पछिल्लो समय दक्षिण अर्थात् विकासोन्मुख देशहरूमा रोग प्रतिरोधी सूक्ष्मजीवाणुहरू बढ्दै गएको र यसको जोखिमसमेत बढेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। त्यसमा पनि नेपालजस्ता विकासोन्मुख राष्ट्रहरू र दक्षिण एसियाली मुलुक बढी प्रभावित बन्ने विज्ञहरूले चेतावनी दिएका छन्।
विकसित देशहरूमा यसअघि नै सूक्ष्मजीवाणुविरुद्धका औषधि र एन्टिबायोटिकको उचित प्रयोग भइसकेको भए पनि विकासोन्मुख देशहरूमा अझै उचित प्रयोग हुन नसकेका कारण यसको जोखिम बढेको उनीहरूको धारणा छ।
बुधबार राजधानीमा विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन, विश्व पशु स्वास्थ्य संगठन, संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम, स्वास्थ्य पत्रकार मञ्च तथा एमआर मिडिया एलायन्स नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा विज्ञहरूले सूक्ष्मजीवाणुविरुद्धका औषधिप्रति विकसित भइरहेको प्रतिरोधी क्षमता चुपचाप फैलिँदै गएकोमा चिन्ता व्यक्त गरेका हुन्।
नेपालका पछिल्ला तथ्यांकले पनि यो समस्या वृद्धि भएको औँल्याएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले हालै सार्वजनिक गरेको प्रतिजैविक प्रतिरोधी निगरानी (एएमआर) न्युजलेटर २०२६ ले नेपालमा विभिन्न रोगका ढुसी, जीवाणु, भाइरस तथा अन्य सूक्ष्मजीवमा औषधिविरुद्ध प्रतिरोधी क्षमता विकास भएको तथ्यांक औँल्याएको छ।प्रयोगशालाले सन् २०२५ को अन्त्यसम्मको एक वर्षको अवधिमा निगरानी गरेको हो। उक्त निगरानीका क्रममा सातै प्रदेशबाट संकलन गरिएका ३ लाख ८३ हजार ४ सय ४१ वटा नमुनामध्ये ५३ हजार ५ सय ९७ वटा नमुनामा एएमआर (प्रतिजैविक औषधि प्रतिरोधी) क्षमता विकास भएको पाइएको छ। यो हिसाबले कुल नमुनाको १४ प्रतिशतमा औषधि प्रतिरोधी क्षमता विकास भएको हो।
प्रयोगशालाले परीक्षण गरेका २ लाख १२ हजार ३ सय ३० वटा पिसाबका नमुनामध्ये २६ हजार ९ सय ७७ वटा अर्थात् १३ प्रतिशत नमुनामा विभिन्न सूक्ष्मजीवमा औषधि प्रतिरोधी क्षमता विकास भएको पाइएको छ। नमुनामध्ये ५४ प्रतिशतमा इस्चेरिया नामक सूक्ष्मजीवमा प्रतिरोधी क्षमता विकास भएको पाइएको हो।
त्यसैगरी, निगरानी गरिएका रगतका ८२ हजार ८ सय ९० वटा नमुनामध्ये ४ हजार ६ सय ७४ वटामा अर्थात् ५.६ प्रतिशतमा औषधि प्रतिरोधी समस्या भेटिएको छ।
परीक्षण गरिएका श्वासप्रश्वाससम्बन्धी स्वाबका ३८ हजार ६ सय ९५ वटा नमुनामध्ये ८ हजार ४ सय ९७ वटा अर्थात् २१.९ प्रतिशत नमुनामा प्रतिरोधी क्षमता विकास भएको पाइएको छ।
मानिसका विभिन्न भागबाट लिइएका पीपजन्य पदार्थका २२ हजार ५ सय १७ वटा नमुनामध्ये १० हजार २ सय १ वटा अर्थात् ४५ प्रतिशतमा प्रतिरोधी क्षमता पाइएको छ।
शरीरबाट लिइएका फ्लुइड (तरल पदार्थ) का ७ हजार ५ सय ५६ वटा नमुनामध्ये १ हजार ५ सय ३५ वटामा प्रतिरोधी क्षमता विकास भएका सूक्ष्मजीव पाइएका छन्। अर्थात् १८ प्रतिशतमा यस्ता जीव पाइएका हुन्।
यौनाङ्गहरूबाट संकलन गरिएका ८ हजार ४ सय ४६ वटा नमुनामध्ये ८ सय ६५ वटा अर्थात् १० प्रतिशतमा प्रतिरोधी क्षमता भएका विभिन्न सूक्ष्मजीव भेटिएका हुन्। ५ हजार १ सय ३५ वटा दिसाका नमुनामध्ये १ सय ३५ वटा अर्थात् ३ प्रतिशतमा यो प्रतिरोधी समस्या पाइएको छ।
नेपालमा देखिएको यो समस्यालाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले नेपालमा बढ्दो प्रतिजैविक प्रतिरोधी समस्या नियन्त्रण गर्न आवश्यक रहेको बताएकी छन्। यो निगरानी प्रतिवेदनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा नीति तथा कार्यक्रम तय गर्न सहयोग पुग्ने उनको भनाइ छ।
बुधबार नेपालसहित विश्वभर देखिएको प्रतिजैविक प्रतिरोधी समस्या बढ्दै गएकोप्रति हरेक नागरिक सचेत हुनुपर्ने अवस्था आएको विश्व स्वास्थ्य संगठनकी एएमआर नेसनल प्रोफेसनल पल्पसा कंसकारले बताइन्। प्रतिजैविक प्रतिरोधी समस्याबाट विकसित देशको तुलनामा नेपालजस्ता विकासोन्मुख राष्ट्रहरू छिटो प्रभावित भइरहेका भए पनि यसको समग्र असर विश्वभर पर्ने उनले बताइन्।
रोग प्रतिरोधी सूक्ष्मजीवाणु भनेको के हो?
