कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लाले संस्थागत समृद्धि र दिगो विकासको खाका तयार पार्न सर्वपक्षीय सुझाव संकलन गरेको छ। राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी तथा सरोकारवाला निकायको सहभागितामा आयोजित कार्यक्रममा प्रतिष्ठानका उपलब्धि र चुनौती दुवै विषयमा समग्र छलफल गरिएको थियो।
सहभागीहरूले दुर्गम कर्णालीमा स्थापना भई छोटो समयमै उल्लेखनीय प्रगति हासिल गर्नु गर्वको विषय भएको उल्लेख गर्दै चिकित्सा शिक्षाको गुणस्तर कायम राख्दै सेवा प्रवाहमा पनि समान रूपमा ध्यान दिनुपर्ने औंल्याए। जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले पाँच वर्षको अवधिमा यस्तो सर्वदलीय संवाद प्रभावकारी भएको भन्दै यसको निरन्तरता आवश्यक रहेको बताए। पूर्वराज्यमन्त्री बलबहादुर महतले प्रतिष्ठान स्थापनामा योगदान दिने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा आवश्यक सहयोग रहने प्रतिबद्धता जनाए।
कार्यक्रममा प्रस्तुत प्रतिवेदनले प्रतिष्ठानको प्रगति, उपलब्धि र चुनौतीको यथार्थ चित्र प्रस्तुत गरेको थियो। शिक्षाध्यक्ष डा. डबलसिंह धामीले शैक्षिक गतिविधि तथा उपलब्धि प्रस्तुत गरे भने नर्सिङ निर्देशक सविना थापाले सेवा प्रवाह, सुधारका प्रयास, चुनौती र सम्भावनाबारे जानकारी दिइन्।
सेवा सुधारलाई केन्द्रमा राखेर गरिएको छलफलमा उठेका अधिकांश सुझाव स्वास्थ्य सेवाको गुणस्तर, पहुँच र विश्वसनीयतासँग सम्बन्धित थिए। प्रतिष्ठानका रजिष्ट्रार लक्ष्मी महतका अनुसार प्राप्त सुझावका आधारमा स्पष्ट कार्ययोजना बनाई कार्यान्वयनमा लैजाने तयारी गरिएको छ।
छलफलमा नेपाली कांग्रेस जुम्लाका सभापति कर्णबहादुर शाही, नेपाल कम्युनिस्ट पार्टीका नेता विष्णबहादुर (महत) गौरवलगायतले प्रतिष्ठानलाई ‘रेफरल सेन्टर’को सीमित भूमिकाबाट मुक्त गर्नुपर्नेमा जोड दिए। उनीहरूले स्थानीयस्तरमै प्रभावकारी उपचार सुनिश्चित गरी बिरामीलाई बाहिर पठाउने बाध्यता घटाउनुपर्ने बताए।
सहभागीहरूले सेवा विश्वसनीय, छरितो र सर्वसुलभ बनाउनुपर्नेमा जोड दिँदै ओपिडी भीड व्यवस्थापन, औषधिको नियमित आपूर्ति, अस्पताल परिसरको फोहोर व्यवस्थापन तथा सेवाग्राहीमैत्री वातावरण निर्माण आवश्यक रहेको औंल्याए। अस्पतालमै औषधि नपाइने अवस्थाको अन्त्य गर्नुपर्ने उनीहरूको साझा धारणा थियो।
कोरोना महामारीका बेला प्रतिष्ठानले खेलेको सक्रिय भूमिकाको प्रशंसा गर्दै भविष्यमा पनि संकट व्यवस्थापनमा त्यही तत्परता कायम राख्नुपर्ने सुझाव दिइयो। उपकुलपति डा. पुजनकुमार रोकायाले प्राप्त सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै विगत तीन वर्षमा सामाजिक सेवा इकाइमार्फत २९ लाख ९० हजार १ सय ३९ रुपैयाँ बराबरको सेवा प्रदान गरिएको जानकारी दिए।
प्रतिष्ठानमा हाल ५ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने शिक्षक तथा कर्मचारीसहित १ सय २० जना चिकित्सक कार्यरत छन्। दीक्षान्त समारोहमार्फत ५८ भन्दा बढी विद्यार्थी दीक्षित भइसकेका छन्। कक्षाकोठाबाट समुदायसम्म विस्तार गरिएका शैक्षिक कार्यक्रम तथा काउन्सिल परीक्षामा सतप्रतिशत नतिजाले शैक्षिक पक्ष सुदृढ रहेको देखाएको छ।
यद्यपि, सहभागीहरूले चिकित्सक दीर्घकालीन रूपमा टिकाउने वातावरण निर्माण, बीमा सेवामा रहेका अपूर्णता, फार्मेसीमा औषधि अभाव तथा कर्मचारी व्यवस्थापनमा पारदर्शिता अभावजस्ता चुनौती तत्काल समाधान गर्नुपर्ने धारणा राखे। प्रतिष्ठान कर्मचारी भर्ती केन्द्रजस्तो देखिन थालेको टिप्पणी गर्दै समायोजन र व्यवस्थापन सुधार आवश्यक रहेको उल्लेख गरे।
अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि स्थानीय तहसँग सहकार्य, ओपिडी सेवा विस्तार, बिरामी तथा कुरुवाको सुरक्षा, सेवा प्रवाहमा समानता, जनगुनासो सम्बोधन तथा आकस्मिक सेवाको प्रभावकारिता बढाउनुपर्नेमा विशेष जोड दिइयो। साथै, संस्थागत सुशासन, पारदर्शिता, कर्मचारी अनुशासन तथा विद्यार्थीका लागि सुरक्षित आवास व्यवस्था सुनिश्चित गर्नुपर्ने सुझाव दिइयो।
छलफलमा उठेका सुझाव कार्यान्वयनमा आएमा कर्णालीमा स्वास्थ्य सेवामा गुणात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ। प्रतिष्ठानमा चिकित्सा शिक्षाका चार वटा स्कुलअन्तर्गत स्नातक तथा स्नातकोत्तर गरी १३ कार्यक्रम सञ्चालनमा छन्। स्कुल अफ मेडिसिनअन्तर्गत एमबीबीएस, एमडी र एमएस; स्कुल अफ फार्मेसीअन्तर्गत ब्याचलर इन फार्मेसी र मास्टर इन फार्मेसी; स्कुल अफ नर्सिङअन्तर्गत बीएस्सी नर्सिङ, ब्याचलर अफ नर्सिङ र ब्याचलर अफ मिडवाइफरी साइन्स; तथा स्कुल अफ पब्लिक हेल्थअन्तर्गत ब्याचलर अफ पब्लिक हेल्थ र मास्टर इन पब्लिक हेल्थ सञ्चालनमा छन्।
हाल एमबीबीएसमा ५०, नर्सिङमा २०, बीएनएसमा २०, बीपीएचमा २०, बीएस्सी नर्सिङमा २० र बीफार्ममा २० विद्यार्थी अध्ययनरत छन्। प्रतिष्ठानले ग्रामीण स्वास्थ्य, जनस्वास्थ्य र फार्मेसीमा पीएचडी तहका कार्यक्रम समेत चाँडै सुरु गर्ने तयारी गरेको छ।
सर्वपक्षीय सुझाव संकलन कार्यक्रममा सहभागीहरू। गोल्डेन बुढा/नागरिक।
प्रकाशित: ११ चैत्र २०८२ २१:५६ बुधबार





