८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

डेंगुबाट विराटनगरमा महिला बढी संक्रमित

विराटनगर महानगरपालिकामा डेंगुबाट महिला बढी प्रभावित भएको पाइएको छ। डेंगुबाट पुरुषको तुलनामा बढी महिला संक्रमित बनेका हुन्।

विराटनगर महानगरपालिकाले आयोजना गरेको बहुसरोकारवाल निकायसँग डेंगु रोग सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सार्वजनिक गरेको तथ्यांक अनुसार परीक्षण गरिएकामध्ये विराटनगरमा हालसम्म ९० जनामा डेंगु पुष्टि भइसकेको छ।

महानगरलाई विभिन्न स्वास्थ्य संस्थाले उपलब्ध गराएको विवरणका आधारमा डेंगु पुष्टि भएकामध्ये महिलाको संख्या ५० र ४० जना पुरुषमा संक्रमण देखिएको हो। डेंगुबाट अन्य स्थानमा पुरुष बढी संक्रमित छन् भने विराटनगरमा महिला बढी संक्रमित हुनुलाई अनौठो मानेका छन्।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका असिस्टेन्ट प्रोफेसर डाक्टर सुरेन्द्रकुमार उराँवले विराटनगरको डेंगुको तथ्यांक अन्यत्रको भन्दा विपरीत आएको बताए। देशको विभिन्न स्थानमा डेंगुका कारण बिरामी पर्नेमा पुरुषको संख्या धेरै रहेको बताउँदै, डाक्टर उराँवले भने, ‘विराटनगरको तथ्यांक अन्यत्रको भन्दा फरक रहेको छ। अरु ठाउँ बढी पुरुष संक्रमित भेटिएका छन् भने यहाँ महिला भेटिएको छ। लामखुट्टेको टोकाइबाट हुने डेंगुको संक्रमणबाट बढी महिला प्रभावित हुनुको कारण पत्ता लगाउन अध्ययन एवं अनुसन्धान सुरु गरिएको छ।’

‘काम वा अन्य कुनै सिलसिलामा महिलाभन्दा पुरुष बाहिरफेरो बढी जान्छन्। महिलाको तुलनामा पुरुषले शरीर ढाक्ने कपडा लगाउँदैनन्। हर्मोनका कारण पुरुषमा बढी लामखुट्टे आकर्षित हुन्छ,’ डाक्टर उराँवले भने, ‘त्यो हिसाबले पुरुष बढी संक्रमित हुनुपर्ने हो। यो एउटा नयाँ खोज एवं अनुसन्धानको विषय बनेको छ।’

विराटनगरमा स्थायी भन्दा पनि अस्थायी रूपमा बसोबास गर्नेहरु डेंगुबाट बढी संक्रमित भएको महानगरले जनाएको छ। महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले विराटनगरमा घर नभएका र डेरामा बसोबास गरिरहेकाहरु डेंगुबाट धेरै संक्रमित भइरहेको बताए। मोरङमा भेटिएका १ सय ३६ जनामध्ये ९० जना विराटनगरमै रहेका छन्। बाहिरफेरो बढी आवतजावत गर्नेहरु संक्रमित भएको पुष्टि भएको छ।

विराटनगरको १, ३, ४ र ५ नम्बर वडा डेंगुका कारण सबैभन्दा बढी प्रभावित बनेको छ। विराटनगरका १९ वटा वडामध्ये हालसम्म ६, १२, १३, १५ र १८ नम्बर वडामा डेंगुका संक्रमित भेटिएका छैनन्। अन्य १४ वटा वडा डेंगुबाट प्रभावित बनिसकेको अलीले जानकारी दिए।

डेंगु नियन्त्रणका लागि सबै वडामा औषधि छिर्किने काम भएको र प्रत्येक आइतबार बिहान १० देखि साढे १० बजेसम्म लामखुट्टेका लार्भा र प्यूपा ‘खोज तथा नष्ट’ गर्ने अभियान सञ्चालन गरिने अलीले बताए। महानगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्थामार्फत जाँच र औषधि निःशुल्क दिने व्यवस्था मिलाइएको छ।

प्रकाशित: ३० आश्विन २०७९ १३:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App