२० आश्विन २०८३ मंगलबार
image/svg+xml
स्वास्थ्य

बर्सेनि पाँच हजार महिलामा स्तन क्यान्सर

नेपालमा करिब एक दशकअघिसम्म महिलामा पाठेघरको मुखको क्यान्सर बढी हुन्थ्यो तर अहिले त्यो स्थान स्तन क्यान्सरले लिन थालेको छ। अहिले स्तन क्यान्सर महिलामा हुने क्यान्सरमध्ये पहिलो नम्बरमा रहेको तथ्यांकले देखाएको छ।

गत वर्ष सार्वजनिक अस्पतालजन्य क्यान्सर रजिस्ट्रीअनुसार नेपालमा केही वर्षयता वार्षिक करिब पाँच हजार महिलामा स्तन क्यान्सर पहिचान हुने गरेको छ। यो संख्या एक दशकअघिसम्म दुई हजार पाँच सयदेखि तीन हजार हाराहारीमा थियो।

चिकित्सकका अनुसार सबैभन्दा बढी स्तन क्यान्सर ४० देखि ५० वर्ष उमेर समूहका महिलामा देखिन्छ। त्यसपछि ५० देखि ६० वर्ष उमेर समूहका महिला यो समस्याबाट पीडित छन्। नेपाल क्यान्सर अस्पतालका क्यान्सर सर्जन तथा स्तन क्यान्सर विशेषज्ञ डा. कपेन्द्रमान अमात्यका अनुसार आठ-दस वर्षयता स्तन क्यान्सरका बिरामीको संख्या बढ्दै गएको हो। पहिले स्तन क्यान्सर महिलामा हुने क्यान्सरमध्ये दोस्रो नम्बरमा थियो भने अहिले यो पहिलो स्थानमा छ।

भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर सर्जन डा. पुण्य खरबुजा पनि नेपालमा स्तन क्यान्सर हुने महिलाको संख्या बढ्दै गएको बताउँछन्। उनी भन्छन्, ‘नेपालसहित विश्वभरि नै महिलामा स्तन क्यान्सर वृद्धि भइरहेको देखिन्छ।’

बढ्नुका कारण
स्तन क्यान्सर हुनुका यकिन कारण अझै स्पष्ट छैनन्। स्तन क्यान्सर १० देखि १२ प्रतिशत वंशाण्ॉगत र बाँकी अन्य कारणले हुने गरेको डा. अमात्य बताउँछन्। 

अन्य कारणमा अप्राकृतिक र निष्क्रिय जीवनशैली, मोटोपना, सुर्तीजन्य पदार्थको सेवन, अस्वस्थकर प्याकेटबन्द खानेकुरा, प्रदूषित वातावरणलगायत रहेको चिकित्सक बताउँछन्। स्तन क्यान्सर ग्रामीण र सहरी दुवै क्षेत्रका महिलामा देखिएको अमात्य बताउँछन्। ‘गाउँमा महिलाले अहिले पनि धूमपान धेरै गर्छन्। सहरमा धूमपान गर्नेसँगै मोटोपना भएका महिला छन्। यी दुवै क्यान्सरका कारक हुन्,’ उनी भन्छन्।

अमात्यका अनुसार दुई दशकयता नेपाल आधुनिकीकरणको नाममा कृत्रिम जीवनशैलीतर्फ उन्मुख हुँदै गएको छ। यसैकारण विभिन्न क्यान्सर बढेको हुन सक्ने उनको भनाइ छ। ‘प्रकृतिसँगै मिल्दै जानुपर्ने जीवनशैली पूरै कृत्रिम बनेको छ, जसले महिलामा स्तन क्यान्सर पनि निम्त्याइरहेको छ,’ उनले भने।

नेपालमा स्तन क्यान्सर बढ्दै गएपछि केही संस्था र अस्पतालले सचेतना कार्यक्रम सञ्चालन गर्दै आएका छन्। अक्टोबरलाई विश्वभरि स्तन क्यान्सर सचेतना महिनाका रूपमा मनाउने गरिन्छ।

डा. खरबुजा भने ढिला विवाह र ढिला बच्चा जन्माउने महिलामा पनि स्तन क्यान्सरको जोखिम हुने बताउँछन्। अध्ययन, जागिर र आर्थिक आत्मनिर्भरताको खोजीका कारण विवाह ढिला र बच्चा पनि ढिला जन्माउने प्रवृत्ति बढेको छ। यो पनि स्तन क्यान्सर बढ्नुको एक कारण हुन सक्ने उनको भनाइ छ। उनका अनुसार ढिला विवाह गर्दा र ढिला बच्चा जन्माउँदा महिलामा हर्मोन असन्तुलन हुन सक्छ। हर्मोनमा हुने असन्तुलनले पनि स्तन क्यान्सरको जोखिम बढाउन सक्ने चिकित्सक बताउँछन्।

