यहाँको गलकोट नगर अस्पतालका लागि आवश्यक जग्गा खरिद गर्न स्थानीय नागरिकले पौने तीन करोड रुपैयाँ आर्थिक सहयोग गरेका छन्। गलकोट नगरपालिका–५ हरिचौरमा रहेको नगर अस्पतालका लागि दुई रोपनी जग्गा थप गर्न नागरिकस्तरबाट सहयोग संकलन गरिएको हो।
गलकोट नगर अस्पतालका प्रमुख डा. राजेश पौडेल का अनुसार नागरिकहरूको सहयोगबाट अस्पतालका लागि दुई रोपनी जग्गा खरिद गर्न सफलता मिलेको हो।
“नगर अस्पताल निर्माणका लागि सरकारले तोकेको मापदण्ड ९ रोपनी जग्गा हो, यहाँ हाम्रो अस्पतालको अहिलेको जग्गा ७ रोपनी मात्र थियो,” उनले भने, “त्यसका लागि आवश्यक दुई रोपनी जग्गा व्यवस्थापन गर्न समस्या भयो। सरकारले जग्गा नकिन्ने भएकाले नागरिकसँग सहयोग उठाएका हौँ।”
अस्पतालका लागि जग्गा व्यवस्थापन गर्न नागरिकहरूले स्वस्फूर्त रूपमा ५ हजारदेखि १५ लाख रुपैयाँसम्म सहयोग गरेका छन्।
“भवनका लागि जग्गा किन्ने भनेर थोरैले ५ हजार र धेरैले १५ लाखसम्म एउटै व्यक्तिले सहयोग गर्नुभएको छ,” उनले भने, “३ सय १५–२० जनाबाट पौने तीन करोड संकलन गरेर दुई करोडमा दुई रोपनी जग्गा खरिद गर्न सफल भएका छौँ।”
जग्गा व्यवस्थापनका लागि सहयोग गर्ने अधिकांश हरिचौरकै स्थानीय रहेको उनले बताए। “अस्पताल यहीँ भएकाले यहाँका नागरिकलाई सहज हुने भएर पनि होला, झण्डै ८० प्रतिशत सहयोग यहीँबाट उठेको छ। गलकोट नगरपालिकाभित्रका अन्य नागरिकले पनि सहयोग गर्नुभएको छ,” डा. पौडेलले भने।
अभियानबाट हालसम्म २ करोड ७९ लाख ६२ हजार रुपैयाँ संकलन भएको जग्गा व्यवस्थापन समितिका कोषाध्यक्ष टंक केसीले जानकारी दिए।
“अहिलेसम्म उठेको रकममध्ये दुई करोड रुपैयाँमा दुई रोपनी जग्गा किनेका छौँ,” उनले भने, “१९ लाख १० हजार रुपैयाँ बराबरको एक्स–रे मेसिन खरिद गरेका छौँ। ७२ लाख ८७ हजार बैंक मौज्दात छ।”
अस्पतालसँगै जोडिएको जग्गा लिनुपर्ने भएकाले केही महँगो परेको उनले बताए।
“अस्पतालको सेवा विस्तारका लागि पूर्वाधार पनि अस्पतालसँगै जोडिएको स्थानमै चाहियो, गलकोटे राजाहरूको सम्पत्तिमा मुद्दा मामिला बाँकी रहेकाले त्यो पास हुन सकेन,” उनले भने, “त्यसबाहेक जुन जग्गा बाँकी रह्यो, त्यही लिनुपर्यो। त्यसले गर्दा पनि अलि महँगोमा पर्यो।”
हरिचौर स्वास्थ्यचौकीलाई गलकोट नगरपालिकाले नगर अस्पतालका रूपमा विकास तथा सञ्चालन गर्दै आएको छ। १५ शैयाको अस्पताल बनाउन आवश्यक पूर्वाधार निर्माणका लागि मन्त्रालयमा बजेट माग गरिएको गलकोट नगरपालिका–५ का वडाध्यक्ष भवन हमाल ले बताए।
“झण्डै २२ करोडको डीपीआर तयार गरेर मन्त्रालयमा बुझाएका छौँ,” उनले भने, “विगतमा सबै स्थानीय तहमा अस्पताल भवन शिलान्यास हुँदा हाम्रोमा जग्गा अपुग भएर काम अगाडि बढेको थिएन। अहिले जग्गा व्यवस्थापन भएपछि मागपत्र बुझाएका छौँ।”
सरकारले बजेट व्यवस्थापन गरेपछि भवन निर्माणको काम अगाडि बढ्ने उनको भनाइ छ।
जग्गा व्यवस्थापन भइसकेपछि पूर्वाधार थप गर्न सहयोग पुग्ने गलकोट नगरप्रमुख भरत शर्मा गैरे ले बताए।
“आफ्नै नाममा जग्गा नहुँदा हामीलाई पूर्वाधार थप्न समस्या भएको थियो। अब हामी पूर्वाधार निर्माणको प्रक्रियामा अगाडि बढ्छौँ,” उनले भने, “अस्पतालले अहिले आफ्नो सेवामा सुधार गर्दै गएकाले नागरिकको विश्वास बढेकाले पूर्वाधारको अभाव हुन थालेको छ।”
सेवा सुधारले जित्दै नागरिकको भरोसा
