१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

फेरि बढ्न सक्छ कोरोना

भारतमा कोरोना संक्रमण बढेसंगै नेपालमा पनि फेरि संक्रमण बढ्नसक्ने चिकित्सकहरूले औल्याएका छन्। नेपालमा केही सातादेखि बढ्दै गएको कोरोना संक्रमण अव नेपालमा केही सातामै बढ्न सक्ने राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले बताए।

भारतमा संक्रमण बढेपछि दुईदेखि तीन साताभित्र नेपालमा पनि फैलिने गरेको कारण यो पालि पनि फैलिने सम्भावना रहेको दासले बताए। सोमबार नेपालमा थप २१ जनामा कोरोना पुष्टि भएको छ भने हालसम्म १ सय ९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

भारतमा कोरोना फैलिएसँगै सीमा नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुहरूको कोभिड १९ परीक्षण कडा पारिएको दासले बताए। ‘आवातजावतमै रोकेका छैनौं, परीक्षणमा कडा पारेकोले सीमावाट आउनेमा कोरोना पुष्टि भएको हो,’ निर्देशक दासले भने।

यसको साथै सम्भावित कोराना संक्रमण बढ्ने सम्भावनालाई ध्यानमा राखी तयारी अवस्थामा रहेका पुरानै संरचनाका अस्पतालहरूलाई तयारी अवस्थामा रहनको लागि पनि निर्देशन दिइसकेको उनले बताए। भारतबाट आउनेमा कोरोना संक्रमण पुष्टि भएसँगै जिन सिकेन्सिङको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको र त्यसको रिपोर्ट नआइसकेको दासले बताए।

नेपालमा पछिल्लो समय पुष्टि भएका कोरोना संक्रमण भने ओमिक्रोन भेरियन्ट प्रजातिकै रहेको उनले बताए। दासका अनुसार ओमिक्रोन भेरियन्ट भएकोले संक्रमण बढिहालेमा पनि भयावह स्थिति नआउने सम्भावना रहेको छ। तर खोप नलिएकाहरूमा बढी असर पर्न सक्ने भएकोले खोप लगाउन छुटेकाहरूलाई सक्दो छिटो कोभिड १९ विरुद्धको खोप लिन अनुरोध गरेका छन्।

‘खोप लिनु भएको छैन भने खोप लिइहाल्नु होला,’ उनले भने। नेपालमा कोरोना संक्रमितको संख्यामा तलमाथि हुने सम्भावना रहे पनि पहिलाको जस्तो अस्पताल भरिभराउ हुने गरी असर नगर्ने सम्भावना रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान शाखाका संयोजक डा. शेर बहादुर पुनले बताए।

‘नेपालमा धेरैले खोप लिइसकेको र धेरैमा पहिला नै कोरोना संक्रमण्मा भइसकेकोले कोरोनाले खास असर नगर्ने सम्भावना देखिन्छ,’ डा. पुनले भने। पुनले भर्ना नै हुने गरी कोभिडका बिरामी भर्ना नै गर्नुपर्ने स्थितिको नहुने पुनले बताए।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान प्रमुख डा. मेघनाथ धिमालका अनुसार कोरोना संक्रमण फैलिहालेमा पनि गम्भीर बिरामीको संख्या कम हुने बताए। ‘ओमिक्रोनकै तहमा असर गर्न सक्छ, दोस्रो लहरको जस्तो हुँदैन,’ उनले भने।

नेपालमा संक्रमित भएका र खोप लिनेको संख्या धेरै भएकाले कोभिड १९ बिरुद्धमा ९० प्रतिशत जनसंख्यामा एन्टिबडी बनिसकेकोले पनि गम्भीर असर नहुने कारण देखाए। भारत, चीन र कोरियामा संक्रमण पिकमा नपुगी डाउन भएकोले पनि यो लहरको असर गम्भीर रूपमा नहुने देखिएको धिमालको तर्क छ।

तर नयाँ भेरियन्टले खोप लिएकाहरूमा पनि संक्रमण गराउने भएकोले सवैलाई जनस्वास्थ्यकोे मापदण्ड पालना गर्न इपिडिमियोलोजी महाशाखाको सुझाव छ। मास्क लगाउने, दुरी कायम गर्ने र ठूला सभा सम्मेलनमा भाग नलिन डा. दासले अनुरोध गरे।

प्रकाशित: २४ जेष्ठ २०७९ ०४:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App