२३ श्रावण २०८३ शनिबार
image/svg+xml
स्वास्थ्य

जुम्लाका आठवटै स्थानीय तह पूर्ण खोप सुनिश्चितता घोषणा

जुम्लाका आठवटै स्थानीय तह पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएसँगै जिल्लाले बालस्वास्थ्य सुरक्षातर्फ महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। जिल्लाको एकमात्र चन्दननाथ नगरपालिका र सात गाउँपालिकाले राष्ट्रिय खोप निर्देशिकाअनुसार आवश्यक मापदण्ड पूरा गरेपछि पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हुन्।

बिहीबार पातारासी गाउँपालिकालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ। जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहरा, प्रमुख जिल्ला अधिकारी दीपक पौडेल, जिल्ला जनस्वास्थ्य प्रमुख किरण शर्मा, स्वास्थ्यकर्मी तथा स्थानीयवासीको उपस्थितिमा आयोजित कार्यक्रममा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको थियो। कार्यक्रममा स्वास्थ्य क्षेत्रको पहुँच विस्तार र बालबालिकाको स्वास्थ्य सुरक्षामा स्थानीय तहको भूमिका प्रभावकारी बन्दै गएको उल्लेख गरिएको थियो।

पातारासी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रतन बुढ्थापाले प्रस्तुत गरेको प्रतिवेदनअनुसार गाउँपालिकामा पूर्ण खोप प्राप्त गर्ने बालबालिकाको संख्या २४४ पुगेको छ। जन्मेदेखि १५ महिनासम्मका २३५ जना तथा १६ देखि २३ महिनासम्मका २०८ जना बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार सबै मात्रा पूरा गरेका छन्।

गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले स्वास्थ्यलाई प्राथमिकतामा राखेर गाउँपालिकाले निरन्तर लगानी र निगरानी गर्दै आएको बताए। दुर्गम बस्तीमा समेत स्वास्थ्यकर्मी परिचालन, अभिभावक सचेतना र घरदैलो अभियान सञ्चालन गरिएकै कारण पूर्ण खोप सुनिश्चितता सम्भव भएको उनको भनाइ छ।

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण शर्माका अनुसार खोप निर्देशिकाले तोकेका सबै प्रक्रिया पूरा भएपछि मात्रै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिन्छ। अब लगत्तै जुम्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

पूर्ण खोप सुनिश्चितता प्राप्त गर्न बालबालिकाले पोलियो, दादुरा, हेपाटाइटिस, जापानीज इन्सेफ्लाइटिस, रुबेला, झाडापखाला र टाइफाइडलगायत रोगविरुद्धका १३ प्रकारका खोपका सबै मात्रा पूरा गरेको हुनुपर्छ। स्वास्थ्यकर्मीका अनुसार यी खोपले बालबालिकालाई विभिन्न संक्रामक रोगबाट जोगाउनुका साथै बालमृत्युदर घटाउन महत्वपूर्ण भूमिका खेल्छन्।

तिला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हर्कबहादुर रावतका अनुसार गाउँपालिकाका नौवटै वडामा रहेका ४९४ बालबालिकामध्ये जन्मेदेखि १५ महिनासम्मका २४३ जना र १६ देखि २३ महिनासम्मका २५१ जना बालबालिकाले पूर्ण खोप पाइसकेका छन्।

चन्दननाथ नगरपालिकाका स्वास्थ्य शाखा संयोजक क्षेत्र बुढ्थापाले नगरपालिकाभित्रका २२४ बालबालिकाले पूर्ण खोप प्राप्त गरिसकेको जानकारी दिए। नगरपालिकाका १ देखि १० वटै वडामा खोप पहुँच सुनिश्चित गरिएको उनले बताए।

यसअघि हिमा, सिंजा, कनकासुन्दरी, तातोपानी र गुठीचौर गाउँपालिका पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेका छन्। स्थानीय सरकारको नेतृत्व, स्वास्थ्य संस्थाको सक्रियता र समुदायको सहभागिताले जुम्लामा खोप अभियान प्रभावकारी बन्दै गएको सरोकारवालाहरू बताउँछन्।

दुर्गम भूगोल, यातायातको अभाव, जनचेतनाको कमी र मौसमी कठिनाइका बीच पनि स्वास्थ्यकर्मीले गाउँ–गाउँ पुगेर खोप सेवा निरन्तर सञ्चालन गरेका छन्। स्वास्थ्य क्षेत्रमा स्थानीय तहको बढ्दो जिम्मेवारी र समुदायको अपनत्वले जुम्लामा बालस्वास्थ्य सुरक्षाको आधार बलियो बन्दै गएको देखिएको छ।

खोप निर्देशिकाअनुसार १६ देखि २३ महिनासम्मका बालबालिकाले सबै मात्रा पूरा गरे–नगरेको अवस्थाको नियमित पहिचान र विश्लेषण गरिन्छ। घोषणा पछि पनि दिगोपना कायम राख्न प्रत्येक वर्ष वडा तहबाट पुनः अनुगमन, अभिलेखीकरण तथा खोज र खोप अभियान सञ्चालन गरिने व्यवस्था गरिएको छ।

प्रकाशित: ७ जेष्ठ २०८३ १७:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App