coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

ताप्लेजुङमा एक बर्षमा ह्वात्तै घट्यो बाल मृत्युदर

अघिल्लो बर्षभन्दा ताप्लेजुङमा नवजात शिशुको मृत्युदरमा पछिल्लो एक बर्षमा कमी भएको पाइएको छ।

आर्थिक बर्ष २०७७।०७८ को तुलनामा २०७८।०७९ मा नवजात शिशुको मृत्युदरमा कमी आएको हो। ताप्लेजुङ जिल्ला अस्पतालका नर्सिङ निरीक्षक बिजया राईका अनुसार आब २०७८।०७९ मा ३ जना नवजात शिशुको मृत्यु भएको छ। आब २०७७।०७८ मा भने ११ जना नवजात शिशुको मृत्यु भएको थियो।  तर,ताप्लेजुङ जिल्ला अस्पतलमै आएर सुत्केरी भएकाको संख्या भने एकबर्षको अन्तरालमा कमी देखिएको छ। 

अस्पतालका नर्सिङ निरीक्षक राईका अनुसार आव २०७८।०७९ मा ताप्लेजुङ जिल्ला अस्पतालमा सुत्केरीका क्रममा ४ सय ४२ जनाले नाम दर्ता(भर्नाका लागि आवेदन) गरेकोमा ४ सय ४ जना भने ताप्लेजुङ अस्पतालमै सुत्केरी भए। ३८ जनालाइ थप उपचार सहितको प्रबन्धका लागि रेफर गरिएको थियो। आव २०७७।०७८ मा भने ताप्लेजुङ जिल्ला अस्पतालमा आएर ५ सय १७ जना सुत्केरी भएका थिए। सो आबमा अस्पतालमा सुरुमा ५ सय ५३ जना भर्ना भएकोमा ३६ जनालाई भने जिल्ला बाहिर रेफर गरिएको थियो। अस्पतालका नर्सिङ निरीक्षक राईले उच्च जोखिममा रहेका गर्भवती महिलालाई यहाँको भन्दा बढी सेवा भएका क्षेत्रहरुमा रेफर गर्ने प्रक्रियाले पनि तथ्याङ्क यो स्वरुपको आएको बताईन्। 

सुरक्षित गर्भपतन सेवा लिनेको संख्या भने बढेको छ। राईका अनुसार आब २०७८।०७९ मा ३ सय ३२ जनाले यो सेवा लिएका छन्। आव २०७७।०७८ मा यो सेवा लिनको संख्या २ सय ९५ रहेको थियो। नियमित गर्भजाँचको अभाव,शारिरिक असुरक्षा,अन्तिम समयमा स्वास्थ्य संस्थामा आउने बानी  र स्वास्थ्यकर्मीको नियमित परार्मशको अभाव जस्ता कारणले बाल तथा मातृ मृत्यु हुने कारकको रुपमा औंल्याउने गरिएको छ। नर्सिङ निरीक्षक राईले यसलाई मानवीय जीवनको ठूलै हेलचेक्र्याँईको रुपमा लिएकी छन्। गर्भ रहेदेखि बच्चा नजन्मिजेल सम्मको अवधिमा स्वास्थ्य परीक्षण र स्वास्थ्यकर्मीको नियमित सल्लाह स्वीकार्य गर्ने हो भने आमा र बच्चा दुवैको जीवन जोखिम टर्ने स्वास्थ्यकर्मीहरुको सुझाव रहेको छ।  

 

प्रकाशित: २० श्रावण २०७९ ११:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App