कुनै पनि ढुसी, कीटाणु वा भाइरसजन्य रोगमा सामान्य औषधिले काम गर्न नसक्ने अवस्थालाई एएमआर (प्रतिजैविक प्रतिरोधी) अवस्था भनिन्छ। अर्को भाषामा भन्नुपर्दा, उपचारमा प्रयोग हुने एन्टिबायोटिक अर्थात् औषधिले काम नगरेर सबैभन्दा उच्च तहको औषधि प्रयोग गर्नुपर्ने अवस्था हो।
यस्तो उच्च तहका औषधि तथा एन्टिबायोटिक प्रयोग गर्नुपर्ने अवस्था आएमा भविष्यमा थप एन्टिबायोटिकजन्य औषधि विकास गर्न कठिन हुने भएकाले यसले सम्पूर्ण मानव सभ्यतामै असर गर्ने विज्ञहरू बताउँछन्।
मानव सभ्यतामा सयौँ वर्षअघि एन्टिबायोटिकको विकास भएयता थुप्रै औषधि विकास भइसकेका छन्। अब थप औषधि निर्माण गर्न कठिन हुने भएकाले भविष्यमा संक्रमण भएका मानिस वा पशुको उपचारपछि पनि निको हुने सम्भावना कम हुने विश्व स्वास्थ्य संगठनकी एएमआर विज्ञ डा. पल्पसा कंसकार बताउँछिन्।
रोग प्रतिरोधी जीवाणु बलियो बन्नुका कारण
कुनै पनि सामान्य संक्रमणमा आफूखुसी औषधि सेवन गर्नु, स्वास्थ्यकर्मीले जीवाणुको परीक्षण वा पहिचान नगरी जथाभावी एन्टिबायोटिकजन्य औषधि दिनु, चिकित्सकले दिएका एन्टिबायोटिक वा संक्रमणविरुद्धका औषधि उचित मात्रा र तोकिएको समयावधिसम्म प्रयोग नगर्नु, फार्मेसीले रोगको पहिचान नगरी पटक-पटक औषधि बिक्री वितरण गर्नु तथा उचित संक्रमणमा उचित औषधि प्रयोग नगरी पटक-पटक एन्टिबायोटिक प्रयोग गर्नु र सरसफाइको कमीका कारण नेपालमा प्रतिजैविक प्रतिरोधी समस्या बढ्दै गएको छ।
यो समस्या मानिस, पशुपन्छी हुँदै वातावरणमा रहेका जीवहरूमा समेत पुगेर पुनः मानिस तथा पशुलाई असर गर्ने चक्र चल्ने भएकाले एकपक्षीय रूपमा मात्र नभई कृषि, वातावरण र स्वास्थ्य तीनै पक्षले प्रतिजैविक प्रतिरोधी समस्याको समाधानका लागि ‘एक स्वास्थ्य’ नीतिअनुसार काम गर्नुपर्ने उनीहरूले सुझाव दिएका छन्।
यो समस्याका बारेमा अहिले पनि आम नागरिक र नीतिगत तहमा कमजोरी कायमै रहेकाले सञ्चारजगत्ले सबैलाई लक्षित सूचना सम्प्रेषण गर्न आवश्यक रहेको राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रकी निर्देशक राधिका थपलियाले बताइन्।
नेपालमा मलेरिया, क्षयरोग, एचआईभी र नसर्ने रोगमा समेत प्रतिजैविक प्रतिरोधी समस्याले असर गरेको डा. कंसकार बताउँछिन्। यसबाहेक शल्यक्रिया भएका बिरामी अस्पतालबाट आउने प्रतिरोधी जीवाणुका कारण संक्रमित भई मृत्यु हुने गरेका छन्।
नेपालमा प्रतिजैविक प्रतिरोधी समस्याले दिगो विकास लक्ष्य २०३० मा समेत प्रभाव पारेको उनले बताइन्। डा. कंसकारका अनुसार संक्रमणको लामो उपचारका कारण आर्थिक भार बढेर मानिस गरिबीको रेखामुनि पुग्न सक्छन्। बिरामीको आयआर्जन क्षमता घट्न गई समग्र देशको उत्पादन प्रणालीमा गिरावट आउनुका साथै भोकमरीको समस्या पनि निम्तिन सक्छ।
