जुम्लाकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आगामी आर्थिक वर्षमा बिरामीलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग कार्यसम्पादन सम्झौता गरेको छ।
प्रतिष्ठानका उपकुलपति प्रा.डा. सूर्यमान मेन्याङ्बो र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताबीच भएको भेटका क्रममा आर्थिक वर्ष २०८३/८४ का लागि कार्यसम्पादन सम्झौता भएको हो। सम्झौतामा बिरामीले उपचारका लागि कुर्नुपर्ने समय घटाउने, विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने, चिकित्सा शिक्षाको गुणस्तर सुधार गर्ने र संस्थागत सुशासन कायम गर्ने विषयलाई प्राथमिकता दिइएको छ।
प्रतिष्ठानले आगामी आर्थिक वर्षमा बिरामीको औसत प्रतीक्षा समय तीन घण्टाबाट घटाएर डेढ घण्टामा झार्ने लक्ष्य निर्धारण गरेको छ।
त्यस्तै, स्वास्थ्य बिमाअन्तर्गत सेवा लिने सेवाग्राहीको सङ्ख्या ८५ हजार पुर्याउने र विशेषज्ञ चिकित्सक तथा प्राविधिक जनशक्तिको पदपूर्ति ७५ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ। प्रतिष्ठानले पुँजीगत खर्च शतप्रतिशत गर्ने तथा शैक्षिक गुणस्तर अभिवृद्धि गरी ९० प्रतिशत लक्ष्य हासिल गर्ने प्रतिबद्धतासमेत जनाएको छ।
कार्यसम्पादन सम्झौतामा चिकित्सा शिक्षा तथा शैक्षिक गुणस्तर अभिवृद्धि, विशेषज्ञ चिकित्सक र प्राविधिक जनशक्तिको व्यवस्थापन, भौतिक पूर्वाधार विकास, औषधि तथा स्वास्थ्य उपकरणको प्रभावकारी व्यवस्थापनलगायतका विषय समेटिएका छन्। स्वास्थ्य बिमा तथा विपन्न नागरिकलाई स्वास्थ्य सेवाको पहुँच विस्तार, अनुसन्धान तथा नवप्रवर्तन र डिजिटल स्वास्थ्य प्रणालीको विकासलाई पनि प्राथमिकतामा राखिएको छ।
प्रतिष्ठानले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) सहितको डिजिटल स्वास्थ्य प्रणालीलाई संस्थागत गर्ने लक्ष्य लिएको छ। यसबाट बिरामीको स्वास्थ्य विवरण व्यवस्थित राख्न, उपचार प्रक्रियालाई प्रभावकारी बनाउन र सेवा प्रवाहमा पारदर्शिता कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। त्यस्तै, विशेषज्ञ सेवा तथा ग्रामीण स्वास्थ्य सेवाको विस्तार र अनुसन्धानलाई प्रोत्साहन गर्ने लक्ष्य पनि सम्झौतामा समावेश गरिएको छ।
कर्णालीको भौगोलिक विकटता, सीमित स्वास्थ्य पूर्वाधार र दक्ष जनशक्तिको अभावका कारण दुर्गम क्षेत्रका नागरिकले अझै सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा पाउन सकेका छैनन्। यस्तो अवस्थामा प्रतिष्ठानले सेवा प्रवाहको प्रतीक्षा समय घटाउने, विशेषज्ञ जनशक्तिको उपलब्धता बढाउने र स्वास्थ्य बिमामार्फत सेवाको पहुँच विस्तार गर्ने लक्ष्य लिनुलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।
सम्झौताले प्रतिष्ठानको आगामी कार्यदिशा र संस्थागत जिम्मेवारी स्पष्ट पारेको छ। मन्त्रालयको सहयोग, प्रतिष्ठानको नेतृत्वको प्रतिबद्धता र निर्धारित लक्ष्यको प्रभावकारी कार्यान्वयनबाट कर्णालीका नागरिकले आफ्नै क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उद्देश्य स्वास्थ्य उपचारमा मात्र सीमित छैन। चिकित्सा शिक्षा, दक्ष जनशक्ति उत्पादन र अनुसन्धानका माध्यमबाट समग्र कर्णालीको स्वास्थ्य क्षेत्रलाई सबल बनाउने जिम्मेवारी पनि प्रतिष्ठानको छ। त्यसैले सम्झौतामा निर्धारण गरिएका लक्ष्यको उपलब्धि प्रतिष्ठानको संस्थागत विकाससँगै कर्णालीको स्वास्थ्य सेवाको अवस्था सुधार्ने आधारका रूपमा हेरिएको छ।
प्रकाशित: १३ कार्तिक २०८३ ११:१९ शुक्रबार


-600x400.jpg)


