१ भाद्र २०८३ सोमबार
image/svg+xml
स्वास्थ्य

ललितपुर महानगरले सञ्चालयमा ल्यायो चिकित्सकसहितको एम्बुलेन्स

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ललितपुर महानगरपालिकाले चिकित्सकसहितको एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउनु उदाहरणीय काम भएको बताएकी छन् ।

ललितपुर महानगरपालिकाले आयोजना गरेको ‘चिकित्सक सहितको एम्बुलेन्स सेवा’ शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री मेहताले सामान्य एम्बुलेन्स सेवा धेरै स्थानीय तहले दिँदै आए पनि मेडिकल अफिसरसहितको सेवा सञ्चालन गर्नु विशेष उपलब्धि भएको बताइन् ।

उनले भनिन्, ‘एम्बुलेन्स सर्भिस दिनु भनेको ठूलो कुरा होइन, धेरै नगरपालिकाले प्रदान गरिरहेका छन् । तर एम्बुलेन्स सर्भिसमा पारामेडिक्स मात्र होइन, मेडिकल अफिसर र सुरक्षाकर्मीसमेत सँगै राखेर सेवा सुरु गर्नु केही देशहरूले मात्र सुरु गरेका छन् । त्यसमध्ये ललितपुर महानगरपालिकाले यो सेवा सुरु गर्नु सबैका लागि गर्वको कुरा हो ।’

उनले चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु गरेकामा ललितपुर महानगरको सम्पूर्ण टिमलाई धन्यवाद दिइन् ।  

उनले जनप्रतिनिधिको पहिलो प्राथमिकता नागरिकलाई एकसय प्रतिशत सेवा प्रदान गर्नु रहेको बताइन् । स्वास्थ्य मन्त्रालयको प्राथमिकता पनि नागरिकलाई सहज, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको बताइन् ।

ललितपुर महानगरपालिकालाई स्वास्थ्य मन्त्रालयबाट आवश्यक सहयोग र सहजीकरण गर्न आफू प्रतिबद्ध रहेको पनि उनले बताइन् ।  

यस्तै कार्यक्रममा ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले व्यक्तिगत स्वास्थ्य स्वस्थ रहेको र औषधिको नाम सोधेमा चारपाँच वटा मात्र भन्न सक्ने भन्दै स्वास्थ्य क्षेत्रमा विज्ञता नभएको स्वीकार गरेका छन् ।

उनले अवधारणाको विकास ‘सिटी नेट’(एशिया प्यासिफिक रिजनका १७४ मेयरहरूको सञ्जाल) मार्फत फिलिपिन्सको माकाटी सहरको भ्रमण गर्दा त्यहाँको डाक्टरसहितको एम्बुलेन्स सेवाबाट प्रभावित भएर यो योजना ल्याइएको बताए ।

उनले नवौं नगरसभाबाट यो प्रस्ताव पारित भई बजेटको समेत व्यवस्थापन गरिएको बताए । उनले साउन १ गतेबाट सुरु गर्ने भनिए पनि पर्याप्त ‘होमवर्क’ र कार्यविधि निर्माण गर्नु परेकोले केही समय ढिला भएको बताए ।  

उनले सेवा सञ्चालन गर्नु अत्यन्तै चुनौतीपूर्ण रहेको र काम गर्दै जाँदा कमजोरीहरू आए पनि ‘लर्निङ बाइ डुइङ’ को अवधारणाबाट अघि बढ्ने प्रतिबद्धता रहेको बताए । 

प्रकाशित: १ भाद्र २०८३ १४:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App