नियन्त्रणका उपाय
सरसफाइ, स्वच्छ पानी, सफा शौचालय, स्वच्छ खाद्यान्न, सफा अस्पताल तथा हरेक ठाउँको सरसफाइ, उचित रोगमा उचित औषधिको प्रयोग र फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिना एन्टिबायोटिक बिक्री गर्न नपाउने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन भएमा प्रतिजैविक प्रतिरोधी समस्या नियन्त्रणमा राख्न सकिने डा. कंसकारले सुझाव दिइन्।
यो समस्या स्वास्थ्य निकायको मात्र नभई कृषि तथा पशुपालन र पशु स्वास्थ्य क्षेत्रले पनि ध्यान दिएर काम गर्न आवश्यक रहेको संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनका डा. सुरेन्द्र कार्कीले बताए।
पशु स्वास्थ्यमा प्रयोग हुने औषधिको उचित प्रयोग तथा पन्छीको उपचारमा अनावश्यक एन्टिबायोटिक प्रयोग गर्नुको सट्टा रोगविरुद्धको खोप दिएमा पशुपन्छीमा हुने प्रतिजैविक प्रतिरोधी समस्या नियन्त्रण गर्न सकिने उनले सुझाए।
स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयकी डा. शिवानी खड्गीले नेपालमा प्रतिजैविक प्रतिरोधी समस्या नियन्त्रण गर्न नीति तथा ऐन निर्माण भई कार्यान्वयनमा गइसकेको भए पनि यसमा थप सुधार बहुपक्षीय तहबाट आवश्यक रहेको बताइन्।
सोही क्रममा औषधि व्यवस्था विभागका निर्देशक डा. भरत भट्टराईले प्रतिजैविक प्रतिरोधी समस्यासम्बन्धी नीति तथा नियमको पुनरावलोकन गरी आवश्यक सुधार गर्नुपर्ने सुझाव दिए।
कृषि तथा पशुपन्छी विभागका महानिर्देशक डा. उमेश दाहालले पशुपन्छीको क्षेत्रमा आवश्यक निगरानी र उचित उपचारका लागि विभिन्न कार्यक्रम सञ्चालन भइसकेको बताए। ‘कुखुरामा कोलिस्टिनको प्रयोग पूरै बन्द गरिसकेका छौँ,’ उनले भने। साथै, बहुपक्षीय निकायले एकैसाथ क्षेत्रगत सुधार गरेमा यसको नियन्त्रण सम्भव रहेको उनले बताए।
तथ्यांकअनुसार विश्वमा प्रतिवर्ष १२ लाख ७० हजार मानिसको प्रत्यक्ष रूपमा प्रतिजैविक प्रतिरोधी समस्याका कारण मृत्यु हुने गरेको छ। मृत्यु हुने पाँच जनामध्ये एक जना बालबालिकाको मृत्यु प्रतिजैविक प्रतिरोधी समस्याका कारण हुने गरेको छ।
समयमै नियन्त्रण नभएमा सन् २०५० सम्ममा प्रतिवर्ष ३ करोड ९० लाख मानिसको मृत्यु प्रतिरोधी समस्याका कारण हुने अनुमान गरिएको छ।
सन् २०२१ को तथ्यांकअनुसार नेपालमा प्रतिवर्ष ४ हजार ७ सय ७ जनाको प्रतिजैविक प्रतिरोधी क्षमताका कारण मृत्यु हुने गरेको छ भने प्रतिरोधसँग सम्बन्धित रोगका कारण १९ हजार ६ सय जनाको मृत्यु हुने गरेको छ। यस्तो मृत्यु ७० वर्षमाथिका उमेर समूहमा बढी हुने गरेको छ।
यसको समयमै नियन्त्रण नभएमा सन् २०३० सम्ममा प्रतिवर्ष २० हजार ४ सय जनाको मृत्यु हुने अनुमान गरिएको छ।
प्रकाशित: ३ मंसिर २०८३ १३:१६ बिहीबार



-600x400.jpg)

