२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
स्वास्थ्य

क्यान्सर नियन्त्रणका प्रयासलाई निरन्तरता दिन पूर्वमन्त्रीको आग्रह

पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यान्सर नियन्त्रणका क्षेत्रमा आफू नेतृत्वमा रहँदा सुरु गरिएका असल प्रयासलाई निरन्तरता दिन सरकारसँग आग्रह गरेका छन्।

विश्व क्यान्सर दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै पौडेलले मन्त्रीका रूपमा कार्यभार सम्हाल्दा पहिलो निर्णय नै क्यान्सर नियन्त्रण रणनीति बनाएर काम सुरु गर्नु रहेको स्मरण गरे। क्यान्सर उपचार अझै महँगो भएको गुनासो सुनिने गरे पनि विगतमा सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार र सरकारी अस्पतालको क्षमता अभिवृद्धिमा उल्लेख्य काम भएको उनले बताए।

उनका अनुसार पाँच सरकारी अस्पतालमार्फत बाल क्यान्सरको निःशुल्क उपचार सुरु गरिएको थियो। आर्थिक अभावका कारण जीवनमरणको दोसाँधमा परेका परिवारको पीडा देखेर बाल क्यान्सरको निःशुल्क उपचार सुरु गरिएको उल्लेख गर्दै पाठेघरको मुखको क्यान्सरबाट दैनिक चार जनाको ज्यान जाने अवस्थालाई रोक्न गरिएका प्रयासले धेरै परिवारमा आशा र खुशी ल्याएको उनको भनाइ छ।

पूर्वमन्त्री पौडेलले गत वर्ष मात्र १५ लाख किशोरीलाई एचपीभी खोप उपलब्ध गराइएको स्मरण गर्दै यसलाई हरेक वर्ष नियमित कार्यक्रमका रूपमा अघि बढाउने व्यवस्था गरिएको बताए। महिलामा पाठेघरको मुखको क्यान्सर घटाउने उद्देश्यले हरेक वर्ष फागुन महिनालाई निःशुल्क स्क्रिनिङ महिनाका रूपमा घोषणा गरी उपचारमा सहजीकरण गरिएको पनि उनले जानकारी दिए।

महँगा र दुर्लभ औषधि सरकारी अस्पतालमार्फत विभिन्न माध्यमबाट निःशुल्क उपलब्ध गराउने काम गरिएको उल्लेख गर्दै पौडेलले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, भक्तपुर क्यान्सर अस्पताल, त्रिवि शिक्षण अस्पतालअन्तर्गतको सुरेश वाग्ले क्यान्सर उपचार केन्द्र, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र वीर अस्पतालमा क्षमता वृद्धि गर्ने गरी काम अघि बढाइएको बताए।

नेपालमा सरकारी तहमा क्यान्सर उपचारका लागि आवश्यक पेटिस्क्यान मेसिन र साइक्लोटोनको अभाव रहेकाले सबै क्यान्सर अस्पतालमा पेटिस्क्यान मेसिन स्थापनाका लागि स्रोत सुनिश्चित गरिएको पनि उनले बताए। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा साइक्लोटोनसहितको पेटिस्क्यान मेसिन जडान गर्न बहुवर्षीय कार्यक्रम स्वीकृत भइसकेको जानकारी पनि उनले दिए।

पूर्वमन्त्री पौडेलले यी सबै कार्यक्रमले निरन्तरता पाए नेपालमा क्यान्सर उपचार अझ सहज हुने विश्वास व्यक्त गर्दै सरकारलाई ती योजनाको पूर्ण कार्यान्वयनमा ध्यान दिन आग्रह गरे।

प्रकाशित: २१ माघ २०८२ १७:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App