरोध गरिएको छ।
मन्त्रालयले स्वास्थ्यकर्मीको विश्रामको अधिकार र नागरिकको उपचार पाउने हकबीच सन्तुलन कायम गर्ने गरी व्यवस्थापन गरिने जनाएको छ। साथै आगामी दिनमा पनि चिकित्सक तथा स्वास्थ्यकर्मीबाट निरन्तर सहयोग, समन्वय र सहकार्यको अपेक्षा गरिएको उल्लेख छ।
सरकारले शनिबार र आइतबार गरेर हप्तामा दुई दिन सार्वजनिक बिदा कार्यान्वयनमा ल्याएकाे छ। याे अवस्थामा पनि अत्यावश्यक तथा निरन्तर प्रदान गर्नुपर्ने सेवा भएकाले बिरामीलाई असहजता नहोस् भन्ने उद्देश्यले मन्त्रालयले स्वास्थ्य संस्था बन्द नगर्न अनुरोध गरेको थियो।
तर चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघ (एनएमए)ले अस्पतालहरुमा जनशक्ति नथपिएकाले व्यवस्था कार्यान्वयन गर्न नसकिने जनाएको थियाे
मन्त्रिपरिषद्को निर्णयअनुसार राजपत्रमा प्रकाशित नयाँ बिदा व्यवस्थाले स्वास्थ्य सेवा प्रभावित हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै मन्त्रालयले अस्पतालहरूलाई कार्यभार र उपलब्ध जनशक्ति अनुसार आइतबार पनि ओपीडी सञ्चालन गर्न आग्रह गरेको थियो । साथै, कर्मचारी व्यवस्थापनका लागि शनिबार बाहेक अर्को एक दिन बिदा दिने वा सो सम्भव नभए सट्टा बिदा उपलब्ध गराउनसमेत निर्देशन दिएको थियो।

प्रकाशित: २९ चैत्र २०८२ १८:५४ आइतबार