स्तन क्यान्सर समयमै पहिचान र उपचार भएमा ८० देखि ९० प्रतिशतसम्म निको हुने चिकित्सक बताउँछन्। पछिल्लो समय नेपालमा स्तन क्यान्सरको उपचारमा नयाँ प्रविधि र औषधि भित्रिएका कारण सफलतादर पनि बढेको उनीहरूको भनाइ छ। शल्यक्रिया र नयाँ प्रकारका किमोथेरापीजस्ता विधिबाट नेपालमै स्तन क्यान्सरको उपचार हुँदै आएको छ।

अप्राकृतिक खानपान, कम व्यायाम र मोटोपना पनि क्यान्सर बढ्नुका मुख्य कारण हुन सक्ने चिकित्सक बताउँछन्। नेपालमा स्तन क्यान्सर यिनै कारणले बढेको हो भन्ने विषयमा यकिन अध्ययन नभए पनि हाम्रो जीवनशैलीको परिवेशका आधारमा यस्तो विश्लेषण गरिएको चिकित्सकहरूको भनाइ छ। डा. खरबुजा भन्छन्, ‘हामीकहाँ पश्चिमा जीवनशैली बढेपछि स्तन क्यान्सर पनि बढ्यो।’

चिकित्सकका अनुसार स्तनमा गाँठा वा गिर्खा आउनु, स्तनबाट पानी वा रगत मिसिएको तरल पदार्थ बग्नु स्तन क्यान्सरका लक्षण हुन सक्छन्। स्तनमा कुनै पनि गाँठा वा गिर्खा देखिएमा समयमै स्वास्थ्य परीक्षण गराए उपचार सम्भव हुन्छ। तर स्तनमा हुने ९० प्रतिशत गिर्खा क्यान्सरका कारक नहुने चिकित्सक बताउँछन्। हरेक महिलाले आफ्ना स्तन आफैं पनि जाँच गर्न सक्छन्। चिकित्सकको सल्लाहअनुसार बर्सेनि स्तनको भिडियो एक्सरे र मेमोग्राम गराए समयमै समस्या पहिचान गर्न सकिन्छ।

स्तन क्यान्सर समयमै पहिचान गर्न सकेमा उपचारपछि लामो समयसम्म बाँच्न सकिने भएकाले सुरुवाती चरणमै रोग पहिचान गर्नु बच्ने प्रमुख उपाय भएको चिकित्सक बताउँछन्। स्वस्थ जीवनशैली क्यान्सरको जोखिम कम गर्ने अर्को उपाय हो। यसका लागि सन्तुलित खानपान गर्ने, नियमित व्यायाम गर्ने, सुर्तीजन्य पदार्थ सेवन नगर्ने, मोटोपना तथा तौल नियन्त्रणमा राख्नेजस्ता उपाय अपनाउन सकिने चिकित्सक बताउँछन्। समयमा बच्चा जन्माउनु पनि स्तन क्यान्सरको जोखिम कम गर्ने उपाय हुन सक्ने उनीहरूको भनाइ छ।

प्राकृतिक जीवनशैलीका लागि स्वच्छ वातावरण पनि आवश्यक छ। डा. अमात्य पेट्रोल-डिजेलको सट्टा विद्युतीय तथा स्वच्छ इन्धनको प्रयोग र जैविक खेतीलाई प्रोत्साहन गर्नुपर्ने सुझाउँछन्। ‘सिक्किम पूरै जैविक खेतीमा परिणत भइसकेको छ। अब नेपालले पनि त्यो दिशामा निर्णय लिनुपर्छ,’ उनले भने। भुटानले पनि जैविक खेती र विद्युतीय ऊर्जाको प्रयोगलाई प्राथमिकतामा राखेको उनले बताए। ‘यसका लागि राज्यले मापदण्ड बनाउनुपर्छ,’ उनले भने। बजारमा उपलब्ध तयारी खानाको गुणस्तर प्रभावकारी अनुगमन र सुर्तीजन्य पदार्थ सेवनमा नियन्त्रण गर्नुपर्ने उनी बताउँछन्। उचित स्वच्छ वातावरण निर्माण गरी स्वस्थ नागरिक तयार गर्नु राज्यको दायित्व हो। 

प्रकाशित: २० आश्विन २०८३ १२:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App