१० मंसिर २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

सुदूरपश्चिममा कोरोना बढ्दै, सतर्कता शून्य

पछिल्लो समय सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमण बढ्दै गए पनि त्यसको नियन्त्रणका लागि सतर्कता भने अपनाइएको छैन। भारतका विभिन्न सहरहरुमा संक्रमण बढेसँगै यहाँको गड्डाचौकी, गौरीफन्टा र बैतडीको झुलाघाट नाकाबाट स्वदेश फर्किनेहरुमा दिनहुँ जसो संक्रमण देखिने क्रम ह्वात्तै बढेको छ।

यहाँका सबै सीमानाकामा प्रदेश सरकारको पहलमा स्वास्थ्य सहायता कक्षमा स्वास्थ्यकर्मीहरुको टोलीले कोरोना परीक्षणसहित त्यस विरुद्धको खोप अभियान पनि सञ्चालन गरिरहेका छन्। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो चौबीस घण्टामा सुदूरपश्चिममा भारतबाट स्वदेश फर्किने ९४ जना नेपालीमा कोरोना देखिएको छ।

निर्देशनालयका अनुसार कञ्चनपुरको गड्डाचौकी नाकामा ७४, कैलालीको गौरीफन्टा नाकामा १९, बैतडीको झुलाघाट नाकामा एक गरी ९४ जनामा संक्रमणा पुष्टि भएको हो। त्यसैगरी यहाँका अस्पतालहरुमा गरिएको कोरोना परीक्षणमा सोमबार मात्रै २५ जनामा देखिएको छ।

पिसिआर विधिबाट गरिएको परीक्षणमा कैलालीको सेती प्रादेशिक अस्पतालमा २१, महाकाली प्रादेशिक अस्पतालमा एक, डडेल्धुरा अस्पतालमा दुई र अछाममा एक जनामा संक्रमण देखिएको छ। सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या एक सय २७ जना रहेको निर्देशनालयले जनाएको छ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले यहाँ संक्रमितको संख्या दिनहुँ बढिरहेको बताउँदै सर्वसाधारणले सचेत हुनुपर्नेमा जोड दिए। 'महामारीबाट बच्न सरकारले तोकेको मापदण्डअनुसार स्वास्थ्य सतर्कता अपनाउन स्वयम् सर्वसाधारण सचेत हुन जरुरी छ', जोशीले भने, 'सरकारबाट नाका र अस्पतालमा परीक्षणदेखि खोजी अभियानसम्म सञ्चालन भइरहेको छ।'

कोरोना कहरपछि सीमानाकामा स्वास्थ्यकर्मीको टोली नियमित रुपमा सक्रिय रहेको जोशीको भनाइ छ। संक्रमण बढिरहेको भए पनि शहरदेखि ग्रामीण भेगसम्म मास्क लगाउन र भीडभाड नगर्न चेतनामूलक सूचना पनि जारी गरिएको छैन।  

त्यस्तै स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले सोमबार मात्रै ७४ जनामा कोरोना संक्रमण देखिएको बताए। 'नाकादेखि स्वास्थ्य संस्थामा जाँच गराउन आउनेमा संक्रमण देखिने क्रम बढेको छ',उनले भने , 'संक्रमण बढे पनि बिरामी गम्भीर नदेखिएकाले होम आइसोलेसनमा पठाइरहेका छौँ।'

उनले संक्रमणबाट बच्न आम सर्वसाधारणले सचेतना अपनाउनुपर्ने बताए। कोरोना महामारी सुरु भएयता सुदूरपश्चिममा तीन सय ८८ जनाले ज्यान गुमाइसकेका छन्। यहाँको कैलालीमा एक सय ७८, कञ्चनपुरमा एक सय २८, डडेल्धुरामा २२, बैतडीमा १७, डोटीमा १२, बझाङमा १०, अछाममा नौ, बाजुरामा पाँच र दार्चुलामा तीन जनाले ज्यान गुमाएको निर्देशनालयको तथ्यांक देखाएको छ।

त्यसैगरी २७ लाख जनसङ्ख्या रहेको सुदूरपश्चिम प्रदेशमा १८ लाख एक हजार जनाले खोप लगाएका छन्। प्रदेश सरकारले २२ लाखभन्दा बढीलाई खोप लगाउने लक्ष्य लिए पनि त्यो पूरा हुन सकेको छैन।

प्रकाशित: २४ श्रावण २०७९ ०६:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App