तपाईँले दैनिक अरूसँग मुस्कुराउँदा देखिने दाँत र गिजाको हेरचाह कत्तिको गर्नु भएको छ ? गर्नु भएको छैन भने आजैदेखि सचेत रहनुस्। राम्रोसँग दाँत र मुखको हेरचाह नगरे दाँत उमेरमै झरेर थोते त बनिन्छ नै, मुखको सङ्क्रमणले अन्य जटिल रोग पनि लाग्छ।
चिकित्सकको अनुसार यी जटिल रोगबाट बच्नको लागि दैनिक बिहान र बेलुकी चार/चार मिनेट समय छुट्याएर हेरचाह गरे पुग्छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बिहान र बेलुकी खाना खाएपछि फ्लोराइडयुक्त मन्जनले दाँत माझ्न सुझाएँ।
नरम ब्रसले चार मिनेट समय दिएर सफा गर्ने गरेमा गिजा तथा दाँत मुखको सङ्क्रमण हुनबाट बचिने उनले जनाए। ‘दैनिक बिहान ४ मिनेट, बेलुका चार मिनेट मुख सफाइलाई समय दिएमा बुढ्यौलीमा पनि दाँत झर्दैन’ प्रवक्ता बुढाथोकीले भने।
चिकित्सकको अनुसार कुनै पनि सङ्क्रमण नभएमा मुख स्वस्थ रहन्छ। मुखको सफाइ गर्नुको साथै मुखमा अड्किने खानाहरू, प्रशोधन गरिएका खानाहरू, बढी गुलियो, बढी कडा र बढी अमिलो खानेकुरा नखान उनको सुझाव छ। धुमपान, मद्यपान, जंकफुड जस्ता गलत चिजको प्रयोगले पनि ओठ तथा मुख स्वास्थ्यमा असर पर्ने भएकोले यी पदार्थको सेवनबाट बच्न चिकित्सक सुझाउँछन्। कुनै गुलियो या प्रशोधित खाना खाएमा तुरुन्त मुख कुल्ला गर्ने, दाँतमा केही अड्किएमा डेन्टल फल्सले सफा गर्ने गरेमा पनि मुख स्वस्थ रहन्छ। नियमित व्यायम र सन्तुलित भोजनले मुख स्वस्थ राख्न सकिन्छ। यसको साथै प्रत्येक ६/६ महिनामा मुख तथा गिजाको परीक्षण गर्नु पर्ने चिकित्सक सुझाउँछन्।
मुखमा कुनै पनि सङ्क्रमण भएमा गर्भवतीबाट जन्मिने शिशु कम तौल भएको जन्मिने, मुख तथा ओठको क्यान्सर हुने, गिजा सुन्निने, दाँत कीराले खाने हुन्छ। यो बाहेक मुखको सङ्क्रमण भएमा मिर्गौला पनि बिग्रिन सकिने चिकित्सकको भनाइ छ। यसको साथै दाँत दुखाइको कारण खाना चपाउन नसकेर पाचन प्रणालीमा कमजोरी हुने, नियमित काममा सशक्त हुन नसक्ने जस्ता असर पर्छ।
नेपालमा मुख स्वास्थ्यको हेरचाह र सचेतनाको कमीले बर्सेनि कम उमेरमै थोते बन्नेको सङ्ख्या धेरै छ। पछिल्लो समय प्रशोधित खाना र सुर्तीजन्य पदार्थको सेवनको कारण पनि मुख तथा ओठको क्यान्सर हुने दर बढ्दै गएको डा. बुढाथोकी बताउँछन्। तथ्याङ्क अनुसार नेपालमा पछिल्लो समय प्रति १ लाख जना मध्येमा ३/४ जनामा ओठ तथा मुखको क्यान्सर हुने गरेको छ। मुखको सङ्क्रमणको कारण एक देखि ९ वर्षका बालबालिकामा गिजा सुन्निने समस्या ५४.३ प्रतिशत छ। त्यसै गरी १४ वर्षदेखि माथिका १४.५ प्रतिशत मानिसमा गिजा सम्बन्धी समस्या देखिन्छ।
नेपालमा विद्यमान मुख स्वास्थ्यको समस्यालाई नियन्त्रण गर्न सरकारले राष्ट्रिय मुख स्वास्थ्य नीति २०८१ बनिसकेको र यसको कार्यान्वयन भएमा मुख स्वास्थ्यको सङ्क्रमणलाई नियन्त्रण सम्भव भएको डा. बुढाथोकी बताउँछन्। ‘प्रदेश र स्थानीय सरकारले नै सेवा दिने गरी नीतिमा व्यवस्था छ’ अब कार्यान्वयन गरे पुग्छ’ उनले भने।
मुखको सङ्क्रमणबाट बच्ने उपायहरू
– खाना खाएपछि बिहान र बेलुकी राम्रोसँग दाँत सफा गर्ने
– दाँतमा अड्केको खानेकुरा डेन्टल फल्सले निकाल्ने
– प्रत्येक ६/६ महिनामा मुख परीक्षण गर्ने
– बढी गुलियो, बढी अमिलो र प्रशोधित खानेकुरा नखाने
–सुर्तीजन्य खानेकुराको प्रयोग नगर्ने
–फ्लोराइडयुक्त मन्जनले मात्र दाँत सफा गर्ने
प्रकाशित: ६ चैत्र २०८२ १४:१४ शुक्रबार





