१६ श्रावण २०८३ शनिबार
image/svg+xml
स्वास्थ्य

जलवायु परिवर्तन र तीव्र सहरीकरणको असर: नयाँ क्षेत्रमा फैलिँदैछ डेंगी

बढ्दो तापक्रम, वर्षाको बदलिँदो स्वरूप र अव्यवस्थित सहरीकरणका कारण लामखुट्टेका कारण लाग्ने डेंगी रोगको जोखिम नयाँ ढाँचामा विश्वभर फैलिँदै गएको एक  अध्ययनले देखाएको छ । जलवायु परिवर्तन र तीव्र सहरीकरणले लामखुट्टेको प्रजनन, भाइरसको फैलावट र संक्रमणको समयावधिमा परिवर्तन ल्याइरहेको सो वैज्ञानिक अध्ययनको निष्कर्ष छ।  

अमेरिकाको जर्जटाउन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनमा सन् २०२० देखि २०२४ सम्म विश्वभर प्रकाशित ६५ वटा वैज्ञानिक अनुसन्धानको समीक्षा गरिएको छ । यो अध्ययन ‘प्लोस नेग्लेक्टेड ट्रोपिकल डिजिजेज’ नामक वैज्ञानिक जर्नलमा गत सोमबार प्रकाशित भएको हो ।  

अध्ययनले विशेषगरी न्यून तथा मध्यम आय भएका मुलुकहरूमा तापक्रम वृद्धि र सहरीकरणले डेंगीको संक्रमणलाई कसरी प्रभावित गरिरहेको छ भन्ने विश्लेषण गरेको छ । अनुसन्धानकर्ताहरूका अनुसार बढ्दो तापक्रमले डेंगी सार्ने ‘एडिस एजिप्टाई’ प्रजातिको लामखुट्टेको गतिविधि बढाउने, टोक्ने दर वृद्धि गर्ने र लामखुट्टेभित्र डेंगी भाइरसको विकास प्रक्रिया तीव्र बनाउने देखिएको छ ।  

समीक्षा गरिएका ६५ अध्ययनमध्ये ४२ वटा अर्थात् करिब ६५ प्रतिशत अध्ययनले तापक्रम वृद्धि र डेंगी संक्रमणबीच सकारात्मक सम्बन्ध देखाएका छन् । अध्ययनअनुसार तापक्रम बढ्दा लामखुट्टेको जीवनचक्र छोटिन सक्छ र संक्रमण फैलाउने क्षमता बढ्न सक्छ । तर अत्यधिक उच्च तापक्रममा भने लामखुट्टेको बाँच्ने क्षमता घट्ने भएकाले प्रभाव सबै ठाउँमा समान नहुने अनुसन्धानकर्ताहरूले उल्लेख गरेका छन् ।  

वर्षा र आद्रताले बढाउँछ जोखिम

डेंगी फैलावटमा वर्षाको भूमिका पनि महत्वपूर्ण देखिएको छ । अध्ययनमा समेटिएका ३६ वटा अनुसन्धानले वर्षाले लामखुट्टेको प्रजननस्थल सिर्जना गर्ने भएकाले संक्रमणको जोखिम बढाउने देखाएका छन् । विशेषगरी पानी जम्ने स्थान, खुला भाँडा, अव्यवस्थित फोहोर व्यवस्थापन र कमजोर ढल प्रणाली भएका क्षेत्रमा जोखिम बढी हुने अध्ययनले औँल्याएको छ ।  

तर अनुसन्धानकर्ताहरूले वर्षा आफैंमा जोखिमको कारण नभएको बताएका छन् । वर्षाको प्रभाव स्थानीय पूर्वाधार, पानी व्यवस्थापन र मानिसहरूको व्यवहारमा निर्भर हुने अध्ययनमा उल्लेख छ । अत्यधिक वर्षापछि पानी जम्ने समस्या वा लामो समयसम्म आद्र्रता कायम रहँदा लामखुट्टेको संख्या बढ्न सक्छ ।

