५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

सकिँदै अक्सिजेनेटरको मौज्दात

राष्ट्रिय गंगालाल हृदय केन्द्रमा केही दिनदेखि अभाव भइरहेको अक्सिजेनेटर उपकरण मुटुको शल्यक्रिया गर्ने अन्य अस्पतालमा पनि सीमित मात्रामा रहेको सम्बन्धित अस्पतालहरूले जनाएका छन्। अक्सिजेनेटर ओपन हार्ट सर्जरी गर्ने क्रममा प्रयोग गरिने उपकरण हो। यो उपकरणबिना ओपन हार्ट सर्जरी गर्न असम्भव हुन्छ।  

मासिक ६ देखि ७ सयवटा ओपन हार्ट सर्जरी गरिरहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर (एमसिभिटिसी) ले पनि आफूसँग अक्सिजेनेटर सीमित मात्रामा रहेको जनाएको छ। अस्पतालका मुटुरोग विशेषज्ञ डा. अनिलकुमार भट्टराईले भने, ‘हामीकहाँ पनि सीमित मात्र छ, हामीकहाँ भएकाले दुई सातासम्म धान्न सक्ने देखिन्छ।’

धेरै संख्यामा मुटुको शल्यक्रिया गर्ने नर्भिक इन्टरनेसनल अस्पतालले ओपन हार्ट सर्जरी गर्दा गंगालाल हृदय केन्द्रबाटै लिने गरेकोमा अहिले यस्तो सर्जरी गर्नु नपरेकाले अक्सिजेनेटर माग नै नगरेको बताए। ‘ओपन हार्ट सर्जरी गर्दा नर्भिकले अक्सिजेनेटर गंगालालबाट लिने गरेको थियो, अहिले हामीकहाँ यस्तो अपे्रसन नै भएको छैन’, अस्पतालका निर्देशक राजेन्द्रबहादुर सिंहले भने।  

रुस र युक्रेनबीचको युद्धसँगै यो उपकरणको उत्पादन र आपूर्ति दुवै कम भइरहेको देखिन्छ। अक्सिजेनेटर नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय बजारमै अभाव भएकाले सहज रूपमा आपूर्ति हुने स्थिति नदेखिएको एमसिभिटिसीका मुटुरोग विशेषज्ञ डा. अनिलकुमार भट्टराई बताउँछन्।

आफ्नो अस्पतालमा पनि सीमित मात्रामा अक्सिजेनेटर रहेको तर सेवा नरोकिएको ह्याम्स अस्पताल धुम्बाराहीले जनाएको छ। अस्पतालका सिइओ राम आचार्यले भने, ‘अक्सिजेनेटर सीमित मात्रामा छ, सेवा रोकिएको छैन।’

अक्सिजेनेटर अभावका कारण गंगालाल हृदय केन्द्रमा अहिले आकस्मिक शल्यक्रिया र बालबालिकाको मात्र ओपन हार्ट सर्जरी भइरहेको अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले बताए। ‘आकस्मिक र बालबालिकाको शल्यक्रिया रोकिएको छैन, अरू नियमित रोकिएको छ’, उनले भने। अस्पतालले इटालीबाट अक्सिजेनेटर आपूर्ति गरेको छ। तर अहिले आपूर्ति गर्ने कम्पनीले दिन नसकेको निर्देशक अधिकारीले बताए।  

अक्सिजेनेटर नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय बजारमै अभाव भएकाले सहजरूपमा आपूर्ति हुने स्थिति नदेखिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सपलान्ट सेन्टरका मुटुरोग विशेषज्ञ डा. भट्टराई बताउँछन्।  

उनका अनुसार अक्सिजेनेटर प्राय: युरोपेली राष्ट्रहरूमा उत्पादन हुने र त्यहींबाट नेपाललगायत अन्य देशहरूमा आपूर्ति हुने हुनाले अहिले नेपालसहित अन्य राष्ट्रमा यो उपकरणको अभाव भएको हो। रुस र युक्रेनबीचको युद्धसँगै यो उपकरणको उत्पादन र आपूर्ति दुवै कम भइरहेको देखिन्छ। तर यो उपकरण ल्याउन पहल भइरहेको उनले बताए।  

डा. भट्टराईका अनुसार अक्सिजेनेटरको मद्दतले मुटुको प्वाल टाल्ने, भल्व फेर्ने, मुटुको नसा फेर्ने जस्ता गम्भीर प्रकारका शल्यक्रिया गर्न सकिन्छ। यो उपकरण अभावमा यी शल्यक्रिया गर्न सम्भव हुँदैन। युरोपेली देशबाट आयात गरिने अक्सिजेनेटरको प्रतिएकको मूल्य नेपाली बजारमा ३० देखि ३५ हजार पर्छ। नेपालमा प्रतिवर्ष २५ सय जनाको ओपन हार्ट सर्जरी हुने गर्छ।  

संसद्को शिक्षा तथा स्वास्थ्य समितिले मुटुको शल्यक्रियाका लागि आवश्यक पर्ने अक्सिजेनेटर उपकरण कूटनीतिक पहल गरी छिटो ल्याउन सरकारलाई सुझाव दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले विश्व बजारमै अभाव रहेको यो उपकरण ल्याउन आवश्यक पहलका लागि मन्त्रालयबाट सम्बन्धित देशमा पत्राचार गर्ने बताए।

प्रकाशित: ९ श्रावण २०७९ ०२:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App