२३ श्रावण २०८३ शनिबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्यमन्त्री मेहता र जर्मन राजदूत भोल्जबिच सिंहदरबारमा भेटवार्ता,

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको संघीय आर्थिक सहयोग मन्त्रालयको दक्षिण एसिया विभाग तथा विकासकी प्रमुख बारबरा शेफरसहित नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले सोमबार शिष्टाचार भेटघाट गरेका छन्।

सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटघाटका क्रममा नेपाल र जर्मनीबिच लामो समयदेखि रहँदै आएको घनिष्ठ सम्बन्धका विषयमा छलफल भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी र मन्त्री मेहताको सचिवालयले जानकारी दिएको छ।

उनीहरूका अनुसार जर्मन सरकारले नेपालको स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माण, डिजिटल हेल्थ तथा विभिन्न परियोजनामार्फत प्रदान गर्दै आएको सहयोगको मन्त्री मेहताले प्रशंसा गरेकी छिन्। भेटमा मन्त्री मेहताले जर्मनीले स्वास्थ्य क्षेत्रमा गरिरहेको पूर्वाधार निर्माणका साथै विभिन्न परियोजनामार्फत भएको सहयोगका लागि धन्यवाद समेत दिइन्।

सो अवसरमा जर्मन सरकारका तर्फबाट राजदूत भोल्ज र दक्षिण एसिया विभाग प्रमुख शेफरले हालको परिस्थितिमा नेपाल सरकारको प्राथमिकताका क्षेत्रहरूमा आगामी दिनमा समेत निरन्तर सहयोग, सहकार्य र साथ रहने प्रतिबद्धता व्यक्त गरे।

भेटघाटमा जर्मनीका तर्फबाट नेपालमा कार्यरत संस्थाहरू केएफडब्ल्यु, जिआइजेड र पिटिआई/पिटिबीका प्रमुख एवं प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।

प्रकाशित: १ असार २०८३ १४:१० सोमबार