अव्यवस्थित सहर डेंगीको केन्द्र बन्दै

अध्ययनले सहरीकरणलाई डेंगीको अर्को प्रमुख कारणका रूपमा पहिचान गरेको छ । योजना विना भएको तीव्र सहरीकरण, घना बस्ती, कमजोर खानेपानी तथा सरसफाइ प्रणाली र अपर्याप्त ढल व्यवस्थापनले लामखुट्टेका लागि अनुकूल वातावरण सिर्जना गर्ने अनुसन्धानले देखाएको छ ।  

विशेषगरी अनौपचारिक बस्ती र परिधीय सहरी क्षेत्रमा जोखिम बढी देखिएको छ । यस्ता क्षेत्रमा नियमित खानेपानी आपूर्ति नहुँदा मानिसहरूले पानी भण्डारण गर्ने र फोहोर व्यवस्थापन कमजोर हुँदा लामखुट्टेको प्रजननस्थल बन्ने अध्ययनले उल्लेख गरेको छ।  

सहरभित्रको तापक्रम ग्रामीण क्षेत्रभन्दा बढी हुने अवस्थालाई ‘अर्बान हिट आइल्यान्ड’ भनिन्छ । अध्ययनका अनुसार यस्तो अवस्थाले पनि लामखुट्टेको गतिविधि बढाएर संक्रमणको जोखिम बढाउन सक्छ । भवनको घनत्व, हरियालीको कमी र जमिन प्रयोगमा आएको परिवर्तनले स्थानीय रूपमा डेंगीको जोखिम केन्द्र निर्माण गर्न सक्छ ।  

पहाडी क्षेत्रमा उक्लदै

डेंगी अब परम्परागत रूपमा जोखिम मानिएका तल्लो भूभागमा मात्र सीमित नरहेको अध्ययनले देखाएको छ । तापक्रम वृद्धिका कारण लामखुट्टे बाँच्न सक्ने वातावरण नयाँ क्षेत्रमा विस्तार हुँदै गएको छ । यसले उच्च पहाडी र पहिले कम जोखिम भएका क्षेत्रमा पनि डेंगीको सम्भावना बढाएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।  

दक्षिण तथा दक्षिणपूर्वी एसियाका धेरै अध्ययनहरूले डेंगीको संक्रमण अवधि लामो हुँदै गएको देखाएका छन् ।  पहिले मुख्यतः मनसुनपछि मात्र देखिने संक्रमण कतिपय क्षेत्रमा वर्षभरि देखिन थालेको अध्ययनमा उल्लेख छ ।

स्वास्थ्य प्रणालीमा नयाँ चुनौती

अध्ययनले सरकारहरूले डेंगी नियन्त्रणका लागि प्रारम्भिक चेतावनी प्रणाली, जोखिम नक्सांकन र लामखुट्टे नियन्त्रण कार्यक्रम सञ्चालन गरिरहेको भए पनि धेरै चुनौती बाँकी रहेको जनाएको छ । धेरै देशमा स्वास्थ्य, वातावरण र मौसमसम्बन्धी निकायबीच समन्वय कमजोर रहेको पाइएको छ ।  

अनुसन्धानकर्ताहरूले जलवायु परिवर्तनलाई ध्यानमा राखेर स्वास्थ्य योजना बनाउनुपर्नेमा जोड दिएका छन् । केवल संक्रमण फैलिएपछि नियन्त्रण गर्ने परम्परागत प्रणाली पर्याप्त नहुने भन्दै मौसम पूर्वानुमान, सहरी योजना र जनस्वास्थ्य निगरानी प्रणालीलाई एकीकृत गर्नुपर्ने सुझाव दिइएको छ ।  अध्ययनको निष्कर्षमा भनिएको छ; जलवायु परिवर्तन र सहरीकरणले डेंगीको भौगोलिक सीमा र संक्रमणको समय दुवै परिवर्तन गरिरहेका छन् । त्यसैले भविष्यमा डेंगी नियन्त्रणका लागि जलवायु–मैत्री सहरी पूर्वाधार, प्रभावकारी निगरानी प्रणाली र समुदायको सहभागिता आवश्यक हुने देखिएको छ । 

प्रकाशित: ७ श्रावण २०८३ १८:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App