गलकोट नगरपालिकाले नगर अस्पतालका रूपमा विकास गर्ने निर्णय गरेसँगै अहिले यहाँको सेवा सुविधामा उल्लेखनीय सुधार भएको छ। सेवा विस्तार र सुधारसँगै अस्पताल अहिले गलकोटवासीको आशा र भरोसाको केन्द्र बन्दै गएको स्थानीय थमम थापा बताउँछन्।
“गलकोट नगर अस्पतालले त अहिले धेरै राम्रो सेवा दिएको छ,” उनले भने, “अहिले त दैनिक डेढ–दुई सय मानिस सेवा लिन आउँछन्। जनताको नजरमा अस्पताल निकै राम्रो हुँदै गएको छ।”
भवनदेखि यान्त्रिक उपकरणसम्म धेरै कुरा थपिएपछि गुणस्तरीय सेवा पाउन थालेसँगै नागरिकको भरोसा बढेको उनको भनाइ छ।
उनले थपे, “सुत्केरी सेवाका लागि यहाँबाट अन्त पठाउनुपर्ने अवस्था छैन। अप्रेसन गर्नुपर्ने भए पनि यहीँबाट हुन्छ। त्यति मात्र होइन, सुत्केरी कुर्न आउनेलाई बस्ने, खाना पकाएर खाने व्यवस्था गरिएको छ। दुई वटा कोठा छन्। सुत्केरी प्रतीक्षा गृहका रूपमा आफन्तले सामान ल्याउने, आफैं पकाउने र सुत्केरीलाई खुवाउने व्यवस्था मिलाइएको छ। यो सेवा गण्डकीमै पहिलो पटक यहाँ सुरु भएको हो।”
गलकोट नगर अस्पताल नमुनाका रूपमा विकास हुँदै गएपछि अहिले बाहिरबाट अस्पताल हेर्न आउनेहरूको संख्या पनि बढ्दै गएको छ। अस्पतालको व्यवस्थापन र सेवा सञ्चालनबारे विभिन्न पालिकाका प्रतिनिधि अध्ययन तथा अवलोकनका लागि आउने गरेका छन्।
अस्पताल प्रमुख डा. पौडेलका अनुसार अहिले गलकोटका मात्र नभई पश्चिम बागलुङ, ताराखोला, बडिगाड, गुल्मीको मुसिकोट, काठेखोला गाउँपालिकाका नागरिक पनि सेवा लिन आउँछन्।
अहिले अस्पतालमा दैनिक झण्डै दुई सय बिरामी ले सेवा लिने गरेका छन्। सामान्यतर्फ दैनिक १३० देखि १५० जना तथा इमर्जेन्सीतर्फ दैनिक २०–२५ जना सेवा लिन आउने गरेका छन्।
डा. पौडेलले एमडीजीपी सेवा उपलब्ध गराउँदै आएका छन्। उनी चौबीसै घण्टा अस्पतालमै खटिने गरेका छन्।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगरप्रमुख भरत शर्मा गैरेका अनुसार अस्पतालमा दुई जना एमबीबीएस डाक्टरसहित ३६ जना स्वास्थ्यकर्मी तथा कर्मचारी बाट सेवा प्रवाह भइरहेको छ।
अस्पतालले सबै आधारभूत सेवासँगै गर्भवती महिलाका लागि विशेषज्ञ सेवा पनि उपलब्ध गराउँदै आएको छ। हालसम्म ६० भन्दा बढी गर्भवती महिलाको अप्रेसनमार्फत सुत्केरी गराउने काम भइसकेको अस्पतालले जनाएको छ।
त्यसबाहेक भिडियो एक्स–रे, ल्याब सेवा लगायत सुविधा पनि सञ्चालनमा छन्। अस्पतालमा आएका कुनै पनि बिरामीलाई भोलिका लागि नफर्काइने अस्पताल प्रशासनले जनाएको छ।
न्यूनतम सेवा मापदण्डमा सुधार
गलकोट नगर अस्पतालले न्यूनतम सेवा मापदण्डमा उल्लेखनीय सुधार गरेको छ। प्रदेश जनस्वास्थ्य केन्द्र पोखरा, प्रदेश जनस्वास्थ्य कार्यालय तथा धौलागिरि अस्पताल बागलुङको संयुक्त मूल्यांकनअनुसार अस्पतालले उल्लेखनीय प्रगति गरेको हो।
२०८० मा न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा ६० अंक प्राप्त गरेको अस्पतालले २०८१ मा ६१ अंक पाएको थियो।
२०८२ को मूल्यांकनमा भने १० अंक सुधार गर्दै ७१ अंक प्राप्त गरेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका क्षयरोग निरीक्षक देवप्रकाश घिमिरे ले जानकारी दिए।
“नागरिकलाई सेवा दिने सवालमा गरिएको मूल्यांकनमा यस पटक गलकोट अस्पतालले १० अंक सुधार गर्न सफल भएको छ। यो राम्रो पक्ष हो,” उनले भने।
प्रकाशित: ७ असार २०८३ १९:४८ आइतबार





