८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा बिरामीलाई विशेष छुट

लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा आजदेखि बिरामीहरुले ओपिडी र इमर्जेन्सीको टिकट शुल्क र बेड शुल्क तीर्नु नपर्ने भएको छ। आजदेखि बिरामीहरुले यी दुइ अस्पतालको ओपिडी  र इमरजेन्सीको टिकट र बेड नि:शुल्क पाउने भएका हुन्।

प्रदेश सरकारले आर्थिक वर्ष २०७९/२०८० को बजेटमा लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीहरुलाई ओपिडी र इमर्जेन्सीको टिकट तथा बेडमा शुल्क नलिने घोषणा गरेको थियो। बजेटले सम्बोधन गरे अनुरुप आज (साउन १) गतेदेखि सरकारको सो निर्णय  कार्यान्वयनमा आएको प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजीत थारुले बताए।

‘स्वास्थ्य मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाइ २०७९ साउन १ गतेदेखि बहिरङ्ग सेवा र जनरल बेड सेवा निशुल्क गर्न निर्देशन जारी गरी सकेको छ’ मन्त्री चौधरीले भने। मन्त्री चौधरीले ओपिडी र बेड निःशुल्क गर्न एक करोड ५० लाख रुपैयाँ बिनियोजन गरीएको जानकारी दिए।

आजैदेखि (साउन १ गते) प्रदेशका सरकारी अस्पतालमा सेवा लिने विरामीहरुका लागि रगत पनि निस्शुल्क उपलब्ध गराइने भएको छ। रगत निशुल्क गर्न लुम्बिनी प्रादेशिक अस्पताल र रक्तसंचार सेवा केन्द्रबीच सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ। लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन डा.इन्द्र ढकाल र रक्तसंचार केन्द्रका संयोजक कृष्ण  पंगेनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। सो सम्झौतासँगै रक्त संचार केन्द्र बुटवलले अस्पतालको सिफारिसमा कुनैपनि सेवा शुल्क नलिइ रगत उपलब्ध गराउने केन्द्रका संयोजक पंगेनीले बताए। सरकारले बजेटमा निशुल्क रगतका लागि ३ करोड बजेट छुट्टाएको छ।

प्रकाशित: १ श्रावण २०७९ ०५:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App