१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

गर्भवतीका घरघरमा हरियो झन्डा

फाइल तस्बिर

गर्भवतीका घर पहिचान होस् र उनीहरूको स्वास्थ्य रेखदेख गर्न सहज होस् भन्ने उद्देश्यले वैजनाथ गाउँपालिकाले ‘गर्भवतीका घरघरमा हरियो झन्डा’ कार्यक्रम ल्याएको छ। यसनिम्ति पालिकाले ५० झन्डा तयार पारिसकेको छ। झन्डामा गर्भवती महिला अंकित चित्र छापिएको छ। यसले कुन घरमा गर्भवती छन् भन्ने थाहा हुने छ।

गाउँपालिकाभित्र कोही महिला गर्भवती भएमा उनीहरूको स्वास्थ्य रेखदेखका लागि स्थानीय सरकारको ध्यान केन्द्रित गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको सिनियर अहेब लक्ष्मणराज शाहीले बताएका छन्। शाहीका अनुसार गत वर्ष ५० हजार बजेट विनियोजन भएको थियो। कार्यक्रम एकदुई दिनमा लागु हुने उनको भनाइ छ। वडामा रहेको स्वास्थ्यचौकीले तथ्यांक संकलनको काम अन्तिम चरणमा पुर्‍याइसकेको छ।

‘गर्भवती हुँदा महिलाले अनेकौं दुःख–पीडा सहन बाध्य छन्’, उनले भने, ‘जोखिम कम गर्न पनि यो कार्यक्रम सुरु गरेका हौं।’ स्वास्थ्यमा ख्याल नगर्ने, आराम नगर्ने, पोषणयुक्त खाना खानुपर्छ भन्ने चेतना कमीले बच्चा र आमाको स्वास्थ्यमा असर पर्ने गरेको उनले बताए। उनले भने, ‘यसको न्यूनीकरणका लागि पालिकाले कार्यक्रम बनाएको हो।’

कतिपय महिला गर्भवती अवस्थामा चेकजाँच नगर्ने र घरमै सुत्केरी हुने गरेको अस्पताल नर्सिङ निरीक्षण लक्ष्मी रोकायाले बताइन्। उनले भनिन्, ‘यसको अन्त्य गर्न गर्भवतीलाई पौष्टिक खानेकुरा, फलफूल खान र स्वास्थ्य संस्थामा आएर जाँच गर्नेलगायतका शिक्षा प्रदान गर्ने गरेकाले यसको प्रभावमा देखिन थालेको छ।’

गत आर्थिक वर्षभन्दा यो वर्ष पहिलोपटक जाँच गर्न आउने गर्भवतीको संख्या बढेर नौ सय ४५ पुगेको उनले बताइन्। उनका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा २० वर्षमुनिका गर्भवतीको संख्या एक सय ७४ थियो। आव २०७८/०७९ मा बढेर ११ सय १९ पुगेको छ। चालु आवमा योभन्दा अझ बढ्ने उनी बताउँछिन्।

त्यस्तै स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने महिला संख्या कम छ। गाउँपालिकाका अनुसार आव २०७७/०७८ मा तीन सय २३ जना गर्भवती महिला स्वास्थ्य संस्थामा पुगेर सुत्केरी भए भने आव ०७८/०७९ मा तीन सय ६१ जना गर्भवती स्वास्थ्य संस्थामा आएका छन्। यो तथ्यांक हेर्दा स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने महिला संख्या ३८ ले मात्र वृद्धि भएको छ; यो अपेक्षाकृत होइन।

प्रकाशित: १२ भाद्र २०७९ ०३:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App