सरकारी अस्पतालमा सघन उपचार कक्ष (आइसियु) को शय्या पाउन सास्ती भइरहेको गुनासो बढ्ने गरेपछि चितवनस्थित भरतपुर अस्पतालले सेवामा पारदर्शिता ल्याउन नयाँ अभ्यास सुरु गरेको छ।
अस्पतालले आइसियु प्रतीक्षामा रहेका बिरामीको विवरण ‘डिस्प्ले बोर्ड’ मार्फत सार्वजनिक गर्न थालेको हो।
नयाँ व्यवस्थाअनुसार अब आइसियुमा शय्या उपलब्ध हुनेबित्तिकै सम्बन्धित बिरामी वा उनीहरूका आफन्तको मोबाइल फोनमा एसएमएस (सन्देश) पठाएर जानकारी गराइनेछ।
अस्पतालमा आइसियुका शय्या प्रायः खाली नहुने र पहुँच नभएका बिरामी सेवाबाट वञ्चित नहोऊन् भन्ने उद्देश्यले प्रतीक्षा सूचीलाई पारदर्शी बनाइएको अस्पताल प्रशासनले जनाएको छ।
भरतपुर अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाले अति संवेदनशील सेवामा निष्पक्षता र प्राथमिकताका आधारमा सेवा सुनिश्चित गर्न यो नियम ल्याइएको बताए।
‘आइसियु सेवामा थप पारदर्शिता, निष्पक्षता र सहज पहुँच सुनिश्चित गर्न प्रतीक्षारत बिरामीको नाम विवरण डिस्प्ले बोर्डमा देखाउने व्यवस्था लागू गरेका हौँ,’ उनले भने, ‘आइसियुमा शय्या उपलब्ध भएपछि सम्बन्धित बिरामी वा आफन्तलाई फोनमार्फत सन्देश पठाइने व्यवस्था गरेका छौँ। यसले सेवा प्रवाहलाई थप व्यवस्थित र विश्वसनीय बनाउन सहयोग पुग्नेछ।’
अब बिरामी अस्पतालमा आएपछि आकस्मिक सेवा काउन्टरबाटै आइसियुमा भर्नाका लागि आवश्यक विवरण प्रणालीमा प्रविष्ट गरिनेछ। यसले अस्पतालमा शय्या खाली भए/नभएको जानकारी सहजै पाउन सकिने र चिकित्सकीय प्राथमिकता तथा निर्धारित प्रक्रियाअनुसार सेवा दिन मद्दत पुग्ने प्रवक्ता डा. सापकोटाको भनाइ छ।
दैनिक तीन हजारभन्दा बढी बिरामीले सेवा लिने ६ सय शय्याको यस अस्पतालमा हाल वयस्कतर्फ कुल ३८ शय्या आइसियु सञ्चालनमा छ। जसमा पुरानो आइसियु (एमआइसियु र एआइसियु) १८, नयाँ आइसियु तथा सिसियु १८ र बर्न वार्डको आइसियुमा दुई शय्या छन्।
त्यसैगरी, बालबालिका तथा नवजात शिशुका लागि ३५ शय्याको आइसियु र आकस्मिक विभागमा ५० शय्या सञ्चालनमा रहेको अस्पतालले जनाएको छ।
प्रकाशित: २१ असार २०८३ १९:१७ आइतबार





