१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

डेंगुका अधिकांश बिरामीमा घाँटीमा घाउ हुने समस्या

डेंगुका अधिकांश बिरामीहरुमा घाँटीमा समस्या देखापरेको भन्दै सजग रहन चिकित्सकहरुले आग्रह गरेका छन्।

डेंगु संक्रमितहरुले घाँटी दुख्ने गरेको गुनासोपछि परीक्षणका क्रममा घाँटीमा घाउ देखिने गरेकोे भन्दै शतर्कता अपनाउन चिकित्सकहरुले सुझाव दिएका हुन्। अल्का अस्पतालमा कार्यरत चिकित्सक डाक्टर रक्षा गौतमले डेंगु हुँदा भाइरल फ्लूमा हुने धेरै लक्षण मिल्ने बताए। डेंगु हुँदा घाँटी दुख्ने, आँखाको नानी दुख्ने, टाउको दुख्ने, वान्ता आउने, वाकवाक लाग्ने जस्ता लक्षणहरु बढी देखिने बताए।

‘डेंगुमा ज्वरो शुरुमा नै धेरै आउने, केही प्रतिशत बिरामीहरुको सामान्य ज्वरो पनि छ। रुघाखोकीको लक्षण त्यति देखिएन’, उनले भने, ‘तर धरैलाई घाँटी दुखेको भनेर आउनुभएको छ। घाँटी जाँच गर्दा घाउ भएको धेरैमा भेटेका छौँ। धेरै झुक्किनुभएको छ टन्सिल हो कि भनेर।’

डेंगु, फ्लू र सामान्य रुघाखोकी, ज्वरो लगायतमा केही लक्षणहरु एक आपसमा मिल्ने भएकाले रोग विशेषका लक्षणहरुको पहिचान गरी शतर्क रहन पनि सुझाव दिए। डेंगु सरुवा रोग नभएकाले परिवारको सदस्यलाई डेंगु लाग्यो भन्दैमा आत्तिहाल्नुपर्ने अवस्था नरहेको भन्दै उनले ज्वरो घटेन भनेर चिकित्सकको सल्लाह बिना जथाभावी औषधी सेवन नगर्न पनि आग्रह गरे।  

उनले भने, ‘घाँटी दुख्नसक्छ, आँखाको नानी दुख्नसक्छ डेंगुमा पनि। टाउको दुख्ने, वान्ता आउने, वाकवाक लाग्ने लक्षणहरु हामीले बढी देख्नसक्छौँ’, उनले भने, ‘अहिले ९० प्रतिशत केस डेंगुका आउनुभएको छ। कोही ज्वरो आउनेबित्तिकै आत्तिएर आउने बिरामीहरु हुनुहुन्छ भने कोही ७२ घण्टापछि बुझेर आएर जाँच गराउनेहरु हुनुहुन्छ।’  

डा. गौतमले यस वर्ष गत भदौ महिनादेखि धेरै उच्च तापक्रम (ज्वरो) भएका बिरामीहरु पाइरहेको र अस्पतालहरुमा डेंगुका बिरामीहरुको चाप बढेको बताए।

उनले भने, ‘भदौ महिनादेखि ज्वरो धेरै, उच्च तापक्रम भएका बिरामीहरु पाइरहेका छौँ। डेंगुका बिरामीको चाप धेरै छ। त्यसमा पनि डेंगुसँगै डेंगुजस्तै लक्षण दखिने फ्लूका बिरामीहरु, कोभिडका पनि केही बिरामीहरु पनि हामीले भेटिरहेका छौँ।’

प्रकाशित: २९ आश्विन २०७९ ०६:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App