२४ वैशाख २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

अन्धोपन न्यूनीकरणका लागि निःशुल्क आँखा परीक्षण

विराटनगर महानगरपालिकाका १९ वटै वडामा निःशुल्क आँखा परीक्षण शिविर आइतबारदेखि सुरु भएको छ। महानगरपालिका र रामलाल गोल्छा आँखा अस्पतालले संयुक्त रुपमा आँखा शिविर सुरु गरेको हो।  

आर्थिक अभाव लगायत विभिन्न कारणले अस्पताल नगई समयमै आँखाको उपचार नगराउँदा अन्धोपन वा न्यून दृष्टिको समस्याले जीवनयापनमा ठूलो समस्या देखापरेको छ। आँखाको समस्यालाई न्यूनीकरण गर्नका लागि महानगरपालिकाले रामलाल आँखा अस्पताल र तेज कोहली रुईत फाउण्डेशनसँगको सहकार्यमा निःशुल्क आँखा शिविर सञ्चालनमा ल्याएको हो। मोतीविन्दुको कारणले अन्धोपन वा न्यून दृष्टी भएकाहरुलाई शल्यक्रिया गरी अन्धोपनको समस्याको न्यूनीकरण गर्ने उद्देश्यका साथ शिविर सञ्चालन गरेकोे बताइएको छ।

शिविरको उद्घाटन गर्दै महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महानगरबासीले झेल्नु परेको आँखाको समस्यालाई केही हदसम्म सहयोग पुग्ने विश्वासका साथ निःशुल्क शिविर सञ्चालन गरिएको हो। ‘महानगरको क्षमता अनुसार महानगरबासीलाई स्वास्थ्य क्षेत्रमा सहयोग गरिरहेको र नयाँ योजनाका साथ थप स्वास्थ्य सेवा सुविधा प्रदान गर्न लागेका छौं,’ प्रमुख कोइरालाले भने, ‘आँखाको शल्यक्रिया गर्दा धेरै खर्च लाग्ने भनेर उपचार नगराई बस्नु भएको छ। जसले गर्दा आँखा जस्तो संवेदनशील अंग गुमाउनु पर्ने हुन्छ। शल्यक्रिया गर्दा लाग्ने खर्च अभावका कारण उपचार नगराई बस्नु भएकाहरुले यो शिविरबाट लाभ लिन अनुरोध गर्दछु।’

आँखाको शल्यक्रिया गरेर लेन्स हाल्दा धेरै खर्च लाग्ने हुँदा महानगरले गोल्छा अस्पतालसँग सहकार्य गरेर निःशुल्क उपचारको व्यवस्था मिलाएको हो। महानगरको क्षमताअनुसार महानरबासीलाई सेवासुविधा दिइरहेको कोइरालाले बताए।  

त्यस्तै, रामलाल गोल्छा आँखा अस्पतालका प्रमुख प्रशासक विन्देश्वर महतोले महानगरबासी कोही पनि मोतीविन्दुका कारण अन्धोपन नरहोस् भनेर महानगरका प्रमुखबाट प्रस्ताव आएपछि निःशुल्क शिविर सञ्चालन गरेको हो। ‘महानगरसँग सम्झौता गरेर १९ वटै वडामा निःशुल्क शिविर सञ्चालन गर्ने योजना रहेको छ,’ महतोले भने, ‘शिविरबाट करिब ४ हजारको परीक्षण हुन्छ। परीक्षणबाट सामान्य भए त्यहीबाट औषधि र शल्यक्रिया गर्नुपर्ने भए अस्पतालमा ल्याएर निःशुल्क उपचार हुनेछ। अन्धोपन न्यूनीकरणका लागि यो कार्यक्रम यस वर्षबाट सुरु गरेका हौं।’

महानगरपालिकाको ९ लाख ९० हजार रुपैयाँ तथा रामलाल गोल्छा आँखा अस्पताल र तेज कोहली रुईत फाउण्डेशनको संयुक्त २० लाख रुपैयाँ आर्थिक सहयोगमा उपचार सेवा सुरु गरेको हो। यस आर्थिक वर्षमा महानगरको १९ वटै वडा दुई पटक गरी ३८ वटा आँखा शिविर सञ्चालन हुने र सो शिविरहरुमा करिब ४ हजार जनाको परीक्षण गर्ने योजना रहेको छ। ४ सय जनाको निःशुल्क शल्यक्रिया गरिने छ। शिविरको पहिलो दिन ३ सय ५८ जनाको परीक्षण भएकोमा ८३ जनामा मोतिविन्दुका बिरामी भेटिएका छन्। मोतिविन्दु भएका बिरामीलाई शल्यक्रियाका लागि अस्पताल ल्याइएको छ।

प्रकाशित: ३० आश्विन २०७९ १२:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App